वनमा लागेको डढेलो गाउँमा सल्किँदा सर्लाहीको हरिवनमा एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ।
चुरे क्षेत्रमा अवस्थित हरिवन–१ बिलन्दीमा एमालेका युवा नेता उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्म बुधबार साँझ डढेलोमा परेर नष्ट भएको हो।
स्थानीय बासिन्दासमेत रहेका सञ्चारकर्मी राजु लो तामाङका अनुसार बाख्रा भने जंगलमा चर्न गएकाले जल्नबाट जोगिएका छन्।
आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको पीडित परियारले बताए। फार्ममा कोही नभएका बेला स्थानीय शिवेश्वर सामुदायिक वन क्षेत्रको डढेलो बाख्रा गोठमा सल्किएको हो।
स्थानीयको सहयोगमा हरिवन नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो निभाउन झण्डै २ घण्टा लागेको थियो।
सर्लाहीका विभिन्न वनमा केही दिनदेखि डढेलो लागिरहेको छ। राष्ट्रिय, सामुदायिक र साझेदारी सबैखाले वनमा डढेलो लाग्दा पनि सम्बन्धित निकायले नियन्त्रणका लागि प्रभावकारी पहल गरेका छैनन्।
डढेलोका कारण जंगल आसपासका गाउँमा बसोबास गर्ने नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। डढेलोको धुँवाले केराबार, कैलाशपुरी, बेताली, बिलन्दीलगायत गाउँका बासिन्दा प्रभावित भएका हुन्।
प्रतिक्रिया