राजनीति


असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास

एमालेबाट हुलहुज्जत भयो, त्यहाँ बस्ने अवस्था छैन: बबिताकुमारी राउत
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १३:४१, काठमाडौँ

असुरक्षा बढेको भन्दै मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले जनकपुरस्थित प्रदेशसभा भवनभित्रको सरकारी निवास छाडेकी छन्।

सभामुख पक्षका एमाले नेता कार्यकर्ताले हुलहुज्जत गर्न थालेपछि आफूले हिजै साँझदेखि नै सरकारी निवास छाडेको राउतले बताइन्। 

‘हिजो साँझ यहाँ राम्रो वातावरण थिएन। आज पनि अवस्था खराबै छ,’ उपसभामुख राउतले नेपालखबरसँग भनिन्, ‘हिजो साँझ मेरो सरकारी निवासको लाइन पनि काटिदिए। यहाँ धेरै असुरक्षा छ। हिजो साँझ हामी बल्लतल्ल कार्यालयबाट निस्कियौँ। त्यसपछि म निवास फर्किएको छैन।’ 

मधेसमा एमालेका नेता सरोजकुमार यादव ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएपछि त्यहाँ एमाले र अन्य दलबीच बिवाद चर्किएकाे छ। 

कांग्रेस, जनमत, जसपा, माओवादीसहित सातदल एमालेविरुद्ध उभिएका छन्। जनकपुरमा एमाले र अन्य दलले विभिन्न ढंगले एकअर्काविरुद्ध शक्ति प्रदर्शन गर्न थालेपछि असुरक्षाको अवस्था बनेको छ। 

विवाद बढ्दै जाँदा सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलले प्रदेशसभा सचिवालयमा बिहीबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। 

बिहीबार साँझ आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेश सभाका पाँचजना सांसदलाई सभामुख मण्डलले पदमुक्त गरेका थिए।  त्यसलगत्तै उपसभामुख बबिताकुमारी राउतले सभामुखको निर्णय बदर गरिदिएकी थिइन्। 

सभामुख मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै जनता समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका छन्। 

लगतै उपसभामुख  राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भएको र यो अवस्थामा मण्डलले सांसदलाई कारबाही गर्न नमिल्ने भन्दै उनको निर्णय बदर गरिदिएकी हुन्। 

सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्। 

‘हिजो सभामुखले रिसको आवेगमा मात्रै सांसदहरूलाई पदमुक्त गर्नु भएको हो,’ उनले भनिन्, ‘उहाँले पदमुक्त गरेका सबै सांसद प्रदेश सभाका सबै बैठकमा उपस्थित हुनुहुन्छ। कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने दिन पनि उहाँहरु सबै बैठकमा आउनु भएको थियो। सभामुखले राजनीतिक पूर्वाग्रहको आधारमा गलत निर्णय गरेकाले मैले सच्याएको हुँ।’

उनले मधेस प्रदेश सभामा बढेको असुरक्षाको अवस्था अत्यका लागि सर्वपक्षीय छलफलको तयारी भइरहेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad