ad ad

राजनीति


अमेरिकी सेनाले तालिबानविरुद्ध फेरि थाल्यो आक्रमण, अफगान युद्ध अन्त्य नहुने संकेत

अमेरिकी सेनाले तालिबानविरुद्ध फेरि थाल्यो आक्रमण, अफगान युद्ध अन्त्य नहुने संकेत

अफगानिस्तानमा अमेरिकी सेना


नेपालखबर
साउन ८, २०७८ शुक्रबार १२:३,

अमेरिकी सेनाले तालिबान लडाकुविरुद्ध कारवाही गरेको छ। 

सीएनएनका अनुसार अफगान सेनाको समर्थन गर्दै बिहीबार राति अमेरिकी सेनाले कान्दहर प्रान्तमा दुईपटक आक्रमण गरेको र तालिबानको हतियारहरु नियन्त्रणमा लिएको बताइएको छ।

तालिबानसँगको सहमतिअनुसार अमेरिकासँगै नेटोमा आवद्ध विदेशी सेनाहरुले यसै वर्षको सेप्टेम्बर ११ भित्र अफगानिस्तान छाडिसक्नु पर्नेछ।

सेना फर्काउने प्रक्रिया जारी रहँदा अमेरिकाले आक्रमण गरेको हो जसले तालिबानलाई चिढ्याएको छ।

सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो। 

जसअनुसार नेटोका सेनाले तालिबानलाई आक्रमण गर्न पाउँदैनन् भने तालिबानले उनीहरुलाई आक्रमण गर्न पाउँदैनन्।

सहमतिअनुसार तालिबानले युद्ध र आक्रमण त्यागेर अफगान सरकारसँग राजनीतिक समाधान खोज्नुपर्नेछ।

अमेरिकाले ३१ अगस्ट भित्रै आफ्नो सेना फर्काइसक्ने बताइसकेको छ। समयमै विदेशी सेना अफगानिस्तानबाट फर्कनुपर्ने बताउँदै उनीहरु नफर्किए ती सेनाहरुलाई कब्जा गर्ने समूहको रुपमा हेर्ने तालिबानको चेतावनी छ।

तर सहमति विपरित तालिबानहरुले अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्न थालेपछि अमेरिकाले तालिबानमाथि आक्रमण गरेको हो।

गएको ३० दिनयता अमेरिकाले तालिबानविरुद्ध ६ देखि ७ पटक आक्रमण गरेको जनाइएको छ। अमेरिकी अधिकारीहरुका अनुसार तालिबानले अफगानिस्तानको ४१९ जिल्लामध्ये २१३ जिल्ला कब्जा लिइसकेको छ। 

पछिल्लो समय अफगानिस्तानबाट विदेशी सेना फर्कन थालेपछि सन् २००१ देखि सुरुवात भएको अफगान युद्ध अन्त्यको संघारमा पुगेको थियो।

तर अमेरिका र तालिबान फेरि एक अर्काविरुद्ध आक्रमणमा होमिएपछि यो युद्ध अन्त्य नहुने देखिएको छ। 

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो।

सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। सीएनएन र बीबीसीको सहयोगमा

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए

बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .