ad ad

राजनीति


संघीयता जनताका लागि बोझ भयो : केसी

संघीयता जनताका लागि बोझ भयो : केसी

नेपालखबर
असोज २०, २०७८ बुधबार २०:७, काठमाडौँ

राष्ट्रिय जनमोर्चामा अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण नेपालको राष्ट्रियता र गणतन्त्र नै धरापमा परेको बताएका छन्।

बुधबार राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयता नेपाली जनताको टाउकाको बोझ भएको बताए।

उनले ७ वटा प्रदेश र २५ सय जनप्रतिनिधिलाई पाल्नुपर्ने अवस्थाका कारण त्यसको बोझ नेपाली जनताले उठाउनु परेको जिकिर गरेका हुन्।

‘ऋण काडेर घ्यु पिउने हो? ऋण काडेर कलकारखाना खोल्नु हो। नेपाली जनताको सेवा सुविधाको लागि हो। नकी मन्त्री सांसदहरुलाई गाडी किन्नलाई’ केसीले भने, ‘संघीयता नेपाली जनताको टाउकाको बोझ हो। संघीयताकै कारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको छ।’

उनले सरकारले देशमै रोजगारीको व्यवस्था गर्न नसक्दा लाखौं युवा विदेशिन बाध्य भएको बताए। घरमा बुढा बा आमालाई छोडेर विदेशिन बाध्य कैयौं छोराछोरी बाकसमा फर्कनुपर्ने विडम्बना रहेको केसीले बताए।

‘संघीयताले गर्दा नेपाली जनतालाई करको बोझ थुपारी दिएको छ। भष्ट्राचार, बेरोजगारी बढाएको छ। त्यसले गर्दा ६०–७० लाख नेपाली विदेशीन बाध्य भएका छन्’ उनले भने, ‘दसैँको बेलामा पैसा आउँछ कि भनेर आमा बुवा कुरेर बसेका हुन्छन् तर बाकसमा छोरा छोरीको लास आउँछ। यस्तो विडम्बना छ हाम्रो देशको।’

अध्यक्ष केसीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना गर्न सरकारसँग माग पनि गरेका छन्।

केसीले ​विदेशी हस्तक्षेपसामु सरकार लम्पसार भएको आरोप पनि लगाए।

‘हाम्रो भूमिमा अरु देशले हेलिकप्टर उडाएर जान्छ तर शासक मूकदर्शक भएर बसेको हुन्छ’ केसीले भने, ‘भारतीय सुरक्षाकर्मीले दार्चुला का जयसिंह धामी चढेको तुइन काटे हाम्रो सरकारले केही गर्न सकेन। कालापानीमा नेपालले जनगणा नगर्ने रे । त्यहाँका जनता सयौं पटक अपमान सहेर बसेका छन्। हाम्रो सरकार केही गर्न सकेको छैन।’

उनले नेपालको सार्वभौमिकताविरुद्ध रहेको एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताए।

धनगढी पार्कमोडमा भएको विरोध सभाअघि चौराहबाट निस्केको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो। कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, सुदूरपञ्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न जोसिला गीत संगीत प्रस्तुत गरेका थिए। 

बुधबार राजमोले धनगढीसहित इटहरी, बीरगञ्ज, काठमाडौं, पोखरा, बुटवल,  सुर्खेतलगायतका स्थानमा एमसीसी र संघीयताको खारेजी, महँगी, भ्रष्टाचारलगायत विषयमा विरोध सभा सम्पन्न गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .