अस्ट्रेलियाको मेलबर्नमा पर्ने सेन्ट अल्बन्समा एक नेपाली युवकको आगलागीमा परेर मृत्यु भएको छ।
आगलागीमा परेर काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ भत्केपाटी गाम्चाका ३४ वर्षीय विशाल केसीको मृत्यु भएको हो।
अहिले उनको पोस्टमार्टम र अरू कानुनी प्रक्रिया भइरहेको उनका पारिवारिक सदस्यले बताएका छन्। यो प्रक्रिया सकिएपछि शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइने केसीका आफन्त सुशील बाँस्कोटाले नेपालखबरलाई बताए।
केसी केही साथीहरूसँग बसिरहेका थिए। उनी बसिरहेकै घरमा आइतबार भएको आगलागीमा परेर उनको निधन भएको हो। आगलागीको खबर प्राप्त भएपछि उद्धारका लागि तत्कालै पुगे पनि उनलाई बचाउन नसकिएको अग्निनियन्त्रकले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।
केसीका छिमेकीहरूले त्यहाँका सञ्चार माध्यमलाई बताएअनुसार, शनिबार साँझ केसीले साथीहरूसँगै तिहारको रमाइलो गरेका थिए। तर, बिहानै उनी बसेको ठाउँमा आगो लागेपछि भाग्न सकेनन्। उद्धारकहरूको प्रयास पनि सफल हुन सकेन।
बाँस्कोटाका अनुसार, केसीको विवाह भएको थिएन। उनी १० वर्षअघि अस्ट्रेलिया गएका थिए। गैरआवासीय नेपाली संघ र नेपाली दूतावाससँग समन्वय गरी शव ल्याउनका लागि पहल भइरहेको उनले बताए।
केसीले अस्ट्रेलिया जानुअघि केही समय काठमाडौँको हिमालय टेलिभिजनमा पनि काम गरेका थिए।
हेर्नुहोस् यो भिडिओ रिपोर्ट-
Shares

प्रतिक्रिया