मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा संघका नेता÷कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेको छ।
मुलुकमाथि आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रिपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा संघले विरोध प्रदर्शन गरेको हो।
समाजवादी युवा संघका मधेस उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको विरोध प्रदर्शनमा युवाहरूले कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए।
समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष यादवले संघीयतामाथि नै प्रहार हुनेगरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रिपरिषद् बनाउनु मधेसवासीलाई सह्य नहुने बताए।
उनले जनमत पार्टीलाई चुनावअघि ठूलाठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए।
उनले कमजोर आर्थिक स्थिति रहेको मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गर्नु गलत रहेको बताए।
यस्तै, समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापरले मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन आग्रह गरे। आफूहरुको आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणवद्ध रुपमा जारी राख्ने चेतावनी दिए।
Shares
प्रतिक्रिया