घरेलु मैदानमा भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा साविक विजेता भारतसँग पराजित भएपछि नेपाली महिला भलिबलको खराब इतिहास फेरि एकपटक दोहोरिएको छ। ५ वर्षपछि भारतसँग बदला लिने मौक नेपालले गुमाउँदा सबैलाई चुकचुक लागेको छ।
फाइनलमा भारतसँग पराजित हुनुको कारणबारे नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र सर्भिसमा सोचे अनुसार हुन नसक्दा भारतविरुद्ध हार भोग्नु परेको बताएका छन्।
चौथो सेटमा जित्नुपर्ने खेल गुमाउँदा नेपालको लय गुम्न पुग्यो। जसको असर पाचौँ सेटमा स्पष्ट देखियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित हुँदै घरेलु समर्थककाबीच स्वर्ण पदक जित्ने मौका गुमाउन पुग्यो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको थियो।
तर चौथो सेट भने नेपालले २१–२५ ले गुमाउन पुग्यो। पाँचौ तथा अन्तिम सेट नेपालले ५–१५ ले गुमाउँदा नेपाल रजत पदकमा चित्त बुझाउन बाध्य भयो।
पहिलो सेटमा सुरुवातबाट नै अग्रता बनाएको नेपालले बीचमा केही लय गुमाउन पुग्यो। यद्यपी अन्तिममा सम्हालिँदै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेट सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएपनि नेपालले लय गुमाउँदा सेट गुमाउन पुग्यो। तेस्रो सेटमा नेपालले सुरुवातबाट नै अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। तर चौथो सेटमा नेपालले केही गल्ती गर्न पुग्दा नतिजा भारतलाई सुम्पन पुग्यो। पाँचौ सेटको सुरुवातबाट नै पछि परेको नेपालले लय गुमायो।
लिग चरणमा भारतलाई पराजित गर्दै इतिहास बनाएको नेपाल फाइनलमा भने त्यो लयलाई गुमाउन पुग्यो।
काभा नेसन्स लिगमा सिनियर खेलाडीको अनुभव र जुनियर खेलाडीको उत्साहले नेपालको प्रर्दशन भने प्रशंसायोग्य छ। काभा च्यालेन्ज कपमा सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्युको मौका पाए। सुमित्राले सुरुवाती रोजाइमा नै स्थान बनाउँदा आरतीले भने कमै मौका पाइन्।
भारत होस् वा इरानविरुद्धको खेलमा सरस्वती चौधरी, उषा भण्डारी र निरुता ठगुन्ना हावी देखिए।
उता, भारतले भने घरेलु समर्थकका माझ नेपाली टोलीलाई पाचौँ सेटमा स्तब्ध पार्दै लगातार दोस्रो पटक काभाको उपाधि उचालेको हो।
लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो। पहिलो खेलमा नेपालले भारतमाथि ३–२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो। तेस्रो सेटमा नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने नेपालले २५–१८ ले गुमायो। प्रतिस्पर्धात्मक पाँचौ तथा अन्तिम सेट १५–१३ ले नेपालले आफ्नो पक्षमा पार्दै ऐतिहासिक जित दर्ता गरेको हो।
लिग चरणमा भारतलाई पराजित गरेपनि नेपालले फाइनलमा भने फेरि एक पटक स्तब्ध हुँदै घरेलु मैदानमा सुनौलो इतिहास कोर्ने मौका गुमायो।
लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो। तर सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।
उता भारत भने लिग चरणमा नेपालसँग मात्र पराजित भएको थियो। सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत उपाधि नजिक पुगेको थियो।
योसँगै नेपालले ५ वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिन चुकेको छ। यसअघि सन् २०१९ मा घरेलु मैदानमा नै भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारतसँग नै ३–२ को सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको थियो।
सन् २०१९ पछि नेपाल गत वर्ष भएको काभा र चीनमा भएको एसियन गेम्समा पनि भारतसँग स्तब्ध भएको थियो।
नेपाल भलिबल संघले पछिल्लो समय महिला भलिबलमाथि लगानी गरिरहेको छ। करिब तीन महिनाको प्रशिक्षणमा महिला टोलीले काभामा भाग लिएको थियो।
काभा अघि नेपालले रसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसको प्रभाव यसपटक काभा च्यालेन्ज कपमा प्रष्ट देखियो। काभा नेसन्स कपमा पनि नेपाली महिला टोलीमा अनुभवको कमी देखिन्थ्यो।
जसका लागि महिला टोलीलाई अझै अन्तर्राष्ट्रिय एक्सपोजर दिन आवश्यक छ।
Shares
प्रतिक्रिया