ad ad

जीवनशैली


यसकारण जरुरी छ आफैँलाई माया गर्न, आफूप्रतिको धारणा बदल्ने ७ तरिका

यसकारण जरुरी छ आफैँलाई माया गर्न, आफूप्रतिको धारणा बदल्ने ७ तरिका

नेपालखबर
भदौ २३, २०८१ आइतबार २०:२३,

हरेक व्यक्ति जीवनमा सफल बन्न चाहन्छ। तर, सफलता सबैले प्राप्त गर्दैनन्। उसोभए सफलता र असफलताबीच केको अन्तर हुन्छ? 

मनोविज्ञानको क्षेत्रमा भने व्यक्तिले आफैँप्रति राख्ने रायलाई एउटा महत्त्वपूर्ण कडी मान्ने गरिन्छ। जसले उसलाई सफल वा असफल बनाउँछ।

हुन पनि कुनै व्यक्ति आफ्नै नजरमा गिरेको छ भने वा उसलाई आफ्नो क्षमतामाथि भरोसा नै छैन भने उसले राम्रो गर्न सक्ने कुरै भएन। तसर्थ अधिकांश ‘मोटिभेसनल स्पिकरहरू’ स्व–प्रेमको कुरा गर्छन्। आफूलाई सकारात्मक ढंगले हेर्न सल्लाह दिन्छन्।

यो शारीरिक र मानसिक स्वास्थ्यसँग पनि जोडिएको कुरा हो। जो व्यक्ति आफ्नो आवश्यकता र सपनाप्रति ज्यादा प्रतिबद्ध हुन्छ, जो अरुलाई खुसी पार्न आफूसँग सम्झौता गर्दैन, जो दुनियाँसामु आफूलाई साबित गर्नभन्दा आफ्नो नजरमा राम्रो बन्ने कोसिस गर्छ, त्यस्ता व्यक्ति बढी सफल हुने तिनको तर्क हुन्छ।

कसरी बन्ने त आफ्नै नजरमा राम्रो? ‘हाउ टु फिल गुड अबाउट योरसेल्फ’ पुस्तकका लेखक क्रिस्टोफर एबी यी सुझाव दिन्छन् :

सकारात्मक सोच
जहाँसम्म सम्भव हुन्छ, आफ्नो बारेमा सकारात्मक सोच राख्नुपर्छ। आफ्नो कमजोरीमा होइन, सबलतामा ध्यान केन्द्रित गर्नुपर्छ। म के के गर्न सक्दिनँ भनेर होइन, के के गर्न सक्छु भनेर सोच्नु पर्छ।

आफ्नो आलोचक आफैँ बन्ने
हामीप्रति चिन्नेजान्ने हरेक मान्छेको आआफ्नै धारणा हुन्छ। कोही राम्रो मान्लान्, कोही नराम्रो। त्यस्तोमा अरुको धारणालाई केन्द्रमा राख्दा तपाईंलाई असहज लाग्न सक्छ। 

त्यसको सट्टा आफ्नो आलोचक आफैँ बन्नुभयो भने तपाईंलाई आत्मबल र सही दिशा दुवै प्राप्त हुनसक्छ।

आफ्नो आवश्यकताप्रति सजग बन्नुहोस्
आफूलाई प्रेम गर्नका लागि पहिलो सर्त शारीरिक र मानसिक हिसाबले स्वस्थ रहनु। त्यसैले यसलाई पहिलो प्राथमिकता दिनुपर्छ। तन र मनलाई जे आवश्यक छ, त्यो पूर्ति गर्नु पर्दछ।

सकारात्मक सम्बन्धमा रहनुहोस्
नकारात्मक माहौलले व्यक्तिको क्षमता र आत्मबलमा असर पार्न सक्छ। त्यसैले नकारात्मक मानिससँग दूरी राख्ने कोसिस गर्नुहोस्। यो आफैँप्रतिको धारणा सकारात्मक बनाउने निकै प्रभावकारी कदम हो। 

आफूलाई माफ गर्नुहोस् 
हामीमध्ये कतिपय मानिस आफ्नो कुनै गल्तीलाई जिन्दगीभरि काँधमा बोकेर हिँड्ने गर्छौं। त्यही बोझले थिचिन्छौँ र आफ्नो अगाडिको मौका देख्दैनौँ।

यस्तो स्थितिबाट बच्न आफूलाई माफ गर्न सक्नुपर्छ र गल्ती सुधारेर अघि बढ्न सक्नुपर्छ।

सधैँ सिक्ने इच्छा 
आफूप्रति सधैँ सकारात्मक रहन सिक्ने र सुधार गर्ने इच्छा हुनुपर्छ। यसले तपाईंको सीप तथा कौशल विकासलाई पनि टेवा पुर्‍याउँछ।

आफैँसँग संवाद
आफूप्रति सकारात्मक हुन र आफूलाई प्रेम गर्नका लागि पहिलो सर्त हो– आफूलाई बुझ्नु। यसका लागि आफ्ना सबलता र कमजोरी खुट्याउन सक्नुपर्छ। आफूलाई मन पर्ने र नपर्ने कुरा पनि छुट्याउनुपर्छ। 

त्यसका लागि आफैँसँग निरन्तर संवादमा रहनुपर्छ। 

तर, ध्यान दिनुपर्ने कुरा के हो भने कतिपय मानिसहरू आफूलाई प्रेम गर्ने नाममा आत्ममुग्धताको जालमा फस्न पुग्छन्। त्यस्ता मान्छेले आफ्नो कमजोरी देख्न छाड्छन्। तिनले आफूलाई सुधार्न सक्दैनन्। उनीहरूमा अरूप्रति नकारात्मक धारणा मात्र हुन्छ भने आफूले जे गरे पनि ठिक भन्न थाल्छन्। जसले सम्बन्ध, करिअर र स्वास्थ्यमा पनि असर पार्न सक्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .