ad ad

जीवनशैली


यी हुन् बर्खामा कान पाक्ने कारण र बच्ने उपाय

यी हुन् बर्खामा कान पाक्ने कारण र बच्ने उपाय

डा. आनन्द घिमिरे
साउन १२, २०८१ शनिबार ७:५०, काठमाडौँ

बर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ। बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो। कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ। 

बर्खा याममा मानिसहरु धेरै खेतबारीमा काम गर्ने गर्दछन्। उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्छ। यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन्। पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सनको सम्भावना बढी हुन्छ। कानको जाली फुटेको रहेछ भने त इन्फेक्सनको सम्भावना अझ बढी हुन्छ। 

पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ। बर्खाको समयमा कानका समस्याहरु आउने गरेका छन्। बच्चाहरुले ठूलो स्वरमा टीभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ। यस्तो अवस्थामा कानको जाँच गर्नुपर्छ। 

पछिल्लो समय ग्रान्डी अस्पतालमा कानसँगै नाकका बिरामी समेत बढी मात्रामा आउने गरेका छन्। नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरु यस अस्पतालमा आउने गरेका हुन्। घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन्।  

कानको रोगका लक्षण
– कान चिलाउने

– कान अत्यधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कान भित्रबाट पिप वा पानी बग्ने

अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने ग¥यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले बडले कान कोट्याउने गरेको पाइन्छ। यसरी अनावश्यक रुपमा औषधि, तेल वा कान कोट्याउँदा कानको जाली फुट्ने समस्या हुन्छ। 

उपचार विधि
कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककहाँ गएर देखाउनुपर्ने हुन्छ। कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ। यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ।

कसरी बच्ने?
– पौडी खेल्न जाँदा एयर प्लग लगाउने।
– पौडी खेल्दा कान छोप्ने।
– डाइभ भरसक नगर्ने।
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढंगले हटाउनुपर्छ। बडले कानेगुजी हटाउँदैन। बडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ। त्यसैले बडको प्रयोग नगर्नु राम्रो हुन्छ। 

कानले कानेगुजी आफैँ सफा हुने मेकानिजम बनाएको हुन्छ। कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफै फाल्छ। यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी छ।

(नाक, कान, घाँटी विशेषज्ञ डा. घिमिरे विगत १० वर्षदेखि ग्रान्डी अस्पतालमा कार्यरत छन्। उनी नाक, कान, घाँटी विभागको प्रमुख समेत हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .