जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा आज सुरु भएको छ।
पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदै छ। श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो। पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताए।
जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन्। जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए। महासेठले छठ पर्वका अवसरमा जनकपुरमा व्यापारिक चलहपहलसमेत बढेको बताए।
कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहेको मानिन्छ।
पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ। साँझका समयमा सूर्य देवतालाई प्रसादका रुपमा दिइने अर्घ्य नै पुनःबिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ।
छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्छन्। यही तिथिका दिनदेखि छठ पर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्छ। यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्छन्।
कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्छन्। उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ।
सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसाद स्वरुप खिर व्रतालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्छन्। जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अर्घ्य दिन्छन्।
साँझका समयमा घण्टाैँ जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य चढाउने गरिन्छ। उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्छन्। छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीप आदि रहन्छ। रासस
Shares

प्रतिक्रिया