आफ्नै बुहारीलाई पटक पटक यौन दुर्व्यवहार गरी आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सप्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।
रामेश्वरकी बुहारी सरस्वती रामको शव २०८३ असार १३ गते बिहान सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो।
स्थानीयका अनुसार ससुरा रामेश्वर रामलाई आफ्नै बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गर्ने गरेको र घटनाबारे गाउँमा बसेको पंचायतमा बयान फेर्न दबाव दिएका थिए।
प्रहरीका अनुसार आरोपितले मृतकलाई बयान नफेरे हत्या गर्ने धम्की दिएको अनुसन्धानमा खुलेको छ। धम्कीकै कारण सरस्वतीले आत्महत्या गर्न बाध्य भएको प्रहरीको दाबी छ।
गाउँमा भएको पंचायतीका क्रममा पीडित महिलालाई नै हप्कीदप्की लगाई घटना समासुम पार्ने प्रयास भएको थियो। पंचायतमा संलग्नहरू पनि फरार छन्। उनीहरूको खोजी जारी रहेको डीएसपी घिमिरले जनाए।
पक्राउ परेका रामेश्वरलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।
Shares

प्रतिक्रिया