ad ad

मधेस


उमेर पुगेका जोडी गाउँ छोडेर भागेपछि...

उमेर पुगेका जोडी गाउँ छोडेर भागेपछि...

नेपालखबर
असोज ३०, २०७९ आइतबार ९:३६, काठमाडौँ

सर्लाहीको चन्द्रनगरमा एक जोडी (युवक र युवती) घर छाडेर सँगै भाग्दा गाउँमा तनावको अवस्था सिर्जना भएको छ। 

चन्द्रनगर गाउँपालिका–२ स्थित बबरगन्ज गाउँका २२ वर्षीय राजिब यादव र सोही ठाउँकी साह थरकी २० वर्षीया एक युवती दुई साताअघि आफूखुसी प्रेम बिवाह गरी गाउँ छाडेर भागेका थिए। 

प्रेम सम्बन्धमा रहेका युवक र युवती बिवाह गर्ने भन्दै गाउँ छाडेर भागेपछि केटी पक्षका मानिसले केटाका काका ६२ वर्षीय गणेश रायलाई बन्धक बनाएपछि गाउँमा तनाबको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

केही दिनदेखि बबरगञ्जकै कुशवाहा धर्मशालामा बन्धक बनाएर राखिएका यादवलाई छुटाउन शनिबार दिउँसो प्रहरी पुग्दा केटी पक्षका गाउँलेले प्रतिकार गरेका थिए। गाउँलेले प्रतिकार गरेपछि तनाबको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता विजय यादवले जानकारी दिए। 

‘प्रहरीमाथि नै प्रतिकार भएपछि स्थितिलाई नियन्त्रणमा लिन हामीले दुई सेल अश्रुग्याँस प्रहार गरेका छौँ,’ डीएसपी यादवले भने, ‘घटनामा एउटा मोटरसाइकलमा आगजनी भएको छ। घटनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ।’

साह समुदायका केटी पक्षका मानिसले यादव समुदायका केटाको काकालाई धर्मशालामा थुनेर बन्धक बनाएको भन्ने सूचना पाएपछि सुरुमा ईलाका प्रहरी कार्यालय बयलवासबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

केटी पक्षका मानिसले प्रहरीलाई धर्मशालामा प्रवेश गरी बन्धक बनाइएका केटाको काकालाई उद्धार गर्न नदिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्दा तनावको अवस्था सिर्जना भएको हो।

शनिबार साँझ प्रहरीका थप युनिटबाट समेत प्रहरी घटनास्थलमा पुगेको थियो। केटी पक्षले बन्धक बनाएर राखेका यादवलाई प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। 

यादवलाई उद्दार गर्ने क्रममा स्थानीयको ढुंगामुडामा परेर ६ जना प्रहरी घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट केही गाउँलेसमेत घाइते भएका छन्।

‘पक्राउ परेका १५ मध्ये ८ जनालाई शनिबार साँझै छाडिएको छ,’ डीएसपी यादवले भने, ‘बाँकी ७ जनामाथि थप अनुसन्धान भइरहेको छ। उनले आल घटनास्थलको अवस्था सामान्य रहेको जानकारी दिए। 

प्रहरीका अनुसार यहि असोज १३ गते गाउँ छाडेर भागेका युवक र युवती हाल ईलामतिर रमाइरहेका छन्। स्थानीय प्रहरीले भेटेर सम्झाउँदा पनि युवतीले युवकलाई छाडेर घर फर्किन अस्वीकार गरेकी छन्। राजिखुसीले भागेका उमेर पुगेका जोडीलाई छुटाउन नसकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .