जिल्ला अदालत धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट फरार भएका ९ जना अभियुक्तलाई एक वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले शुक्रबार थुनुवा कक्षबाट भागेको अभियोगमा दोषी ठहर गर्दै एक नाबालकसहित ९ जनालाई एक वर्ष कैद सजायको फैसला सुनाएको हो। लामो सुनुवाइपछि उनीहरूविरुद्ध अदालतले अन्तिम फैसला गरेको हो।
अदालतका श्रेस्तेदार दिपक पोखरेलका अनुसार थुनुवा कक्ष फोडेर फरार भएको कसुरमा सबै प्रतिवादीलाई एक वर्ष कैद सजायको फैसला सुनाइएको छ। उनीहरूमाथि यसअघि दर्ता भएका अन्य मुद्दाहरूको हकमा भने सम्बन्धित अभियोगअनुसार छुट्टाछुट्टै थप फैसला भएको उनले जानकारी दिए।
धनुषा प्रहरीको हिरासतमा रहेका ती थुनुवाहरू २०८१ असोज ६ गते राति शौचालयको भेन्टिलेसन तोडेर फरार भएका थिए। फरार भएको केहीबेरमै एक जना जनकपुरधामको जनक चोकबाट पक्राउ परेका थिए भने असोज ८ गतेभित्रै सबै फरार थुनुवालाई पुनः पक्राउ गरेको थियो।
फरार हुनेहरूमा धनुषाको विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका, नगराइन नगरपालिका तथा सिरहा जिल्लाका एक अभियुक्तसहित ९ जना थिए। उनीहरूविरुद्ध थुनुवा कक्षबाट भागेको अभियोगमा मुद्दा दायर गरिएको थियो।
फरारमध्येहरूमा ५ जना लागुऔषध मुद्दामा अभियुक्तहरू थिए। बाँकी तीन जना अभद्र व्यवहार मुद्दाका थुनुवा थिए। उनीहरूमध्ये अभद्र व्यवहारको महोत्तरीको जलेश्वर नगरपालिका-५ बस्ने श्याम झा भने सोही बेला जनकचोकबाट पक्राउ परेका थिए।
अमितकुमार झा, रञ्जीत मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा थिए भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा रहेको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरू फरार भएका थिए।
Shares

प्रतिक्रिया