काभ्रेपलाञ्चोकको पनौती सहरलाई ऐतिहासिक हिसाबले काठमाडौंपछिकै कलात्मक सहर मानिन्छ। व्यस्त सहर काठमाडौंको धूलो, धूवाँ र प्रदूषणबाट उम्किन खोज्नेले नजिकैको सहर पनौती पुग्न सक्छन्।
स्वच्छ हावा, पानी, बिहान पहाडको थुम्कोबाट उदाउने सूर्योदय र कलाकौशल झल्किने मन्दिरहरुले पनौतीको शोभा बढाएका छन्। काठमाडौंबाट यहाँ पुग्न ३२ किमि यात्रा मात्रै गरे पुग्छ। पनौती बजार, लायाकु दरबार क्षेत्र, इन्द्रेश्वर मन्दिरको प्राचीन महत्व छ। यी सबै पन्ध्रौँ शताब्दीभन्दा अगाडि बनेको मानिन्छ।
पुण्यमाता र रोसी नदीको संगमस्थल रहेकोले यस स्थानलाई निकै पवित्रस्थल मानिन्छ। यहाँ प्रत्येक बाह्र वर्षमा ठूलो मेला लाग्छ। यहाँको गोरखनाथ मन्दिरको पनि छुटै महत्व छ। पनौती वरपरका सुन्दर गाउँ र बस्तीहरु चमखोर दलिन्चोक, देवीथानका थुम्काहरुबाट हेर्दा पनौती बजार निकै मनमोहक देखिन्छ।
यहाँको इतिहास हेर्दा मल्लकालीन समयमा भूपतीन्द्र मल्लले आफ्नी बहिनीको दाइजोको रुपमा दिएको बताइन्छ। पौरखी मानिसहरु, मनमोहक कला सौन्दर्य र स्वच्छ प्रकृतिले पनौती साँच्चै सुन्दर देखिन्छ।

प्रतिक्रिया