ad ad

विचार


एमालेकै नक्कल अर्को पार्टी किन?

एमालेकै नक्कल अर्को पार्टी किन?

विष्णु रिजाल
भदौ २४, २०७८ बिहिबार १८:४६, काठमाडौँ

अन्ततः नेकपा (एमाले) बाट एउटा टुक्रा बाहिरिएको छ। अनेक तहका वार्ता र सहमतिका बाबजुद एमालेको एकता नजोगिनुका पछाडि कुनै सैद्धान्तिक–बैचारिक कारण छैन। ०७८ असार २७ मा १० बुँदे सहमति भइसकेपछि पार्टीभित्रका विवादहरु समाप्त भएका थिए। माओवादीसँग एकता हुनुपूर्वको अर्थात् २०७५ जेठ २ को सांगठनिक संरचनाबाट अघि बढ्ने सहमति भएपछि विवादका देखिने विषय बाँकी थिएनन्। तर पनि, भागबण्डाका लागि गरिएको माग पूरा नभएपछि पार्टीलाई विभाजित गरिएको छ। पार्टीलाई विधि, विधान र प्रणाली अनुसार चलाउनुपर्छ भनेर सतहमा जोडदार माग गरिए पनि अन्तर्यमा चाहिँ महाधिवेशन नगरेरै अध्यक्ष प्राप्त नहुनु नै विभाजनको प्रमुख कारण बनेको छ।

जसरी कम्युनिस्ट आन्दोलनको इतिहासमा ०५४ को एमाले विभाजन पुष्टि भएन, त्यसैगरी अहिलेको विभाजन पनि पुष्टि हुने कुनै आधार छैन। त्यतिबेला पनि नेताहरुको आकांक्षा व्यवस्थापन नै मुख्य कुरा भए पनि कतिपय विषयमा मतभेदहरु थिए। महाकाली सन्धिको निहुँमा अघि सारिएको राष्ट्रवादको नारा आकर्षक र संवेदनशील थियो भने त्यसैसँग जोडिएर आएको भारत र अमेरिकालाई हेर्ने दृष्टिकोणले कम्युनिस्ट स्कुलमा अर्थ राख्दथ्यो। तर पनि, त्यो पार्टी विभाजनको औचित्य पुष्टिका लागि पर्याप्त आधार भएनन्। अहिले त विभाजनका लागि भन्नलाई त्यति पनि आधार छैनन्।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई ‘प्रतिगमन’ भने पनि प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि पार्टीभित्र जेठ २ लाई बटमलाइन बनाइँदा त्यो विषय नै छलफलमा थिएन। अर्थात् एमालेभित्र सांगठनिक समस्यालाई मात्रै केन्द्रमा राखिएको थियो, सैद्धान्तिक–बैचारिक मतभेद थिएनन्। स्वयम् माधवकुमार नेपालबाट नियुक्त पाँच जना दोस्रो तहका नेताहरु सम्मिलित कार्यदलमा सबै सांगठनिक विषयका बारेमा टुंगो लागिसकेपछि लाज बचाउन पनि कुनै निहुँ बाँकी छैन। त्यही भएर अहिले पनि ‘केपी ओलीको अहंकार’ भन्नुबाहेक विभाजनका लागि कुनै वस्तुगत र सैद्धान्तिक कारण सार्वजनिक गर्न र त्यसको औचित्य पुष्टि गर्न सकेको देखिँदैन। 

नेकपा (एमाले) को विभाजन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को इच्छा र योजना अनुसार गरिएको छ। विद्यमान कानुन अनुसार ४० प्रतिशत संख्या पु¥याएर विभाजन गर्न सकेको भए त्यसको दोष अरुलाई जाने थिएन। तर, यहाँ त एमाले विभाजन गर्नै भनेर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भएमा फुट्न पाइने अध्यादेश ल्याएर एमालेलाई फुटाइएको छ। कांग्रेस र माओवादी मिल्दा पनि संसद्मा एमाले जति संख्या छैन। त्यही भएर जसरी पनि एमालेलाई विभाजन गर्न सक्दा मात्रै आफ्नो राजनीति सफल हुन्छ भनेरै शेरबहादुर देउवा र पुष्पकमल दाहालले एमालेको फुटमा सुँडेनीको काम गर्नुभएको छ। 

राजनीतिमा सैद्धान्तिक मतभेद हुँदा एकै ठाउँ बस्न नसकिने स्थिति आउँदैन भन्न सकिन्न र कम्युनिस्ट भएकाले एकता वा विभाजनलाई निरपेक्ष रुपमा हेर्न पनि सकिन्न। तर, त्यसका लागि राजनीतिक, बैचारिक र सैद्धान्तिक आधार चाहिन्छ। नयाँ पार्टीका नाममा सार्वजनिक भएका घोषणा, विधान र पर्चा हेर्दा कुनै पनि आधारमा विभाजन पुष्टि गर्न सक्ने ल्याकत छैन। एमालेकै नक्कल गरेर एमालेभन्दा फरक पार्टी बनाउँछौँ भन्दा कसले पत्याउँछ र? एमालेकै जस्तो विधान, एमालेकै जस्तो नीति, एमालेकै जस्तो नेतृत्व प्रणाली, एमालेकै जस्तो सांगठनिक संरचना, एमालेकै जस्तै बैचारिक प्रस्थापना र एमालेकै जस्तो कार्यक्रम अघि सारेर कसरी नयाँ पार्टी एमालेभन्दा फरक हुन सक्छ र? यस्तो भद्दा नक्कलले आफ्नो गुटमा प्रतिबद्ध भएर लागेका सीमित मान्छेबाहेक अरुलाई आकर्षित गर्न सक्दैन। सबै एमालेकै जस्तो हुने हो भने एमाले नै छँदैछ नि भनेर स्वाभाविक रुपमा उत्पन्न हुने प्रश्नको उत्तर दिँदादिँदै यिनीहरुको समय व्यतीत हुनेछ। 

एमाले विभाजनले तत्काल र दीर्घकाल दुबैका लागि कांग्रेसलाई फाइदा हुनेबाहेक अरु केही हुँदैन। भारतमा सन् साठीको दशकपछि श्रीपाद अमृत डाँगेहरुको भारतीय कम्युनिस्ट पार्टी निरन्तर रुपमा भारतीय राष्ट्रिय कांग्रेस र इन्दिरा गान्धीको ‘सेटेलाइट’ पार्टी हुँदै र खिइँदै गए जस्तो यहाँ पनि कांग्रेस र शेरबहादुर देउवाको ‘सेटेलाइट’ पार्टी भएर चल्न चाहे पनि सम्भव छैन। किनभने, अहिले गैँडाले जस्तो माया गरे पनि निर्वाचन आउनासाथ आफ्नैलाई त सम्हाल्न नसक्ने कांग्रेसले कम्युनिस्टहरुको संरक्षण गरिदिन्छ भन्ने भ्रममा नपरे हुन्छ। अहिले आफ्नो सरकार बनाउन र टिकाउनका लागि गरेको सहयोगको केही ऋण कांग्रेसले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न मद्दत गरेर तिरिसकेको छ भने रहलपहल चाहिँ संसद्को यही कार्यकालभित्र केही थान मन्त्री, राजदूत, प्रदेश प्रमुख, संस्थानका अध्यक्ष/महाप्रबन्धक जस्ता नियुक्ति दिएर चुक्ता गर्नेछ अनि चुनावका बेला चौराहमा लगेर ‘जता जान्छौ, जाऊ’ भनेर छाडिदिनेछ।

निश्चय नै नेकपा (एमाले) मा एकाएक आजको अवस्था आएको होइन। नवौँ राष्ट्रिय महाधिवेशनमा जुन प्रकारले समूहगत निर्वाचन भयो र त्यसपछि पनि लगातार रुपमा समूहगत रुपमा समानान्तर अभ्यासहरु भए, त्यसैको परिणाम अहिले देखा परेको छ। एउटा प्रक्रियाबाट नेतृत्वको टुंगो लागिसकेपछि त्यसलाई स्वीकार गर्नुपर्ने न्यूनतम संस्कार नै देखिएन। अनि पार्टीभित्र सबैको हिस्सेदारी हुन्छ भन्ने कुरालाई पनि ख्याल गरिएन। फलतः एमाले दुई अलग–अलग गुटको मोर्चाका रुपमा परिणत भयो। त्यही बीचमा मिसिएको माओवादीले एमालेभित्रका अन्तरविरोधहरुमा खेल्ने मौका पायो र एकलाई दुईमा विभाजन गर्ने कार्यनीतिमा विश्वास गर्ने पुष्पकमल दाहालले सफलता पाउनुभयो। त्यसैको परिणामस्वरुप आज एमालेबाट एउटा हिस्सा चोइटिएको छ। 

आज एमालेको जीवनमा संकट आइपरेको छ। यस्तो बेलामा एमालेका नेता–कार्यकर्तालाई ‘बुद्धिजीवी’ भएर केपी ओली र माधव नेपालका गल्तीको तुलना गरेर बस्ने छुट छैन। पार्टी विभाजन सम्पूर्ण रुपमा गलत छ, औचित्यहीन छ, जनताको आकांक्षाका विरुद्धमा छ, पार्टीका मूल्यहरुको विरुद्धमा छ, कांग्रेस र माओवादीका पक्षमा छ भनेर हामी जनताका बीचमा जानुपर्छ। यस विभाजनका विरुद्ध सक्रियताका साथ लागेर मात्रै विभाजनका असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ।

पार्टीमा मतभेद हुन्छन्, प्रतिस्पर्धा हुन्छन्। यदि यतिकै आधारमा पार्टी विभाजन गर्दै जाने हो भने कुनै पनि पार्टी बन्नै सक्दैन। के आज कांग्रेसमा मतभेद छैनन्? जिल्ला सभापतिहरु नै पार्टी कार्यालयमा धर्नामा बसिरहेका लज्जास्पद दृश्य देखिन्छन्। शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका दिनदिनै अलग अलग बैठकहरु भइरहेका छन्। अनि टुक्रिँदै–टुक्रिँदै एकल गुटका रुपमा रहेको माओवादीमा पनि त्यस्तै छ। किनारा पारिएका नारायणकाजी श्रेष्ठहरुको रोदन बेलाबेलामा सार्वजनिक रुपमै सुनिन्छ। के त्यसो भए ती सबै पार्टीमा फुटेर नै समस्याको समाधान खोजिएको छ? अहिले नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी) मा केही नेताहरु माओवादीसँग अहिल्यै मिलिहाल्नुपर्छ भन्ने धारणा राख्छन्। यो क्रम बढ्दै जाने निश्चित छ। मतभेद हुनासाथ विभाजन भइहाल्ने हो भने अब त्यो पार्टी कसरी चल्छ?

पार्टीलाई एकताबद्ध बनाउन अहोरात्र खटेका एमाले स्थायी कमिटीका १० जना नेताले ‘बोल्ड’ निर्णय लिएर उदाहरण देखाउनुभएको छ। पार्टीभित्रको विवादमा कुनै पक्षमा लाग्नु अस्वाभाविक होइन। तर, जब माधवकुमार नेपाल जुनसुकै हालतमा पनि पार्टी नै फुटाउने बाटोमा जानुभयो, उहाँहरुले आफूलाई त्यसबाट अलग गरेर पार्टीका पक्षमा खडा गर्नुभएको छ। पक्कै पनि यस्तो निर्णय गर्नु सहज हुँदैन, व्यक्तिगत रुपमा निकै कठोर हुन्छ। तर पनि, पार्टी र आन्दोलनको हितका लागि उहाँहरुले जे निर्णय गर्नुभएको छ, यसको उच्च मूल्यांकन गर्नुपर्छ। यसबाट देशभरिका कार्यकर्तालाई सन्देश गएको छ– भविष्य लामो भएका नेताहरुले पार्टी रोज्नुभएको छ, इतिहास लामो भएका नेताहरुले विभाजन रोज्नुभएको छ। 

ढुक्कका साथ भन्न सकिन्छ– नयाँ पार्टी चल्दै चल्दैन। जनताका बीचबाट होइन, रिसोर्ट र निर्वाचन आयोगबाट जन्मेका पार्टीको कुनै लामो आयु हुन्छ भनेर कल्पना नै नगरे हुन्छ। माधवकुमार नेपालबाहेक ‘नेता’ भनेर देखाउन मिल्ने कुनै नेता नै त्यहाँ छैनन्। चुनाव र जनतासँग खासै सरोकार नभएका व्यक्तिहरुको अनुहार हेर्दा नै कार्यकर्ता र जनताले लख काटिहाल्छन्। न भरोषायोग्य नेतृत्व छ, न कुनै नयाँ नीति छ, न त कुनै आकर्षण नै छ। यस्तो बेलामा सत्ताको सहायताले दुई–चार जनालाई आकर्षित गर्नु एउटा कुरा हो तर त्यसले कुनै अर्थ राख्दैन। 

एमालेलाई बलियो र एकताबद्ध बनाइराख्नका लागि दोस्रो तहका नेताहरुका बीचमा सम्पन्न १० बुँदे सहमति अनुरुप अघि बढ्ने हो भने विभाजनको असरलाई १० प्रतिशतमा सीमित गर्न सकिन्छ। त्यसभन्दा धेरै मानिस त यसबीचमा एमालेमा भित्रिसकेका छन्। पुराना कार्यकर्तालाई विभेद नहुने गरी जिम्मेवारी दिन र नयाँलाई आकर्षण गर्न सक्दा विभाजनले तात्विक असर पार्न सक्दैन। एमालेलाई बलियो बनाउनु भनेको अहिले बरालिएका साथीहरुका लागि पनि घर बनाइराख्नु हो। किनभने, छिट्टै एउटा हिस्सा माओवादीमा जाँदा बाँकी साथीहरु फर्किने एमालेमै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .