मधेस


मधेस सरकार गठन विवाद: सुरक्षा तैनाथ बढाइयो

मधेस सरकार गठन विवाद: सुरक्षा तैनाथ बढाइयो

फाइल फोटो


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १६:७, हेटौँडा

मधेस प्रदेशमा सरकार गठन प्रक्रियाको विवादका कारण तनाव बढेको छ। यहीबिचमा सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका ५ सदस्यलाई पदमुक्त गर्दै सूचना जारी गरेपछि दलहरुबिच थप विवाद चुलिएको हो। 

राजनीतिक गतिविधि फरक ढंगले अगाडी बढेपछि नेपाली सेनासहितको संयुक्त सुरक्षा गस्ती बढाइएको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी कमल थापाले बताए। 

‘पछिल्लो समय सेनाले पनि संयुक्त गस्ती गरिरहेको छ। यो केहिदिनदेखि चलिरहेकै छ’, थापाले नेपालखबरसँग भने। 

केहीदिनअघि प्रदेश प्रमुख सुमीत्रा भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले बर्दिबासको होटलमा सपथग्रहण गराएपछि कांग्रेससहितका सांसदले प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गर्दै कर्मचारीमाथि हातपात समेत गरेका थिए। 

सरकारले सोही घटनाका कारण प्रदेशप्रमुख भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्र लाभलाई नियुक्त गरिसकेको छ। नयाँ प्रदेश प्रमुखको नियुक्तीपछि पनि सरकार गठन र सांसदमाथिको कारबाहीले मधेस प्रदेशमा दलहरुबिच नै विवाद बढिरहेको छ। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्नेमा सरकार गठनको आव्हान नै नगरी संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर ठूलो दलको हैसियतले एमाले मधेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरुरूले विरोध जनाएका छन्। 

प्रदेशका सभामुखले गरेको कारबाही उपसभामुख वविताकुमारी राउतले खारेज गर्ने उल्लेख गर्दै विज्ञप्ति जारी गरे पनि राजपत्रमा प्रकाशित भइसकेको छ। 

सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका १० वटा बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनीष सुमन, संजय कुमार यादव, सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेको सूचना सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad