मधेस


मधेस प्रदेश सभा: भत्ता र इन्धनमै करोडौँ खर्च, तीन वर्षमा १६ वटा कानुन निर्माण

मधेस प्रदेश सभा: भत्ता र इन्धनमै करोडौँ खर्च, तीन वर्षमा १६ वटा कानुन निर्माण

सुभाष कर्ण
असार ३१, २०८३ बुधबार १८:०, जनकपुरधाम

मधेश प्रदेश प्रदेशसभाको दोश्रो कार्यकालमा कामभन्दा बढी सेवा सुविधामा पदाधिकारी तथा सदस्यहरु सक्रिय देखिएका छन्। ठूलो धनराशी खर्चिएका मधेश प्रदेश सभाले कानुन निर्माण निकै सुस्त निस्क्रिय जस्तै देखिएका छन्। 

प्रदेशसभा सचिवालयका अनुसार पछिल्ला गत तीन आर्थिक वर्षमा पदाधिकारीहरूको इन्धन सुविधामा दुई करोड १४ लाख २९ हजार ६१६ रुपैयाँ खर्च भएको छ भने गाडी मरम्मत सम्भारमा मात्रै एक करोड ९० लाख २९ हजार ४५९ रुपैया खर्चेको छ। 

प्रदेश सभाले उपलब्ध गराएको तथ्यांक अनुसार इन्धनतर्फ आर्थिक वर्ष २०८०/८१ मा ६७ लाख पाँच हजार ५९२ रुपैयाँ, आव २०८१/८२ मा ८० लाख २१ हजार ७८४ रुपैयाँ र आव २०८२/८३ मा ६७ लाख दुई हजार २४० रुपैयाँ खर्च गरिएको छ। 

गाडी मर्मततर्फ आव २०८०/८१ मा ६५ लाख सात हजार ६९२ रुपैयाँ, आव २०८१/८२ मा ७३ लाख रुपैयाँ र आव २०८२/८३ मा ५२ लाख २१ हजार ७६७ रुपैयाँ खर्च भएको सचिवालयले उपलब्ध गराएको खर्च विवरणमा उल्लेख छ।

माथि उल्लेखित यी नियमित खर्च हुन्। 

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा ३९ वटा गाडी सेवासुविधामा परिचालित छन्। तीमध्ये सात वटा चालु अवस्थामा छैनन्। बाँकी गाडी सभामुख, उपसभामुख, सचिव, दलका संसदीय दलका नेता, दलका प्रमुख सचेतक र विषयगत समितिका सभापतिहरूले प्रयोग गरिरहेका छन्। 

सभामुख रामअशिष यादवले एउटा गाडी प्रयोग गर्दै आएका छन् भने उनको पछुवा र सचिवालयका लागि एक/एकवटा गाडी दिइएको छ। उपसभामुख बबिता राउत ईसरले सचिवालयसहित दुई वटा गाडी प्रयोग गर्दै आएकी छन्।

यस्तै विषयगत सातवटै समितिका सभापति, संसदीय दलका नेता, प्रमुख सचेतक समेतले एउटा/एउटा गाडी लिएका छ्न्। निवर्तमान सभामुख रामचन्द्र मण्डल समेतले एउटा गाडी प्रदेश सभाबाट सुविधामा लिएका छ्न्। 

सभामुखभन्दा उपसभामुखको भत्ता धेरै
वर्तमान सभामुख रामआशिष यादवले हालसम्म बैठक भत्ता बुझेको छैनन्। तर निवर्तमान सभामुख रामचन्द्र मण्डलले गत तीन आर्थिक वर्षमा १ लाख ३३ हजार ४५० र उपसभामुख राउतले १ लाख ८५ हजार ४९५ रुपैयाँ बैठक भत्ता बुझेका छन्। 

प्रदेश सभाको पदाधिकारीले सबभन्दा बढी भ्रमण भत्ता रकम बुझेका छ्न्। सभामुखकै हाराहारीमा उपसभामुखले पनि भ्रमण भत्ता बुझेका छन्। प्राप्त तथ्यांक अनुसार वर्तमान सभामुख यादवले ६३ हजार २४५ रुपैयाँ भ्रमण भत्ता वापत बुझेका छन् भने निवर्तमान सभामुख मण्डलले गत तीन वर्षमा १२ लाख ८३ हजार ९६१ रुपैयाँ र उपसभामुख राउतले १२ लाख ५४ हजार ११२ रुपैया बुझेका छन्। 

उपसभामुखको भ्रमण भत्तामा बढी जनकपुर—काठमाडौँ रहेको छ। उनका श्रीमानसहित परिवार काठमाडौँमा बस्दै आएको कारण उनी अधिकांश समय काठमाडौँमै बिताउँदै आएको श्रोतको भनाई छ। उनले उठाएको भ्रमणभत्तामा अधिकांश रकम विमानकै रहेको छ। 

प्रदेशसभा सचिवालयका अनुसार मधेस प्रदेशसभाको दोस्रो कार्यकालमा कुल १६५ बैठक बसेको छ भने सो अवधिमा २७ वटा विधेयक पेश भएकोमा मात्र १६ वटा कानुन निर्माण भएका छन्।

प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो। पहिलो अधिवेशनमा ३६ वटा बैठक, दोस्रोमा १४, तेस्रोमा ३४, चौथोमा २३, पाँचौँमा २२, छैटौँमा २० र जारी सातौँ अधिवेशनमा अहिलेसम्म १६ वटा बैठक बसेको छ। 

चार विधेयक दर्ता भएका छन् भने तीन विधेयक सभामा पेस भएको छ। एक विधेयक पेस हुन बाँकी छ। दुई विधेयक सरकारले फिर्ता लगेको छ र एक विधेयक विषयगत समितिमा रहेको समितिको भनाई छ।

पहिलो कार्यकालमा मधेस प्रदेशसभाले करिब ५६ कानुन निर्माण गरेको थियो। 

प्रदेशसभा सञ्चालन सरकारमा निर्भर रहने प्रदेशसभा प्रवक्ता विपिन ठाकुरले बताए। ‘प्रदेश सभाको बैठक र कानून पारित प्रदेश सभाभन्दा पनि सरकारमा भर पर्छ’ उनले भने, ‘सरकारले विधेयक र ‘बिजनेस’ दिएपछि मात्रै प्रदेशसभा प्रभावकारी रूपमा अघि बढ्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad