कला


यी हुन् ५ वर्षका ५ भाइरल तीज गीत (भिडिओ)

यी हुन् ५ वर्षका ५ भाइरल तीज गीत (भिडिओ)

लक्ष्मी बलायर
असार १९, २०८३ शुक्रबार ७:४०, काठमाडौँ

यसपालिको तीज भदौको २९ गते परेको छ। तीज आउन साढे २ महिना बाँकी भएपनि तीजको माहोलले छोइसकेको छ। असारदेखि नै गायकगायिकादेखि कलाकार, निर्देशक, प्राविधिक र रेकर्डिङ स्टुडिओ व्यस्त हुन थालिसकेका छन्। गीत सार्वजनिक भने असारको अन्तिम वा साउनको पहिलो सातादेखि सुरु हुन्छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार गीत ल्याउन कतै दर्ता वा अनुमति लिनु नपर्ने भएकाले कति सार्वजनिक हुन्छन् भन्ने आधिकारिक तथ्यांक छैन। यद्यपि, वार्षिक तीन सयको हाराहारीमा तीज गीत सार्वजनिक हुने गरेको अनुमान छ।

तर, तीमध्ये औँलामा अटाउने गीत मात्रै हिट हुन्छन, जो टिकटकदेखि सामाजिक सञ्जालमा छाउँछन्। र, युट्युबमा पनि राम्रो भ्युज बटुल्दै पैसा कमाउँछन्।

पछिल्ला ५ वर्षमा वर्षैपिच्छे युट्युबमा सबैभन्दा बढी हेरिएका ५ तीज गीत कुनकुन हुन् त?

१. चरी जैलेमा
हरेक वर्ष तीज नजिकिएसँगै विष्णु माझीले तीजका गीत ल्याउने गर्छिन्। २०७८ सालको तीजमा पनि उनले ‘पुतलीको भट्टी-१७’ एल्बममा ‘चरी जेलैमा’ गीत ल्याइन्। जुन गीत छोटो समयमै निकै हिट बन्यो। टिकटिकदेखि सामाजिक सञ्जालसम्म भाइरल भयो।

यस गीतमा बाध्यतावश माइत जान नपाएकी महिलाको पीडा मार्मिक रुपमा प्रस्तुत गरिएको छ। त्यसैले धेरैले यस गीतका शब्दलाई विष्णु माझीको निजी जीवनसँग जोड्न थाले।

गुमनाम र रहस्यमयी विष्णुको उक्त गीतलाई धेरैले वास्तविक जीवनसँग मेल खाएको भन्दै टिप्पणी गर्न थाले। फलस्वरुप गीतले १३ दिनको छोटो समयमै करोड भ्युज पाउन सफल भयो। त्यतिबेलासम्म कुनै पनि नेपाली गीतले यति छोटो समयमा करोड भ्युज पाएका थिएनन्।

यो गीत छिटो करोड भ्युज पाउने गीत मात्रै बनेन, त्यसवर्षकै भाइरल गीत बन्न सफल भयो। हालसम्म यस गीतलाई ५ करोड ८७ लाख ४५ हजार पटक हेरिएको छ। विष्णुको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको रहेको छ। गीतको भिडिओमा ललिता पौडेलको नृत्य तथा अभिनय रहेको छ।

२. झमझम झम्कना
२०७९ मा सार्वजनिक ‘झमझम झम्कना’ त्यसवर्ष निकै रुचाइएको गीत हो। हुन त त्यसवर्ष विष्णु माझीकै ‘चरी जेलैमा २’, ‘पाउमा पाउजु छैन बरिलै’ लगायतका गीतहरू पनि निकै चलेका थिए। जुन गीतहरूमा लाखौं टिकटक बने।

तर, अघिल्लो गीतको बाँकी अंशको रुपमा रहेको ‘चरी जेलैमा २’ ले १ करोड २८ लाख भ्युज पायो। त्यस्तै, सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट्स अफ राधा’ मा समावेश ‘पाउमा पाउजु छैन बरिलै’ लाई १ करोड ६३ लाख १६ हजार पटक हेरिएको छ। तर, युट्युब भ्युजको आधारमा भने ‘झमझम झम्कना’ निकै अगाडि छ।

‘झमझम झम्कना’लाई हालसम्म युट्युबमा ३ करोड ८१ लाख ६३ हजार पटक हेरिएको छ। भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ। रमाइलो खालको गीतको भिडिओमा मोडल गीता ढुंगाना र भागिरथ नै फिचर्ड छन्।

३. अरेली काँडैले
२०८० सालमा पनि थुप्रै तीज गीतहरू सार्वजनिक भए। जसमध्ये त्यसवर्ष ‘अरेली काँडैले मलाई च्वास्सै’, ‘कमाउने नि हो, रमाउने नि हो’, विष्णु माझीको ‘बलमा’, एलिना चौहानको ‘कस्ले देख्यो र’ लगायतका गीतहरू निकै चले।

तर, ‘अरेली काँडैले मलाई च्वास्सै’ त्यसवर्ष सर्वाधिक चलेको तीज गीत बन्यो। त्यसवर्ष यो सामाजिक सञ्जालदेखि टिकटकमा भाइरल बनेको थियो। जसले गर्दा गीतको भ्युज ह्वात्तै बढेको थियो।

हालसम्म यस गीतलाई ११ करोड ६० लाख ६७ हजार पटक हेरिएको छ। साथै यो युट्युबमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत समेत हो। नेत्र अर्यालको शब्द रहेको यस गीतमा शान्तिश्री परियारको स्वर रहेको छ। गीतमा खेम सेन्चुरीको संगीत छ।

गीतको भिडिओमा अञ्जली अधिकारी र प्रकाश सपुतले नृत्य तथा अभिनय गरेका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडिओलाई सुनिल विकले निर्देशन गरेका हुन्।

४. आइनँ आमा यो तीजमा
२०८१ को तीजमा सार्वजनिक भएको ‘आइनँ आमा यो तीजमा’ सर्वाधिक चर्चित तीज गीत हो। ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको यस गीतमा विष्णु माझीको स्वर रहेको छ। त्यस वर्ष यो गीत सामाजिक सञ्जालदेखि टिकटकमा भाइरल भएको थियो।

विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। यस गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ।

गीतको भिडिओमा भने मोडल ललिता पौडेललाई देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई सुन्दरमणिले निर्देशन गरेका हुन्। यस गीतलाई हालसम्म युट्युबमा २ करोड ८२ लाख ३४ हजार पटक हेरिएको छ।

५. नत्र भने जिन्दगी व्यर्थ छ
गतवर्ष ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सर्वाधिक चलेको तीज हो। फिल्म ‘कोशेढुंगा’ को यस तीज विशेष गीतमा श्रीमानप्रतिको माया र श्रद्धा व्यक्त गरिएको छ।

नेत्र अर्यालको शब्द रहेको यस गीतमा खेम सेन्चुरीको हुकलाइन र संगीत छ। गीतमा खेमसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ। शब्द र स्वर दुवैमा मिठास भएकाले यो गीत टिकटकदेखि दर कार्यक्रमहरूमा छाएको थियो।

गीतको भिडिओमा फिल्मकै मुख्य कलाकारहरू सुरक्षा पन्त, नीति शाह र ऋचा शर्माको नृत्य तथा अभिनय देख्न सकिन्छ। स्मृति तिमल्सिनाले कोरियोग्राफी गरेको नृत्यका स्टेपहरू टिकटकमा भाइरल भएका थिए। जसमा लाखौँ टिकटक बनेका थिए। यस गीतलाई युट्युबमा १ करोड ४६ लाख ७० हजार पटक हेरिएको छ।

त्यसवर्ष ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सहित म त नराउरी, छोराको शिर आमा, तीजका गीत कस्ता हुन्थे सुन, आयो तीजको लहर, अभागी छोरी लगायत गीतहरूले पनि राम्रै चर्चा पाएका थिए। निकै आशा गरिए तापनि अघिल्लो वर्ष विष्णु माझीको ‘म त नराउरी’ को चर्चा औसत मात्रै रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad