ad ad

राजनीति


भीम रावलले यसरी गुमाए सुदूरपश्चिम प्रदेशसभाको वर्चस्व

सांसद भन्छन् : रावलले माधव नेपाल छाडे, हामीले उनलाई
भीम रावलले यसरी गुमाए सुदूरपश्चिम प्रदेशसभाको वर्चस्व

गोकुल जोशी
भदौ २०, २०७८ आइतबार १८:५६, कञ्चनपुर

नेकपा एमाले विभाजनको सबैभन्दा ठूलो असर उपाध्यक्ष डा. भीम रावललाई परेको छ। 

गृहजिल्ला अछाम र समग्र सुदूरपश्चिममा धम्का ब्यहोरेको रावलले प्रदेश सभातर्फ पनि नमिठो पीडा भोग्नु परेको छ। 

प्रदेशसभामा कुनै बेला बर्चस्व जमाएका उनले एमाले विभाजनसँगै एक्लिनुपरेको छ। विश्वासपात्र सांसदहरु सबै साथ छाडेर नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। 

सुदूरपश्चिम प्रदेश सभामा भीम रावलको बलियो पकड थियो। तर एमाले विभाजनपछि उनले त्यो शक्ति जोगाउन सकेनन्।

सुदूरपश्चिमका एमालेको तत्कालीन माधव नेपाल समूहका १७ सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि रावल कमजोर भएका हुन्। 

नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा ठूलो दल बनेको छ। ओली समूहका ७ सांसदसहित एमालेमा अहिले १२ सांसद छन्।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्।

माधव समूहनिकट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सांसदहरु तारालामा तामाङ र प्रकाश रावलले आइतवार एकीकृत समाजवादीमा सनाखत गरेका छन्। यसअघि भदौ १५ गते १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

यससँगै रावलले प्रदेश सभामा आफ्नो वर्चश्व गुमाएका छन्। उनको साथमा अहिले सभामुखसहित पाँच सांसद मात्रै छन्। 

एमाले संसदीय दलका नेता प्रकाश शाह, हर्क बहादुर कुँवर (गोविन्द), कृष्ण सुवेदी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज एमालेमै छन्।

एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट सांसदहरुलाई नयाँ पार्टी जानबाट रोक्न सकेनन्।

रावल तत्कालीन नेकपा हुँदा केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीमा नेपालको पक्षमा थिए। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्दै पूर्ववत् अवस्थामा फर्काएपछि पनि उनी ओलीविरुद्ध लागिरहे।

सुरुवातदेखि नै ओलीका कटु आलोचक थिए, रावल। तर ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिँदा भने उनी माधव नेपालसँग टाढिदै गए। 

नेपाल समूहका अधिकांश सांसदले देउवालाई विश्वासको मत दिएकै दिन रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए। यद्यपी पछि सो निर्णय उनले फिर्ता लिएका थिए।

एमालेमा सिर्जित विवाद समाधान गर्न गठित एकता कार्यदलमा नेपाल समूहको तर्फबाट रावल संयोजक थिए। नेपालका विश्वास पात्र मानिएका उनै रावलले नयाँ पार्टी गठनमा नेपाललाई साथ दिएनन्। 

एमाले स्थायी कमिटी बैठकले २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किने निर्णय गरेपछि रावलसहित नेपाल समूहमा सक्रिय १० नेता एमालेमै रहेका थिए।

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावलले ओलीले गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए। 

तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन्। 

सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा गएकी दुर्गा कुमारी कामीले बताइन। 

‘अग्रगमनलाई सबैले साथ दिन्छन्। हामीले पनि त्यहीँ गरेका हौँ, उनले भनिन्, ‘राजनीतिमा व्यक्तिप्रधान हुदैन, विचार प्रधान हुन्छ। त्यसैले प्रतिगमनलाई साथ दिन सकेनौँ।’

लामो समयदेखिको माधव कुमार नेपालसँगको सहकार्य तोडेकोले आफूहरुले पनि रावलको साथ छोडेको अछामका प्रदेश सांसद बलबहादुर सोडारी बताउँछन्।

‘सुरुमा केपी ओली प्रतिगमनकारी भनेर विरोध गर्न लगाए। समानान्तर कमिटी बनाए। कार्यकर्तालाई लडाए’ उनले भने, ‘तर विभाजनमा रावलले माधव कमरेडको साथ छोड्नुभयो, यति गरिसकेपछि हामी पनि किन उहाँको पछि लाग्ने भनेर साथ छोडेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .