ad ad

जीवनशैली


स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् भाइरल ‘पोषण विज्ञ’का टिप्स

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् भाइरल ‘पोषण विज्ञ’का टिप्स

नेपालखबर
साउन २०, २०८१ आइतबार ८:३५,

स्मार्टफोनले मानिसहरूको संसार परिवर्तन गरिदिएको छ। एउटै फोनले धेरै ग्याजेट र मानिसको काम एक्लै गर्न सक्छ। हरेक समस्यालाई क्षणभरमै हल गर्न सकिन्छ, चाहे त्यो पढाइ होस्, किनमेल होस्, गेमिङ होस्, मित्रता होस्, प्रेम होस् अथवा ब्रेकअप सबै कुरा स्मार्टफोन मार्फत गर्न सकिन्छ।

यसले मानिसको बानीमा पनि परिवर्तन ल्याएको छ। ३ घण्टा लामो फिल्म हेर्न तयार हुने हामी हिजोआजे सामाजिक सञ्जालमा ३० सेकेन्डको रिल हेरिरहेका छौँ। मनोरञ्जनका लागि लघुकथा र प्रचलनका भिडिओहरू हेर्नु केही हदसम्म ठिक भए पनि अहिले मानिसले यसलाई ज्ञान उपभोगको माध्यम मान्न थालेका छन्। जसले जोखिम पनि निम्त्याइरहेको छ।

हरेक कुराको जानकारी युट्युब सर्ट्स, इन्स्टाग्राम र टिकटकमै भेटिन्छन्। त्यसमध्ये पनि पछिल्लो समय सबैभन्दा लोकप्रिय भएको छ छोटा रिल भिडियोहरू। स्वास्थ्य विज्ञानको व्याख्या गर्दै आहार र पोषणको बारेमा जानकारी दिने विशेषज्ञहरू पनि यिनै प्लेटफर्ममा भेटिन्छन्। आम मानिसले यसलाई सुनिरहेका छन् र त्यही अनुसार आफ्नो जीवनमा लागू गर्ने प्रयत्न पनि गरिरहेका हुन्छन्। तर, सामाजिक सञ्जाल मार्फत हरेक जानकारी दिइरहेका ती व्यक्ति उक्त विषयका विशेषज्ञ हुन् कि होइनन् भन्ने परीक्षण गर्नु पर्छ। 

‘माइ फिटनेस पाल’ र ‘डब्लिन सिटी युनिभर्सिटी’ले हालै गरेको संयुक्त अध्ययन अनुसार ५७ प्रयोगकर्ताले सामाजिक सञ्जाल रिलहरूमा पोषणका बारेमा दिइएका जानकारीलाई सत्य मान्दै आफ्नो जीवनमा लागू गरिरहेको देखाएको छ। 

अध्ययनले यो पनि देखाएको छ– रिलहरूमा आएका पोषण सम्बन्धी भिडिओमा २ प्रतिशतले मात्रै सही जानकारी दिइरहेका छन्। अर्थात ९८ प्रतिशत जानकारी गलत वा बढाइचढाइ छन्। जसलाई हामी आँखा चिम्लिएर अनुसरण गरिरहेका छौँ।

के सबैले एउटै आहार योजना पालना गर्न सक्छन्? यी स्वास्थ्य र पोषण भिडिओहरू कत्तिको खतरनाक हुन सक्छन्? यी प्रश्नको जवाफमा वरिष्ठ आहारविद् डा. अनु अग्रवाल भन्छिन्, ‘प्रत्येक व्यक्तिको शरीरलाई अलगअलग पोषण आवश्यकता हुन्छ। त्यसैले, सबैले एउटै आहार पालन गर्न सक्दैनन्। फलफूल र तरकारीहरू खाने वा अतिप्रशोधित खाना नखानेजस्ता केही कुराहरू सामान्य रूपमा सबैलाई लागू हुन सक्छन्। तर यसबाहेक, प्रत्येक शरीरको आफ्नै विशिष्ट आवश्यकताहरू छन्, जुन धेरै आन्तरिक र बाह्य कारकहरूद्वारा निर्धारण गरिन्छ।’

अग्रवालका अनुसार दुई व्यक्तिको तौल एउटै छ तर उचाइ र लिङ्ग फरक छ भने उनीहरूको बीएमआई फरक हुन्छ। त्यसैले दुवैको डाइट प्लान छुट्टाछुट्टै बनाउनुपर्छ। 

दुई व्यक्तिको गतिविधि स्तर फरक हुन सक्छ। घर अथवा अफिसमै बसेर काम गर्ने र फिल्डमा खटेर काम गर्ने मानिसलाई फरकफरक डाइट चार्ट बनाउन डा. अग्रवालको सुझाव छ। डा. अग्रवालका अनुसार कतिपय मानिसलाई खानाविशेषको एलर्जी हुन्छ। सामाजिक सञ्जालमा दिइएका डाइट प्लान फलो गर्दा त्यस्ता व्यक्तिलाई पनि असर गर्छ।

भाइरल हुने डाइट प्लान खतरनाक 
डाइट प्लानहरू हरेक दिन सोसल मिडियामा भाइरल हुन्छन्। संसारभरका अधिकांश मानिसहरू आफ्नो तौललाई लिएर चिन्तित हुने भएकाले तिनीहरूमध्ये धेरै तौल घटाउने योजनामा हुन्छन्। सामाजिक सञ्जालमा स्क्रोल गर्दा तौल घटाउने थुप्रै तरिका र डाइटका बारेमा बताइएका भिडिओ भेटिन्छन्। तर, संसारका हरेक तौल घटाउने व्यक्तिले एउटै आहार पालना गर्नु नहुने डा. अग्रवालको भनाइ छ। 

उनी भन्छिन्, ‘यो पनि उसको उमेर, लिङ्ग, कामको प्रकृति, स्वास्थ्य अवस्था आदिलाई हेरेर कुन आहार प्रयोग गर्नु पर्छ भन्ने योजना बनाउनु पर्छ।’ 

तर सामाजिक सञ्जाल रिलहरूले त्यस्ता विस्तृत रूपमा चीजहरू व्याख्या गर्दैनन्। र अर्को कुरा, व्याख्या गर्ने व्यक्तिहरूमध्ये ९८ प्रतिशत त्यस विषयका विज्ञ समेत नभएको अध्ययनले देखाएको छ। डा.अनु अग्रवाल यी योजनालाई आँखा चिम्लिएर पछ्याउन नहुने बताउँछिन्।

जो कोहीले कुनै पनि विषयमा विज्ञ बनेर सामाजिक सञ्जालमा ज्ञान दिइरहेका छन्। विचार नगरी यसलाई पछ्याउने मानिसहरूले धेरै कठिनाइहरूको सामना समेत गर्नु परेको छ। भाइरलको यो युगमा मानिसहरूले ट्रेन्डिङ विषयहरूमा बकवास भिडिओहरू अपलोड गरिरहेका छन्। सामान्य कुराहरूको अनुसरण गरे पनि जब कुनै कुरा स्वास्थ्यसँग जोडिन्छ, तब तिनीहरूबाट बच्नु महत्वपूर्ण हुन जान्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .