मधेस


छठका लागि जनकपुरमा भारतबाट ल्याइयो ५ करोडको केरा

छठका लागि जनकपुरमा भारतबाट ल्याइयो ५ करोडको केरा

रासस
कात्तिक १९, २०८१ सोमबार १२:११, धनुषा

छठपर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा रु पाँच करोडको केरा भारतबाट आयात गरिएको छ। छठपर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। 

‘केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले पुग्दैन’, उनले भने। स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको अध्यक्ष यादवले बताए। 

‘गत वर्ष रु चार करोडको केरा जनकपुर भित्र्याइएको थियो’, उनले भने, ‘यस वर्ष झण्डै एक सय ५० ट्रक केरा भित्र्याइएको छ। जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ।

मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट आयात गर्ने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताए। छठपर्वसँगै गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले केराको भाउ महँगिएको सचिव पूर्वेले जानकारी दिए। 

‘छठ मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो। बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ४०/४५ ट्रक बढी केरा मगाइएको अध्यक्ष यादवले बताए। समितिका अध्यक्ष यादवका अनुसार १० चक्के ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ। प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको खर्च रु सात लाख पर्ने उनले बताए। बजारमा प्रत्येक केराको घरीलाई रु एक हजार पाँच सयदेखि तीन हजार पाँचसम्ममा बिक्री गरिन्छ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन्। नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती हुने गरेको छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad