ad ad

राजनीति


सुदूरमा तानातान : ठूलो दल बन्ने एकीकृत समाजवादीको दाउ, सांसद रोक्दै भीम रावल

सुदूरमा तानातान : ठूलो दल बन्ने एकीकृत समाजवादीको दाउ, सांसद रोक्दै भीम रावल

गोकुल जोशी
भदौ २०, २०७८ आइतबार ७:१४, काठमाडौँ

सबैभन्दा ठूलो शक्ति नेकपा एमाले फुटेपछि माथिदेखि तलसम्मकै राजनीति  तरंगित भएको छ। 

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी नेता कार्यकर्ता तान्न लागिरहेको छ। अर्कातिर एमाले पनि पुरानो शक्ति जोगाइरहने अभियानमा छ। 

एमाले र समाजवादीबीचको तानातानमा अहिले प्रदेश सांसदहरु परेका छन्। यही तानातानमा परेकी छन् सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज।

भदौ १५ गते सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरिसकेका छन्। 

त्यही दिन एमालेका १३ सांसदले सांसदले एकीकृत समाजवादीमा सनाखत गर्ने तयारी थियो। 

तर, अन्त्यमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज र सांसद तारा लामा तामाङ सनाखत गर्न आएनन्।

त्यसपछि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनुकुमारी चौधरी, सांसदहरु मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले मात्रै समाजवादीमा सनाखत गरे।

आर्थिक मामिला राज्यमन्त्री गहतराज, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र सांसद तारा लामा तामाङको कागजपत्र नपुगेपछि सनाखतमा नआएको बताइएको थियो। 

उनीहरुले कागजपत्र तयार गरेर भोलिपल्ट सनाखत गर्ने एकीकृत समाजवादीले दाबी गरेको थियो। तर, उनीहरुले अहिलेसम्म उनीहरुले सनाखत गरेका छैनन्। यसैबीच राज्यमन्त्री गहतराजले विभाजनतर्फ नजाने अडान लिएकी छन्।

उनलाई आफूतिर तान्न एकीकृत समाजवादीका नेताहरु सक्रिय भए पनि सफल हुन सकेनन्।

‘उहाँ (अर्चना कमरेड) हामीसँगै आउन सकारात्मक हुनुहुन्थ्यो। त्यसैले हाम्रो सूचीमा राखेका थियौँ,’ एकीकृत समाजवादीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘बीचमा उहाँलाई के भयो कुन्नि, अहिले एमालेमै बस्छु भन्नु भएको छ।’

राज्य मन्त्री गहतराजले पनि एमालेमै बस्ने उद्घोष गरेकी छन्। ‘साथीहरुले मलाई कन्भिन्स भइहाल्छिन् भनेर आफूतर्फ गन्नु भएको रहेछ,’ राज्यमन्त्री गहतराजले नेपालखबरसँग भनिन्, ‘म एमाले विभाजनविरुद्ध छु। एमाले छोडेर कतै जान्न, यहीँ बस्छु।’

ठूलो दल बन्ने दाउ
नेपाल नेतृत्वको समाजवादी सुदूरपश्चिममा ठूलो दल बन्ने दाउमा छ। त्यसकै लागि एकीकृत समाजवादीका नेताहरु आफ्नो पक्षमा सांसद तान्न सक्रिय छन्। 

सुदूरपश्चिम प्रदेश सभामा समाजवादी सबैभन्दा ठूलो दल बन्ने केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले दाबी गरेकी छन्। 

‘प्रदेश सभामा हामी ठूलो दल बन्छौँ,’ जोशीले भनिन्, ‘हामीसँग १५ जनाभन्दा बढी सांसद हुन्छन्।’

एकीकृत समाजवादीले दाबी गरे अनुसार त्यो पार्टीमा जाने सांसद संख्या भने भदौ १५ पछि बढ्न सकेको छैन। भदौ १५ मा सनाखत गरेका १० जना मात्रै थिए। यद्यपि निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा भदौ २२ सम्म भएकाले सांसद यताउता हुन सक्ने नेताहरु बताउँछन्। 

सांसद फकाउँदै रावल
कुनै बेला एमाले उपाध्यक्ष डा. भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा बलियो पकड थियो। तर एमाले विभाजन हुँदा रावलको पकड कमजोर हुँदै गएको छ।

एमालेको आन्तरिक विवादका क्रममा माधव नेपाल समूहमा १७ सांसद थिए भने ओलीतिर ७ जना मात्रै थिए। विभाजनअघि नेपाल समूहका रावलकै इसारामा सुदूरपश्चिमको राजनीति घुम्थ्यो। 

एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वको सरकार ढाल्न खोजेको थियो। तर नेपाल समूहले त्यो सफल हुन दिएन। त्यसका लागि भीम रावल नै सक्रिय भए।

यद्यपि एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेपछि रावलले शक्ति गुमाउँदै गएका छन्।

उनीनिकट सुदूरपश्चिम प्रदेश सभाका १० सांसद एकीकृत समाजवादीमा लागेका छन्। अहिले रावल आफूनिकट अन्य सांसदलाई समाजवादीमा जानबाट रोक्न सक्रिय छन्। 

एकीकृत समाजवादी पार्टी संसदमा ठूलो दल बन्ने दाउमा छ। यद्यपि रावलले समाजवादीलाई ठूलो दल बन्नबाट रोक्ने रणनीति लिएका छन्। 

उनले सांसदहरुलाई एमालेमै रोक्न नेताहरुलाई छलफल र समन्वय गर्न खटाएको स्रोतको दाबी छ। 

रोचक अंक गणित
सुदूरपश्चिम प्रदेश सभामा एमाले र एकीकृत समाजवादीको अंक गणित निकै रोचक मोडमा पुगेको छ।

सभामुखसहित एमालेका २५ सांसद थिए। तीमध्ये १७ जना तत्कालीन माधव समूहमा थिए भने ७ जना ओली समूहमा।

माधव समूहका १७ सांसदमध्ये १० जनाले एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्।

यस्तै ५ सांसद एमालेमै रहने भएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, सांसदहरु प्रकाश रावल, हर्क बहादुर कुँवर (गोविन्द) र कृष्ण सुवेदी एमालेमै छन्। 

ओली समूहकासहित एमालेमा अहिले १२ सांसद पुगेका छन्। पठानसिंह बोहरा, लीलाधर भट्ट, गेल्बुसिंह बोहरा, रतन थापा,  माया तामाङ (बोहरा), नेपालु चौधरी र बलदेव रेग्मी यसअघि नै ओली समूहमा खुलेका थिए।

एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्छ। भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र सांसद तारा लामा तामाङ एकीकृत समाजवादीमा खुले पनि अझै सनाखत गरिसकेका छैनन्। 

प्रदेश सभामा एमाले र एकीकृत समाजवादीमा कुन ठूलो पार्टी बन्ने भनेर निर्क्यौल उनीहरुकै निर्णयले हुने छ।

दुवैजना एकीकृत समाजवादीमा गए समाजवादीको सांसद संख्या १२ पुग्ने  छ। यदि एमालेमै रहेमा एमालेका सांसद १४ हुनेछन्। जसले एमाले प्रदेश सभामा ठूलो दल बन्ने छ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा अहिले माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .