मधेस


धनुषा अदालत अगाडि मिटरब्याज पीडितको प्रदर्शन

धनुषा अदालत अगाडि मिटरब्याज पीडितको प्रदर्शन

सुभाष कर्ण
चैत १२, २०८२ बिहिबार १४:५१, जनकपुरधाम

मिटरब्याज पीडितहरूले जनकपुरधामस्थित जिल्ला अदालत, धनुषा अगाडि विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले मिटरब्याज साहुसँग मिलेर न्यायधीशहरूले पीडितविरुद्ध फैसला गरेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन संघर्ष समितिको आयोजनामा गरिएको प्रदर्शनमा सहभागी मिटरब्याज पीडितहरूले भ्रष्टाचारी न्यायाधीशहरू मुर्दाबाद, मिटरब्याजविरुद्ध अदालती प्रक्रिया बन्द गर, फर्जी लिखित बदर गर, मिटरब्याजीहरूलाई जेल हाल, मिटरब्याज पीडितहरूविरुद्ध मुद्दा हाल्ने साहुलाई कारबाही गर लगायतका नाराबाजी गरेका छन्।

उनीहरूले अनुचित लेनदेनको कानून कार्यान्वयन गर, नेपाल सरकारले गरेको सहमति लागू गर, अपराध संहिता २०७४ को दफा २४९ क लागू गर, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर र अदालतको फैसला मान्दैनौं भन्ने नारासहितका प्लेकार्ड समेत प्रदर्शन गरेका छन्।

मिटरब्याज साहुहरूले न्यायाधीशसँगको सेटिङ्गमा आफूहरू विरुद्ध अदालतमा मुद्दा हालेर आफ्नो पक्षमा निर्णय गराइरहेको विरुद्ध आन्दोलनमा उत्रिनु परेको प्रदर्शनमा सहभागी जनकपुरधाम उपमहानगरपालिका-२४ का श्रीराम रामले बताए। 

संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा र महासचिव मनोज पासवानको नेतृत्वमा गरिएको सो विरोध प्रदर्शनमा मिथिला कमाण्ड अन्तर्गत धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्लासहित चार जिल्लाका मिटरब्याज पीडितहरू सहभागी रहेका समितिका धनुषा इन्चार्ज श्याम सुन्दर रायले जानकारी दिए।

नेपाल सरकारले सहमति गरी कानुन समेत बनाएको १० प्रतिशत ब्याजमा ऋण रकम मिनाहा गर्ने कानुन कार्यान्वयन नगरी अदालती प्रक्रियामा मिटरब्याज साहुहरू गई एक लाखको सट्टा चार लाखको फर्जी कागज देखाएर मुद्दा हाल्ने गरेकाले आफूहरू अदालत र मिटरब्याज साहुविरुद्ध आन्दोलनमा उत्रेको आन्दोलनमा सहभागी महोत्तरी गौशालाका एक मिटरब्याज पीडितले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad