राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नरुहितोको मंगलबार आयोजना गरिने राज्याभिषेक समारोहमा सहभागी हुने भएकी छन्।
राजधानी टोकियोमा आयोजना गरिने राज्याभिषेक समारोहमा राष्ट्रपति भण्डारीसहित १ सय ९० देश तथा संघसंस्थाका पदाधिकारीहरुको सहभागिता जापान सरकारले जनाएको छ। सो समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी म्यान्मारको राजकीय भ्रमण सकेर आइतबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘सम्मानीय राष्ट्रपति २०१९ अक्टोबर २२ मा आयोजना हुने राज्याभिषेक समारोहमा सहभागी हुनुहुने छ। त्यसैगरी समारोहपछि जापानी सम्राट नरुहितोले आयोजना गर्ने भोजमा समेत सहभागी हुनुहुनेछ’, परराष्ट्र मन्त्रालयले जनाएको छ।
समुद्री आँधी हगिबिसको जनधनको ठूलो क्षति गरेपछि सम्राट नरुहितोको राज्याभिषेक समारोहपछि आयोजना गरिने राज्याभिषेक परेड भने स्थागित गरिएको जापानी समाचार एजेन्सी क्योदोले जनाएको छ। पूरै राज्याभिषेकमा मुख्य कार्यक्रम, भोज र परेड हुन्छ। जसमध्ये परेड मात्रै स्थगित गरिएको हो।
जापानको क्यादो समाचार एजेन्सीअनुसार जापान सरकारले गत साता गएको समुद्री आँधीको कारण उत्पन्न परिस्थितिको कारण परेड कातिक २३ गतेसम्मका लागि स्थगित गरेको जनाएको छ। जसलाई शुक्रबारको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको बताइएको छ। राज्याभिषेकको मुख्य कार्यक्रमपछि इम्पेरियल प्यालेसदेखि अकासाका इम्पेरिएल प्यालेससम्म परेडको आयोजना हुन्थ्यो । करिब पाँच किलोमिटर लामो त्यो परेड सक्ने तीस मिनेट लाग्ने अनुमान गरिएको छ । परेडका लागि जापानको चर्चित मोटर निर्माण कम्पनी टोयोटाले विशेष मोटरको निर्माण गरेको थियो ।
‘राजप्रसादले सम्राट नरुहितो र सम्राज्ञी मासाकोले टाइफुन प्रभावित क्षेत्रको जनजीवत सामान्य होस् भन्ने हार्दिक चाहाना व्यक्त गरेको भनाइ सार्वजनिकपछि परेड स्थगन गरिएको हो’, क्योदोले समाचारमा जनाएको छ।
पूर्व सम्राट अकिहितोले राजगद्दी त्याग गरेको भोलिपल्टै बैशाख १८ मा नयाँ सम्राट नरुहितोले गद्दीआरोहण गरेका थिए।
जापानमा रहँदा राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति रामनाथ कोविन्द र जापानी प्रधानमन्त्री सिन्जो अबेसँग भेटघाट गर्ने कार्यक्रम रहेको गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। जापानमा भ्रमणमा राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रपति कार्यालय तथा परराष्ट् मन्त्रालयका अधिकारीहरुको सहभागिता रहने छ। राष्ट्रपति भण्डारी जापानी दूतावासले आयोजना गर्ने भोज र गैर आवासीय नेपाल संघ जापानले आयोजना गरेको स्वागत सहभागी हुने कार्यक्रम रहेको छ।
जापान भ्रमण सम्पन्न गरेर राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया