फोटोफिचर


एनभीए महिला भलिबल : नेपाल पुलिस क्लबले उचाल्यो उपाधि (तस्बिरहरू)


सरोज नेपाल
असार ३०, २०८० शनिबार २०:२६, काठमाडौँ

नेपाल पुलिस क्लबले शनिवार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ।

नेपाल भलिबल संघको आयोजनामा सम्पन्न लिगमा पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेको थियो। यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिवार सम्पन्न पुरुषतर्फ फाइनलमा पुलिस फाइनलमा हेल्प नेपाल क्लबसँग ३–१ ले पराजित हुन पुग्यो।

पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ३–१ को सेटमा हराउँदै लगातार दुई उपाधि जित्यो।

यसै महिनाको सुरुवातमा इटहरीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो।

शनिबार क्लव भलिबल लिगको फाइनलमा पनि पुलिसले एपिएफलाई निराश बन्न बाध्य बनायो। पुलिस लिगमा पाँचै खेल जित्दै फाइनलमा पुगेको थियो। पुलिसले जुन अपराजित यात्रा फाइनलमा कायम राख्यो। पहिलो सेट २५–१२ ले सहजै आफ्नो बनाउँदै पुलिसले उच्च आत्मबल बटुल्यो।

यद्यपि, एपिएफले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गर्‍यो।

उक्त सेट एपिएफले २५–२१ ले जित्यो। तेस्रो सेटको खेल निकै रोमाञ्चक बन्यो। उक्त सेटमा एपिएफले २१–१८ को अग्रता जोगाउन सकेन। अन्तिम समयमा आत्मबल गुमाएपछि एपिएफले उक्त सेट २५–२३ ले गुमाउन पुग्यो। चौथो सेट पनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै लगातार दोस्रो उपाधि जित्यो।

उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझायो।

तेस्रो स्थानमा रहेको होङवान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नगद एक लाख ५० हजार र चौथो स्थानको त्रिभुवन आर्मी क्लवले नगद ७५ हजार प्राप्त गर्‍यो।

पुरुषतर्फ पनि हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै उपाधि उचाल्यो। हेल्प नेपालले पहिलो सेट २५–१९ ले आनो पक्षमा पार्‍यो।
दोस्रो सेट भने पुलिसले २५–११ ले जित्दै खेलमा फर्कने प्रयास गर्‍यो।

यद्यपि, हेल्प नेपालले तेस्रो र चौथो सेट २५–१८ र २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्दै ६ लाख रुपैयाँ प्राप्त गर्‍यो।

उपविजेता पुलिसले नगद तीन लाख र ट्रफी प्राप्त गर्‍यो। तेस्रो स्थानको आर्मीले नगद एक लाख ५० हजार प्राप्त गर्‍यो। चौथो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्‍यो। लिगमा महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषमा हेल्प नेपालका अइमल खान सर्वोत्कृष्ट खेलाडी घोषित भए। 

सर्वोत्कृष्ट दुवैले जनही ३५ हजार रुपैयाँ पाए। विधागत उत्कृष्टतर्फ लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा पुलिसकै कमला पुन, स्पाइकरमा पुलिसकी उषा भण्डारी, प्रशिक्षकमा रूपेश बिष्ट र उदीयमान खेलाडीमा सुमित्रा रेग्मी चयन भइन्।

एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन्।

पुरुषमा हेल्प नेपालका टोप हादुर थापा उत्कृष्ट लिबेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए।

उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए।

विधागत उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .