रात छिप्पिँदै जाँदा दरबारमार्गको रौनक अझै गाढा हुन्छ। त्यही झिलिमिली सहरको बिचमा एउटा यस्तो स्वर सुनिन्छ, जसमा माटोको सुगन्ध र संघर्षको कथा छ। ‘दरबार रोधी घर’को स्टेजमा जब आमा रतिमाया र छोरी रिया खड्का एकसाथ लोकभाकाहरू सुसेल्छन्, तब लाग्छ– यो गीत मात्र होइन, एउटी आमाले खर्चेको पसिना र छोरीले पाएको सफलताको एउटा सुन्दर तस्बिर पनि हो।
नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका लोकदोहोरीका चर्चित आमा–छोरी जोडीसँग कुराकानीको सुरुवात नै सहरको रात्रिकालीन जीवन र कलाकारको बाध्यताबाट भयो। धेरैलाई लाग्न सक्छ, नाम कमाएपछि रातभर जाग्राम बसेर दोहोरी साँझमा गाउनु रहर मात्रै होला। तर आमाछोरीका लागि यो यात्रा एउटा कठोर यथार्थबाट सुरु भएको थियो।
रिया भन्छिन्, ‘रहर त कसलाई हुन्छ र रातभरि काम गर्ने? अरूको त थाहा छैन, तर मेरो सर्कलका मान्छेहरूलाई देख्दा र बुझ्दा कलाकारिता क्षेत्रमा नाम जति ठुलो हुन्छ, भित्र पीडा त्यति नै धेरै हुन्छ भन्ने महसुस गरेकी छु।’
रतिमायाको संघर्षको कथा ०५८ सालदेखि सुरु हुन्छ, जब उनी सिन्धुजुरे गाउँबाट पोखरा झरेकी थिइन्। ०५९ सालमा पोखराको अमरसिंह चोकमा ‘सोल्टी दोहोरी साँझ’ खुल्यो। उनी त्यहाँ हप्ताको एक दिन शुक्रबार गाउन जान्थिन्। बाँकी दिन उनी ज्यामी काम गर्थिन्।
‘म एकल महिला, एउटी छोरीलाई पाल्न, पढाउन र सही बाटो देखाउनु मेरो जिम्मेवारी थियो,’ आफ्नो अतीत सम्झिँदा आज पनि भावुक हुन्छिन् रतिमाया।

हिजो छोरीलाई पाल्न ज्यामी काम गर्ने रतिमाया आज त्यही छोरीसँगै स्टेजमा उभिन्छिन्। काठमाडौँ जस्तो महँगो ठाउँमा एउटा म्युजिक भिडिओले वर्षभरि पुग्दैन। त्यसैले उनीहरू आज पनि रोधी घरमा नियमित गीत गाउँछन्, नाच्न र संगीतसँगै रमाउन आउने ग्राहकलाई मनोरञ्जन दिलाउँछन्।
रिया लोकदोहोरी क्षेत्रमा आजकी व्यस्त मोडल र गायिका हुन्। तर उनको यो प्रतिभा लकडाउन अघिसम्म घरभित्रै सीमित थियो। रतिमायाले कहिल्यै छोरीलाई यो क्षेत्रमा ल्याउने सोचेकी थिइनन्। उनले त छोरीलाई नर्स वा डाक्टर बनाउने सपना देखेकी थिइन्।
‘साथीहरूले र्याप र आधुनिक गीत सुन्दा मलाई दोहोरीमा मात्रै चासो लाग्थ्यो,’ रियास्कुले जीवन सम्झिँदै भन्छिन्, ‘म स्कुलबाट सधैँ पुरस्कार लिएर फर्किन्थेँ, ममी अचम्म मान्दै जिज्ञासा राख्नुहुन्थ्यो– यसले कस्तो गाउँछे होला र पुरस्कार पाउँछे?’
अचम्म त के छ भने, रतिमायाले छोरीको स्वर पहिलो पटक लकडाउनमा मात्रै सुनिन्। स्कुल, कलेज, अफिस सबै ठप्प भएको बेला रिया घरमा होमवर्क गर्दा गीत गुनगुनाउँथिन्। एक दिन रतिमायाले भनिन्, ‘आऊ नानी, हामी आमाछोरी दोहोरी खेलौँ।’
रियाले जब गाउन सुरु गरिन्, रतिमाया छक्क परिन्। उनलाई लाग्यो– छोरीको शब्द र स्वर त उनको भन्दा पनि प्रखर छ।
त्यहीँबाट रियाको टिकटक यात्रा सुरु भयो। ‘बामरी’ र ‘रानीफूल’ जस्ता गीतहरूमा उनी र आमाले बनाएका भिडिओहरू भाइरल भए।
रिया सम्झिन्छिन्, ‘ममीको कस्मेटिक पसल थियो। त्यहीँ बसेर गाएको एउटा गीत यति भाइरल भयो कि लाखौँ भ्युज गयो। त्यसपछि मलाई नाच्न र गाउन अफरहरू आउन थाले।’

रियाका लागि आमा पहिलो गुरु र सुरक्षा कवच पनि हुन्। दोहोरी साँझको माहोल कहिलेकाहीँ चुनौतीपूर्ण हुन्छ। तर रियालाई कहिल्यै असुरक्षित महसुस भएन।
‘ममी अगाडि भएपछि सबै डराउँछन्,’ उनी भन्छिन्, ‘मेरी छोरी कहाँ गई भनेर ममीले हेरिरहनुहुन्छ, त्यसैले मलाई अहिलेसम्म कसैले नराम्रो व्यवहार गर्ने आँट गरेका छैनन्।’
आफूले भोगेको दुःख छोरीले भोग्नु नपरोस् भन्नेमा रतिमाया सचेत छिन्।
‘मैले त धेरै हेपाइ खाएँ, साहुदेखि साथीभाइसम्मको। तर नानीलाई चाहिँ अहिलेसम्म कसैले केही भन्न पाएको छैन,’ रतिमाया गर्वका साथ भन्छिन्।
उनीहरूको सम्बन्ध यति प्रगाढ छ कि रिया आमाबिना एक पल पनि रहन सक्दिनन्। १७ वर्षको उमेरमा रिया ६ महिनाका लागि विदेश जाँदा उनी ३ महिनामै रोएर फर्किन्।
‘ममी नभए मेरो कन्फिडेन्स लेभल नै डाउन हुन्छ। ममी भएपछि संसार जितेको महसुस हुन्छ,’ रियाले भनिन्।
यो आमा–छोरी जोडीको प्रेम उनीहरूको शरीरमा कोरिएका ट्याटुहरूमा पनि झल्किन्छ। रियाले आफ्नो हातमा आमाको तस्बिर अंकित ट्याटु बनाएकी छिन्।
जब ‘लेट्स टक’मा यो प्रसंग निस्कियो, रियाले भनिन्, ‘हामीले जति धन–सम्पत्ति कमाए पनि, घर–जग्गा जोडे पनि त्यो म मर्दा साथमा जाँदैन। तर ममीको यो तस्बिर म मरेर खरानी हुँदासम्म मसँगै हुन्छ।’
छोरीको यो कुरा सुन्दा रतिमायाका आँखा रसाउँछन्। छोरीको प्रेम देखेर उनी स्टुडिओभित्रै रोइन्। त्यसो त रतिमायाले पनि आफ्नो हातमा छोरीको नाम ‘रिया’ लेखिएको ट्याटु खोपेकी छन्।

रियाको यात्रा सधैँ सहज भने रहेन। केही समयअघि उनी एउटा विवादमा परिन्। लोक दोहोरी प्रतिष्ठानले उनीसहित १० कलाकारलाई अश्लीलता फैलाएको भन्दै स्पष्टीकरण नै सोधेको थियो। रियामाथि ‘अश्लील नृत्य’ गरेको आरोप थियो। तर रिया डगमगाइनन्। उनले सामाजिक सञ्जालबाटै कडा जवाफ दिइन्।
उनी अहिले पनि प्रतिकार गर्दै भन्छिन्, ‘कलामा कुनै सेन्सर बोर्ड हुँदैन। यो दर्शकमा निहित हुन्छ। दर्शकले मनपराए हेर्छन्, नत्र आफै सेन्सर गर्छन्, कुनै संस्थाले गरिरहन पर्दैन। मैले गरेको डान्स ग्ल्यामर हो, भल्गर होइन। गल्ती निकाल्ने हो भने १७–१८ वर्ष बिताएका दिग्गजहरूका पनि धेरै भेटिन्छन्। म त भर्खर आएकी बच्चा हुँ।’
रियाको र्याप दोहोरी सोसल मिडियामा निकै हिट भयो। र्याप र दोहोरीको फ्युजनलाई नयाँ पुस्ताले निकै रुचाए पनि पुराना पुस्ताका केहीलाई यो पाच्य भएन। तथापि, रिया आफ्नो काममा स्पष्ट छिन्।
उनी भन्छिन्, ‘संसार सुल्टो घुम्छ, समयसँगै मान्छे शिक्षित र आधुनिक हुँदै जान्छ। पहिलेको समयमा र्याप थिएन होला, तर अहिलेको जेनेरेसनले यसलाई रुचाउँछ।’
रियाका धेरै सपनाहरू होलान् तर उनको सबैभन्दा ठुलो र अन्तिम सपना एउटै छ– आमाका लागि एउटा घर बनाउने।
‘मलाई एउटा घर बनाउनु छ, अनि त्यसको ढोकामा ‘आमा–छोरी’ निवास लेखेर दुई जनाको फोटो राख्नु छ,’ उनी भावुक हुँदै भन्छिन्।
एउटी आमाले छोरीका लागि गरेको त्यागको योभन्दा ठुलो सम्मान अरू के हुन सक्छ र?
हेर्नुहोस्, यो आमाछोरी जोडीको प्रेरणादायी कथा, भिडिओ कुराकानी ‘लेट्स टक’मा :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया