संसारकै धनाढ्य अमेरिकी अर्बपति इलोन मस्क अब संसारकै पहिलो ‘ट्रिलिनेयर’ अर्थात् १० खर्ब बढी सम्पत्ति भएको व्यक्ति बनेका छन्।
अर्बपतिहरुको सम्पत्ति मापन गर्ने म्यागेजिन फोर्ब्सको तात्कालिक अद्यावधिक सूचीअनुसार मस्क ११ खर्ब डलरका मालिक भएका छन्।
उनको कम्पनी स्पेस एक्सले पहिलोपटक साधारण सेयर (आईपीओ) जारी गरेसँगै मस्क पहिलो ट्रिलिनेयर बन्न सफल भएका हुन्।
स्पेस एक्सको सेयर नास्डाकमा प्रतिकित्ता १३५ डलरमा सूचीकृत भए पनि सुरुवाती कारोबारमै २० प्रतिशतले बढेको थियो। त्यसपछि सेयर कारोबार प्रतिकित्ता १५० अमेरिकी डलरमा सुरु भएलगत्तै १६० डलर पुगेको थियो। कम्पनीले आईपीओ निष्काशनमा कीर्तिमान नै बनाएको छ। उसले ७५ अर्ब अमेरिकी डलर संकलन गरेको हो। यसअघि यस्तो कीर्तिमान साउदी अरेबियाली कम्पनी साउदी अराम्कोको नाममा थियो। उक्त कम्पनीले सन् २०१९ मा २५.६ अर्ब अमेरिकी डलर संकलन गरेको थियो।
अन्तरिक्ष कम्पनी स्पेस एक्समा मस्कको ८० प्रतिशत बढी स्वामित्व छ। यसले रकेट र अन्तरिक्ष पूर्वाधारका सामग्री बनाउँछ भने चर्चित अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत यसका सामग्रीको प्रयोग गर्छ। स्पेस एक्सको स्वामित्वमा अन्य मस्क भेन्चरहरु समेत छन् जसमा एक्सएआई र इन्टरनेट सेवा प्रदायक स्टारलिंक समावेश छन्।
स्पेसएक्सको अधिकतर सेयरमा नियन्त्रणका कारण मस्क १० खर्ब सम्पत्तिको मालिक बन्न सकेका हुन्। तर उनीसँग बैकमा १० खर्ब डलर नै छ भन्ने होइन। यो उनको टेस्लामा रहेको कुल सेयरको मूल्यांकनअनुसार मात्र हो। टेस्लापछि अब स्पेस एक्समा पनि उनको धेरै सेयर भएको छ।
मस्कले एक वर्षसम्म स्पेस एक्सको सेयर बेच्न पाउनेछैनन्। उनी सधैँ १० खर्ब डलर भएको व्यक्ति बनिरहन भने स्पेस एक्सको सेयर मूल्य पनि स्थिर रहनुपर्छ।
सीएनएनका अनुसार १५० डलर माथि कारोबार भएसँगै स्पेस एक्सको बजार मूल्यांकन नै २० खर्ब डलर नाघेको छ। मस्कले शुक्रबार कम्पनीको बजार प्रवेशलाई उत्सवका रुपमा मनाएका थिए।
स्पेस एक्स सन् २००२ मा मस्कले स्थापना गरेका थिए। बिहीबार यो कम्पनीले ५५ करोड ६० लाख कित्ता सेयर प्रतिकित्ता १३५ डलरमा बिक्री गरेको थियो। जुन आईपीओ इतिहासकै उच्च कीर्तिमान हो। शुक्रबारको बजार इन्ट्रीसँगै सेयर ११ प्रतिशतले बढिसकेको छ।
Shares

प्रतिक्रिया