मधेस


दुई अर्ब लगानी बालुवामा पानी- सामान्य वर्षामै जलमग्न हुन्छ जनकपुरधाम

दुई अर्ब लगानी बालुवामा पानी- सामान्य वर्षामै जलमग्न हुन्छ जनकपुरधाम

सुभाष कर्ण
जेठ २८, २०८३ बिहिबार २२:९, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका सामान्य वर्षामै जलमग्न हुने गरेको छ। 

एशियाली विकास विकास बैंकको ऋण सहयोगमा झण्डै दुई अर्ब रुपैयाँको लगानीमा बनेको सडक तथा ढल प्राविधिक कमजोरीका कारण जलमग्न हुने गरेको हो।

करीब ४ वर्ष अगाडि एक अर्ब ९८ करोडको लागतमा जनकपुरधाम उपमहानगरपालिकाभित्र १३ किलोमिटर सडक र ३२ किलोमिटर ढल तथा नाला निर्माणको काम सम्पन्न गरिएको थियो। ढल तथा नालाको कमसल तथा गुणस्तरहीन कामका कारण सामान्य वर्षामै पानी निकास हुन नसक्दा जनकपुरधाम जलमग्न हुने गरेको हो।

बिहीबार बिहान भएको सामान्य वर्षामै जनकपुरधामका सरकारी कार्यालयहरुसहित प्रमुख सडकहरू जलमग्न भए। वर्षाको पानी ढलबाट निकास हुन नसक्दा जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, संघीय समन्वय प्रहरी कार्यालय, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक, डिभिजन वन कार्यालय, राष्ट्रिय समाचार समिति, प्रादेशिक अस्पताल र प्रदेश सरकारका मन्त्रालय परिसरहरूमा पानी जमेको थियो। 

यी कार्यालयहरू बाहेक वर्षाका कारणले जनकपुरधामको वडा नंं १, २, ४, ७, ८, १०, ११ र १३ का प्रमुख सडकसहित धेरै स्थानीयको घर आँगनमा पानी जमेको थियो। 

जनकपुरधामका वडा नंं ११ निवासी प्रफुल्लराज घिमिरेले एडीबीको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा जडान भएको ढलको पाइपहरूको मोटाई एक नास नभएका कारण ठाउँ ठाउँमा सडक फुट्ने र पानी निकास नभई जलमग्न हुने लगायतका समस्या आइरहेको बताए। 

यस्तै, वडा नम्बर ४ का विनोद यादवले ढल तथा नालामा प्रयोग गरिएका ह्युमपाइप मापदण्ड विपरित बिना स्लैपको जडान गरिएको कारण सडकमा सवारी साधनको भार बढेपछि सडक भासिएर ठाउँ ठाउँमा सडक टुटफुट र पानी निकास नभई सडकमा जम्ने जस्ता समस्या देखिएको बताए। 

उनले थप्दै भने, ‘सडक निर्माणकै क्रममा ह्युमपाइप राख्ने बेलामा बेला पटक पटक विवाद भएको थियो। नेपाल दूरसञ्चार कार्यालय अगाडि त तात्कालिन मेयर लालकिशोर साहले मापदण्ड अनुसार ह्युमपाइप जडान गर्न भन्दै काम रोक्न लगाएका थिए। तर पछि आन्दोलनकारी र मेयर साहलाई प्रभावमा पारी ठेकेदार निर्माण व्यवसायीले मापदण्ड विपरित जडानलाई निरन्तरता दिएका थिए।’ 

सडक तथा ढल निर्माणमा गुणस्तरहीन काम भएको भन्दै पटक पटक आवाज उठ्दै आएको छ। विभिन्न स्थानमा सडकमा खाल्डो परेपछि जनकपुरधाम उपमहानगरपालिकाले त्यसमा बालुवागिट्टी भरेर काम चलाउँदै आएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पनि एडीबीको ऋण सहयोगमा निर्माण भएको सडक तथा ढल मापदण्ड विपरित रहेको स्वीकार गरेका छन्। 

उनले भने, ‘विगतमा मापदण्ड विपरित र बिना अध्ययन अनुसन्धानले ढल तथा सडक निर्माण अहिले पानी जम्ने र ठाउँ ठाउँमा सडक फुट्ने लगायतका समस्या भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad