ब्लग


सन्दीप क्षेत्रीको अट्टहासले उतारेको ‘मुकुन्डो’

सन्दीप क्षेत्रीको अट्टहासले उतारेको ‘मुकुन्डो’

हिरादेवी वाइबा


हिरादेवी वाइबा
काठमाडौँ, साउन ९

‘अनि हिरोइनसँग मैले टक्क हात समातेँ, यसरी घुमाएँ, (हाउभाउ गर्दै) अनि यस्तो यस्तो; एकछिन अँगालो मारेर यसो यसो गरेँ। अनि केटीको हात यस्तो सोहोरेर, टक्क कुमले हानेपछि अँगालोमा; जबर्जस्ती टाइपको मायाप्रेम गर्ने सिन थियो। त्यसपछि मैले टक्क गरेर देखाएपछि फेरि एकचोटि गर भन्दै मलाई तीनचोटिसम्म त्यही डान्स गर्न लगाउनुभयो। म नर्भस भइसकेको थिएँ कि भुवन दाइलाई मेरो कोरियोग्राफी मन परेन होला भनेर। तेस्रोपटक गर्दा पनि ‘फेरि लास्ट एकचोटि गर’ भनेर चौथोचोटि गर्न लगाएपछि पनि मैले गरेँ। त्यसपछि मलाई यहाँ आ भन्नुभो। कानमा भन्नुभो– तँलाई मैले चारचोटि किन प्राक्टिस गरा’को थाहा छ, त्यो हिरोइनलाई अँगालो मार्ने चान्स देको!’

हुहाहाहाहा...!

अघिल्लो हप्ता ‘ह्वाट द फ्लप’ टेलिभिजन कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री र नृत्य निर्देशक शंकर बिसीबीचको अट्टहास हो यो। पुरानो नेपाली चलचित्रमा गुन्डा नाइकेले नायिकालाई जबर्जस्ती गर्दा गर्ने अट्टहास र यसमा केही फरक थिएन; महिला हिंसामा रमाउने घिनलाग्दो हाँसो! र, यसरी ‘चान्स’ दिने भुवन केसी पनि तिनै हुन्, जसलाई अघिल्लो वर्ष अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सुटिङका क्रममा आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी थिइन्। अझ सम्झनलायक त के छ भने साम्राज्ञीले आफ्नो मानहानि गरेको भन्दै उल्टो उनैले चलचित्र कलाकार संघमा उजुरी गरेका थिए। तर उनको मुकुन्डो उनैले ‘चान्स मार्न’ दिएका भाइले उतारिदिए राष्ट्रिय टेलिभिजनमा। 

यो अन्तर्वार्ताको क्लिप हेरेपछि साथीहरूलाई जस्तै मलाई पनि भाउन्न भयो। सन्दीप क्षेत्रीहरूले जुन सार्वजनिक ‘स्पेस’ पाएका छन्, त्यहाँबाट उनीहरूले धेरैलाई प्रभाव पार्न सक्छन्। यो सार्वजनिक वृत्तमा बसेर उनीहरूले कुनै महिलाविरुद्धको उत्पीडनमा अट्टहास गर्नु भनेको महिलाले अनुभूत गरिरहेको सामाजिक, मनोवैज्ञानिक, शारीरिक र ‘सिम्बोलिक’ सबै हिंसालाई ‘नर्मलाइज’ गर्नु हो। डिसमिस पार्नु हो। महिलाको वस्तुकरणलाई सही साबित गराउनु हो। यिनीहरू प्रतिनिधि पात्र मात्र हुन्। हुन त सन्दीप क्षेत्रीले यसअघि ‘रेसिस्ट’ व्यवहार र विषयवस्तु प्रस्तुतिकै कारण व्यापक आलोचना भएपछि ‘मिठाइलाल ज्यादब ‘क्यारेक्टर’ छाडेका हुन्।  

यस्ता धेरै सन्दीप क्षेत्री, भुवन केसी र शंकर बिसीहरू साहित्य, संगीत, पत्रकारिता, रंगमञ्चजस्ता क्षेत्रका मानिसलाई सजिलै प्रभाव पार्न सक्ने ठाउँमा छन्; जो उत्पीडन र उत्पीडकलाई सामान्य मान्छन्; नजरअन्दाज गर्छन्। अझ उत्पीडक नजिकको साथी, भोलि काम लाग्ने मान्छे, आफ्नो समुदाय र सर्कलभित्रको हो भने त खुलेआम बचाउमा उत्रिन्छन्। हिंसा गर्न केले प्रेरित गर्यो भनेर पीडितप्रति नै प्रश्न उठाएर हिंस्रकको सुरक्षा कवच बनेर उभिन्छन्। 

एउटा हिंसापीडित महिला कति घात/प्रतिघात बोकेर बाँचिरहेकी हुन्छे। आफ्नो आवाज दबाउनुपर्दा आफैंसँग हारिरहेकी हुन्छे। आफैंलाई हरदिन मारिरहेकी हुन्छे। आफ्नो हिंसाजन्य अनुभूति व्यक्त गर्न सबैभन्दा पहिला आफैंसँग लडाइँ गर्नुपरिरहेको हुन्छ। त्यसपछि साथीभाइ, परिवार र समाजको थुनछेक अर्को युद्ध मैदान बन्छ। यस्तो किन हुन्छ त?  किनकि हामीलाई महिलाविरुद्ध गरिने हिंसा अपराध लाग्दैन। बरु त्यो नियति हो र सहनु, गुपचुप रहनु जाती हो भन्ने पाठ पढाउँछौं। ‘इज्जत’ जोगाउन उसको मुखमा ताल्चा लगाउँछौं। आफ्नै आमा, भाउजू, दिदी, बहिनीहरूले भोगेको हिंसा अनुभूति गर्न नसक्ने हामी कहिले मान्छे बन्छौं? हाम्रो चेतना अझै कति हजार वर्षपछि विकास होला?

महिला बलात्कार र हत्याविरुद्ध लगातार लेखेर/बोलेर आफूलाई सामाजिक न्यायप्रति प्रतिबद्ध रहेको देखाउनेहरू नै हिंसा गर्नेहरूलाई सकेसम्म जोगाउन लागिपरेको पनि हामीले देखिरहेका छौं। सम्भावित हत्यारा, सम्भावित बलात्कारीलाई खुलेआम अँगालो हालेर, काखी च्यापेर हिँडेको दृश्य हामी निरीह भएर हेरिरहेका छौँ। महिलाविरुद्ध हिंसा र उत्पीडनलाई कसैले ज्यान नगुमाएसम्म नजरअन्दाज नै गरिरहनुपर्ने हो? तिनले भोगेका पीडा उनीहरू जिउँदै हुँदा नसुनिने, मनन नगरिने? लगातारको पारिवारिक र सामाजिक हिंसाले गिजोलेर आत्महत्या गरेका, घरेलु हिंसामा परेर मारिएका महिलाका लागि सामाजिक सञ्जालमा न्यायको आवाज उठाउनेलाई हामी किन पितृसत्ताको बुटले अनेक लाञ्छना लगाएर कुल्चिन्छौं? यसलाई हामीले कहिलेसम्म सहने? कतिन्जेल निरीह भएर बाँच्ने?

महिलाविरुद्ध उत्पीडन र हिंसामा अट्टहास गर्ने सन्दीप क्षेत्रीहरू तपाईं हाम्रावरिपरि पनि छन्। कुनै महिलाले हिंसाविरुद्ध बोल्नेबित्तिकै उसका कमजोरी खोज्न लाग्ने एउटा जमात हुन्छ। पीडकले आत्महत्या गर्छ होला, उसलाई जोगाउनुपर्छ भनेर चिन्ता लिने अर्को जमात हुन्छ। यहीँबाट थाहा हुन्छ– हाम्रो सामाजिक संरचना, बौद्धिक वर्ग, सार्वजनिक वृत्त कति पीडकमैत्री छ। यो जमात पितृसत्ताको पहरेदार हो, जो पीडितलाई नै दोष थोपरेर, हिंसाविरुद्ध आवाज उठाउनेलाई नै लाञ्छना लगाएर उसको मुख बन्द गराउन उद्दत हुन्छ। 

महिला, सीमान्तकृत, सामाजिक न्यायका पक्षमा लेख्छु भन्ने स्वघोषित लेखक, पत्रकार, बुद्धिजीवी, अगुवासमेत हिंसामा संलग्न व्यक्ति कति नजिकको हो, उसबाट भोलि के कति फाइदा लिन सकिन्छ, आफ्नो समुदाय र वर्गको हो कि भन्ने जोडघटाउ गरेर मात्रै बोल्छन्। र, पीडितको पीडालाई सकेसम्म सामान्यीकरण गर्ने प्रयास गर्छन्। त्यातिबेला उनीहरू सकेसम्म पीडितलाई नै मानसिक/सामाजिक रूपमा विक्षिप्त बनाउन लागिपर्छन्। तर सार्वजनिक वृत्तमा बसेका, आफैंलाई अगुवा कहलाउने कमरेडहरूले यसरी पीडककै पक्ष लिनेहरूलाई मेरो प्रश्न छ, ‘तपाईंहरूले पीडकलाई जोगाएर, ढाकछोप गरेर गर्न खोज्नुभएको के हो? आफ्ना कुकृत्य पनि बाहिर आउला भन्ने डरले? 

माथि उल्लिखित अट्टहास मैले र मेरो पुस्ताले एक्काइसौं शताब्दीमा बाँचिरहेको कुरूप पाटो हो। महिलालाई कति सजिलै वस्तुकरण गरिन्छ भन्ने उदांगो उदाहरण हो। सन्दीप क्षेत्रीले टिकटकतिर आफ्नी छोरीसँग पोस्ट गरेको भिडिओ हेरेर म दंग पर्थें। उनले कुनै एउटा कार्यक्रममा आफ्नी श्रीमतीप्रति दर्शाएको प्रेम र सम्मान भावले मलाई बहुत प्रभाव पारेको थियो। जसलाई मैले सामाजिक सञ्जालमा प्रचारसमेत गरेको थिएँ। तर सुरुमा प्रस्तुत कार्यक्रममा उनको अट्टहासले म आश्चर्यमा परेको छु।

त्यसले छोरी–छोरा समान भएको समतामूलक र स्वस्थ समाजको परिकल्पना गरेर बाँचिरहेको मेरो पुस्तालाई खुलेआम गिज्याएको छ। बाहिर–बाहिर सहअस्तित्व र सहकार्यको वकालत गर्ने तर भित्री रूपमा महिलालाई उपभोग्य वस्तु मात्रै ठान्नेहरूको मुकुन्डो कसरी उत्रिन्छ भनेर देखाएको छ। सार्वजनिक स्पेसमा बसेर गज्जब राम्रो कुरा गर्नेहरूको आपराधिक मानसिकता उदांगो पारिदिएको छ। आफ्नो जीवनमा जोडिएका महिलालाई सम्मान गरौं भनेर आह्वान गर्ने सन्दीप क्षेत्रीहरूले अरूलाई चाहिँ सीधै वस्तुकरण गरौं भन्न खोजेका हुन्? महिला कुनै पुरुषको जीवनमा जोडिए मात्रै उनको सम्मान गर्नुपर्ने नत्र उसलाई वस्तुकरण गर्नुपर्छ भन्न खोजिएको हो?  

प्रमुख समस्या नै यहींबाटै सुरु हुन्छ जस्तो लाग्छ मलाई– हामी आफ्ना दिदीबहिनी, आमालाई सम्मान गर्नुपर्छ भनेर सिकाउँदै गर्दा अन्य सबै महिलालाई पनि त्यसरी नै सम्मान गर्नुपर्छ भन्ने किन बिर्सिन्छौं? हरेक महिला–पुरुषको आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ र जसलाई हामीले सम्मान र स्वीकार गर्न सक्नुपर्छ।

मेरै पुस्ताका केही जोदाहा पत्रकार, प्रगतिशील युवा साथी छन्, जो बाहिर खत्रा नारी मुक्तिका भाषण ठोक्छन्, कलम चलाउँछन्, तर व्यक्तिगत जीवनमा स्वयं हिंसा गर्ने र हिंसाको मतियार बन्ने गरेको ‘ओपन सिक्रेट’ छन्। उनीहरूलाई मेरो प्रश्न छ–आन्दोलनमा हिँडेर ‘ओलीको हातमा रगत छ’ भन्दै गर्दा तपाईंहरूले आफ्नो हातमा चाहिँ अपराधको डाम देख्नुहुन्न?’ 

‘पक्कै पनि त्यसले उक्साएकी हुनुपर्छ’, ‘त्यसले केही नगरी यसै त पक्कै भएन होला’; यस्तै यस्तै आरोप लगाइन्छ, आशंका गरिन्छ। 

महिला हिंसाका मतियारहरूले अब आत्मालोचना गर्न र आफ्ना कमजोरी स्वीकार गर्न सिक्नुपर्छ। उत्पीडितलाई हिंसामुक्त जीवन फिर्ता दिन त सक्दैनौ, कम्तीमा तिनको पीडामा अश्लील अट्टहास पनि नगर! अबको पुस्ताले माफी दिने छैन। हिंसा र उत्पीडनका राप र तापले सल्किएको चेतनाको मसालले एक दिन जरुर जलाउनेछ, घिनलाग्दो हर्कत, चाहे समय किन नलागोस्। तिमीहरूको दमन, उत्पीडन र घिनलाग्दो अट्टहासले हिंसापीडितहरूमा आक्रोश जम्मा भएको छ, जो एक दिन विस्फोट हुनेछ। 

साउन ९, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .