जनकपुरधामस्थित जानकी मन्दिरअन्तर्गत रहेको विवाह मण्डप र माता सीताको जन्मदेखि विवाहसम्मको सम्पूर्ण चरित्रको विद्युतीय संग्राहालयमा इतिहासमै पहिलो पटक तालाबन्दी गरिएको छ।
विवाह मण्डप र संग्रहालय अवलोकनका लागि जानकी मन्दिरद्वारा टिकट लिँदै आएकोमा मधेसका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले नि:शुल्क गर्नुपर्ने भन्दै टिकट खोसेपछि मन्दिर व्यवस्थापनले तालाबन्दी गरेको हो।
मन्त्री महतोले मंगलबार साँझ विवाहमण्डप र सङ्ग्रहालयमा काट्दै गरेका व्यक्तिलाई टिकट किन र के का लागि काटिरहेको भन्दै ती टिकटहरू खोसेर लगेका थिए।
मन्दिर खर्च व्यवस्थापनका लागि जानकी मन्दिर व्यवस्थापक प्रत्येक वर्ष ठेक्का लगाउँदै आएका थिए। ती ठेकेदार संग्रहालयको १५ रूपैयाँ र विवाह मण्डपको १० रूपैयाँको टिकट काटदै आएका थिए।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गुण्डा शैलीमा गृहमन्त्री महतोले संग्रहालय र विवाह मण्डपको टिकट खोसेर लगेको आरोप लगाएका छन्।
‘मन्दिरको पूजा तथा अन्य खर्च व्यवस्थापनका लागि संग्रहालय र विवाह मण्डप ठेक्का लगाइँदै आएको हो,’ उनले भने, ‘प्रदेश, संघीय वा स्थानीय सरकारले आजसम्म एक रूपैया पनि मन्दिर व्यवस्थापनका लागि खर्च गरेको छैन। गुण्डाशैलीमा आएर टिकट खोस्ने विषय उचित भएन, मन्त्री भएपछि जे पनि गर्न उहाँलाई कसले छुट दिएको छ?’
महन्थ दासले मन्त्रीलाई खर्चको हिसाब चाहिएको हो भने कार्यालय वा आफूकहाँ आएर माग्नुपर्ने बताए।
मन्त्री महतोले मन्दिरमा शुल्क लिनु गलत कार्य भएकाले पटकपटक नि:शुल्क गर्न भन्दा पनि बेवास्ता गरेपछि टिकट खोसेको बताएका छन्। ‘मन्दिर कसैको निजी सम्पत्ति होइन, सार्वजनिक सम्पत्तिमा जनतासँग शुल्क लिनु गलत भएकाले टिकट खोसेको हुँ,’ उनले भने।
पूजा खर्च व्यवस्थापनका लागि ठेक्का लगाएको भन्ने जानकी मन्दिरको भनाइमा मन्त्री महतोले भने, ‘को सँग स्वीकृति वा समन्वय गरेर ठेक्का लगाएको? जहाँसम्म पूजा खर्च व्यवस्थापनको कुरा हो, जानकी मन्दिरले आजसम्म खर्च हिसाब सार्वजनिक नगरेका कारण शंकाको घेरामा छ।’
एक दशकअघि भारत सरकारको लगानीमा मन्दिर परिसरभित्रै माता जानकीको बाल्यकाल जन्मदेखि विवाहसम्मको दृश्य चरित्रसहितको विद्युतीय संग्रहालय निर्माण गरिएको थियो। २०२६ मा बडा गुरुजी खगेन्द्रराज पाण्डेको पहलमा जानकी मन्दिरमा हालको विवाह मण्डप निर्माण गरिएको थियो।
निर्माण कार्यमा जानकी मन्दिरका तत्कालीन महन्थ नवलकिशोर दासको उल्लेखनीय योगदान थियो। निर्माणको १६ वर्षपछि २०४२ पुस १८ गते तत्कालीन राजा वीरेन्द्रले विवाह मण्डपको उद्घाटन गरेका थिए।
रामसीताको विवाह भएको विश्वास गरिएको यही स्थानमा पहिले पनि एक मण्डप थियो। १९९० सालको महाभूकम्पले पुरानो मण्डपमा ठूलो क्षति पुर्याएको थियो।
त्यसपछि नयाँ स्वरूपमा, पर्यटक आकर्षित गर्ने गरी प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको हो। हिन्दू परम्पराअनुसार यही स्थानमा भगवान राम र माता सीताको विवाह सम्पन्न भएको विश्वास गरिँदै आइएको छ। मण्डपको गर्भगृहमा रामसीता, लक्ष्मण, भरत, शत्रुघ्न तथा उनीहरूका धर्मपत्नीहरूको संगमरमरका मूर्तिहरू स्थापना गरिएका छन्।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा यही मण्डपमा रामजानकी विवाह महोत्सवको मुख्य कार्यक्रम आयोजना गरिन्छ।
हरेक वर्ष लाखौँको संख्यामा श्रद्धालुहरू विवाहमण्डपको अवलोकन गर्दै आएका छन्।
Shares

प्रतिक्रिया