विचार


इरान युद्धले खोल्दैछ ताइवान युद्धको ढोका

फेरि तेहरानको सत्ता ढाल्ने खेलमा अमेरिका, दलदलमा फस्दै ट्रम्प
इरान युद्धले खोल्दैछ ताइवान युद्धको ढोका

गिडियन राकमन
साउन ५, २०८३ मंगलबार १७:४९,

राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिको विरासत इरानले तय गर्ने सम्भावना अत्यधिक छ। र, यतिबेला त्यो विरासत राम्रो हुने कुनै छाँट देखिँदैन। युद्ध फेरि सुरु भएको छ। तर, अमेरिकासँग इरानलाई जित्ने गतिलो योजना छैन।

इरानमा अमेरिका सफल हुन कुन लक्ष्य प्राप्त हुनुपर्छ भनेर राष्ट्रिय सुरक्षा संस्थापनले पहिले नै निधो गरिसकेको छ। गत साता आयोजित एस्पेन सेक्युरिटी फोरममा ट्रम्पको पहिलो कार्यकालका रक्षामन्त्री मार्क एस्पेरले इरानमा दुई वटा लक्ष्य पूरा भए अमेरिका सन्तुष्ट हुने बताए। पहिलो, कुनै शुल्क नतिरी आवतजावत गर्न मिल्नेगरी हर्मुज जलमार्ग खोल्ने। दोस्रो, इरानको आणविक कार्यक्रममा रोक। कम्तीमा ओबामा प्रशासनको पालामा जत्तिकै। अर्को शब्दमा भन्दा अमेरिकाको उदेश्य युद्धभन्दा पहिलेको स्थितिमा फर्कनु हो।

तर, यी सानातिना लक्ष्य समेत अमेरिकाले हासिल गर्न सक्ने स्थिति छैन। इरान हर्मुज जलमार्गबाट पार हुने जहाजबाट शुल्न नलिई नछाड्ने अडानमा छ। र, त्यसलाई अमेरिकाले कसरी रोक्न सक्ला, भन्न मुस्किल छ। हर्मुजमा शुल्क लगाउन सके इरानले अर्बौं डलर उठाउन सक्छ र त्यसले विश्वको ऊर्जा आपूर्तिमाथि उसको स्थायी कब्जा कायम गर्नेछ।

अमेरिकाले यसलाई कहिल्यै नस्वीकार्ने बताएको छ। तर, जति बम हाने पनि हर्मुज खोल्न सम्भव छैन। यति बेला इरानमा पैदल सैनिक उतार्ने जोस पनि ह्वाइट हाउसमा देखिँदैन। हर्मुज खुलाउन स्थल युद्ध गर्ने हो भने ६ लाख सैनिक आवश्यक पर्ने र त्यो काममा एक वर्ष लाग्न सक्ने अवकाशप्राप्त अमेरिकी जर्नेल ब्यारी म्याकेफ्री बताउँछन्। अर्कोतिर, इरानले आफूमाथि बढेको आक्रमणको जवाफ साउदी अरबमा हमला गरेर दिएको छ। खाडी मुलुक र तिनका महत्वपूर्ण पूर्वाधारमाथि जुनसुकै बेला आक्रमण हुनसक्छ भनेर इरानले सम्झाएको देखिन्छ।

ट्रम्प प्रशासनलाई थाहा छ, आउँदा वर्षहरूमा इरानी क्षेप्यास्त्र र ड्रोनको खतरा अझ बढ्नेछ। अनेक किसिमका निसाना लगाउन सक्छौँ भनेर तेहरानले यसअघि नै पुष्टि गरिसकेको छ। उसले दुबई एयरपोर्ट, कतारको ग्यास उत्पादन केन्द्र र सो क्षेत्रभरका अमेरिकी सैन्य अखडामा आक्रमण गरिसकेको छ। गत शुक्रबार मात्रै जोर्डनमा गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन्। 

ड्रोन र क्षेप्यास्त्र प्रविधिको तीव्र विकास अनि रुस र चीनको ठूलो सहयोगका कारण केही वर्षभित्रै अहिलेको भन्दा धेरै टाढा हान्न सक्ने अचुक हतियार इरानसँग हुने चिन्ता अमेरिकी रणनीतिकारहरूमा देखिन्छ।

त्यतिबेला इजरायलको डिमोना आणविक भट्टी र डिएगो गार्सियामा रहेको अमेरिकी अखडा पनि इरानको निसानामा पर्न सक्छ। र, त्यो अखडा इन्डो प्यासिफिकमा अमेरिकी शक्ति देखाउनका लागि अत्यन्त महत्वपूर्ण छ। यसअघि पनि इरानले यी दुवै स्थानलाई ताकेर क्षेप्यास्त्र प्रहार गरेको थियो। तर, ती क्षेप्यास्त्र निसानामा पुगेनन्। आउँदा दिनमा त्यो स्थिति बदलिन सक्छ।

उसोभए यस्तो निराशाजनक सम्भावनाको जवाफ अमेरिकाले कसरी दिन्छ त? वार्ता र सौदाको माध्यमले इरानलाई कहिल्यै पनि नियन्त्रणमा राख्न सकिँदैन भन्ने महसुस अमेरिकालाई भएको छ। त्यसैले वासिङ्टन फेरि इरानमा सत्ता पल्टाउने एजेन्डामा लागेको छ। हुन पनि फेब्रुअरी २८ मा युद्ध सुरु गर्दा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको असली उदेश्य इरानको सत्ता ढाल्नु नै थियो। तर, बाहिरी सैन्य हमलाले इरानी सत्ताविरुद्ध जनविद्रोह उत्पन्न हुनेछ भन्ने उनीहरूको आशा तुरुन्तै टुट्न पुगेको थियो। 

त्यसपछि अमेरिकाले केही महिनाका लागि इरानको सत्ता ढाल्ने विचार त्यागिदियो। किनकि कूटनीतिको माध्यमबाट युद्ध अन्त्यको कोसिसमा अमेरिका लागेको थियो। तर, अहिले कूटनीति असफल भएको देखिएसँगै ट्रम्प प्रशासनका केही तत्वहरू असली योजना अर्थात् सत्ता पलटमै फर्केका छन्।

यो रणनीतिको सबैभन्दा प्रस्ट हिस्सा हो– इरानमाथि बढाइएको आर्थिक दबाब। अमेरिकाले फेरि इरानी तेल निर्यातमा नाकाबन्दी लगाएको छ। केही महिनामै तेलबाट हुने इरानको आम्दानी सुकाउन सकिने विश्वास अमेरिकीहरूलाई छ। त्यसले मुलुकभित्र ठूलो आर्थिक संकट निम्त्याउने उनीहरूको आशा छ। 

त्यस्तै, अमेरिका र इजरायलसँग सहकार्य गर्ने इरानी सत्ताभित्र रहेका व्यक्तिहरूको खोजी पनि भइरहेको छ। आश्चर्यलाग्दो कुरा त यसअघि पनि इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई आफ्नो पक्षमा ल्याउने असफल प्रयास भएको थियो। जबकि उनी इजरायलविरोधी नेताका रूपमा चिनिँदै आएका छन्। 

त्यस्तै, इरानभित्रै आन्तरिक विद्रोह चर्काउने एजेन्डा पनि ब्युँतिँदैछ। युद्ध सुरु हुँदाताका इजरायलले कुर्दहरूलाई हतियार दिएर विद्रोहमा उतार्न खोजेको थियो। तर, वासिङ्टनले त्यसको विरोध गरेको थियो। अहिले त्यो भन्दा गतिलो विकल्प नभेटेपछि फेरि त्यो योजनालाई ब्युँताउन सक्ने सम्भावना पनि छ।

यो युद्धबाट इरान पहिलेभन्दा ज्यादा शक्तिशाली भएर निस्किनेछ भन्ने कुरालाई अमेरिकाले स्वीकार्न सकेको छैन। किन स्वीकार्न सकेको छैन, त्यो कुरा बुझ्न सकिन्छ। तर, यो स्थितिलाई उल्ट्याउने अमेरिकाको प्रयासले अर्को खतरा निम्त्याउन सक्छ।

इरानलाई हरेक कुरामा जस्ताको तस्तै गर्न खोज्दा अमेरिका पश्चिम एसियाली द्वन्द्वको दलदलमा झनझन् गाडिँदै जान सक्छ। इरानसँगको युद्धले अहिले नै अमेरिकी हतियार भण्डार रित्याइसकेको छ। इरानसँगको लडाइँ सुरु भएको केही हप्तामै तोमाहक क्रुज क्षेप्यास्त्रको ३० प्रतिशत र प्याट्रियट क्षेप्यास्त्र प्रतिरोधी हतियारको ५० प्रतिशत खर्च भएको रिपोर्टहरू प्रकाशित भएका थिए। 

तीमध्ये थुप्रै हतियार ताइवानका लागि हुने सम्भावित युद्धका लागि भनेर राखिएका थिए। ती हतियार पूर्ति गर्न अमेरिकालाई वर्षौं लाग्न सक्छ। त्यसैले चीनलाई ताइवानमा सम्भावित सैन्य कारबाही गर्ने मौका खुल्दैछ। अमेरिकी सरकारले यतिखेर सामना गरिरहेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संकट इरानसँगको युद्ध हो। तर, यो युद्धले आउँदा वर्षमा अझ ठूलो संकट जन्माउने अवस्था सिर्जना गर्दैछ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad