ad ad

जीवनशैली


फोन हेरिरहनुपर्ने आदतले हैरान हुनुहुन्छ? अपनाउनुस् यी ५ तरिका

फोन हेरिरहनुपर्ने आदतले हैरान हुनुहुन्छ? अपनाउनुस् यी ५ तरिका

नेपालखबर
भदौ ६, २०८१ बिहिबार ६:२५,

तपाईं कुनै काममा लाग्नुभएको छ। अचानक फोन हेर्न मन लाग्छ। नोटिफिकेसनको ताँती देख्नुहुन्छ। सबैथोक हेर्दाहेर्दै समय बित्छ। गर्दै गरेको काममा अलमल हुन्छ। फेरि उसैगरी ध्यान केन्द्रित गर्न सक्नुहुन्न।

हामी सबै यस्तो समस्याबाट गुज्रिएका छौँ। स्मार्टफोन हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेको छ। तर, यो वरदान मात्र होइन, श्राप पनि बन्न सक्छ। 

कतिपयलाई त फोन चलाउने लत नै लागिसकेको हुन्छ। हामी कति महत्त्वपूर्ण छलफल, बैठक वा काम गरिरहेका बेला पनि फोन स्क्रोल गरिरहेका हुन्छौँ। यसले सामुन्नेको मान्छेलाई त झोँक चलाउँछ नै, हाम्रो आफ्नै उत्पादकत्वमा पनि असर पार्छ।

त्यसैले कामको समयमा फोनले गर्ने बाधा कम गर्न निम्न उपाय अपनाउन सकिन्छ :

नियम बनाउनुहोस्
आफ्नो लागि नियम बनाउनु र पालना गर्नु बहुतै झञ्झटिलो काम हो। तर, यो प्रभावकारी भने हुन्छ। आदत कम गर्न कुन बेला चलाउँदा फरक पर्दैन र कुन बेला चलाउन पाइँदैन भन्ने नियम बनाउनुहोस्।

उदाहरणका लागि खाना वा खाजा खाँदै गर्दा फोन हेर्न सकिन्छ। तर, बैठकमा वा कुनै काम सक्छु भनेर थालेपछि बीचमा फोन हेर्नु स्वीकार्य हुँदैन। 

यस्तो नियम बनाएर पालना गर्ने हो भने तपाईंले पर्याप्त समय फोन हेर्न सक्नुहुन्छ भने काममा पनि त्यति धेरै बाधा पर्दैन।

नोटिफिकेसन बन्द गर्नुहोस्
नोटिफिकेसनले तपाईंको ध्यान फोनतर्फ खिच्ने गर्छ। फोनले कम बाधा गरोस् भन्ने चाहनुहुन्छ भने सामाजिक सञ्जाल, गेम र अन्य एपको नोटिफिकेसन अफ गर्नुहोस्। 

डु नट डिस्टर्ब’ मोड
अधिकांश फोनमा डु नट डिस्टर्ब (डीएनडी) मोड हुने गर्छ। कामको समयमा यो फिचर प्रयोग गर्नाले तपाईंलाई कल, मेसेज र नोटिफिकेसन आउँदैन। जसले तपाईंको कामको लय बिग्रिन दिँदैन। 

एपको प्रयोग
तपाईंलाई थाहा नहुनसक्छ, तर, फोन र एपको लतबाट छुटकारा दिलाउने एप पनि छन्। फरेस्ट, फ्रिडम र मोमेन्टजस्ता एपले तपाईंको ध्यान भंग गर्ने वेबसाइट र एपहरूलाई ब्लक गर्न सक्छ। जसका कारण फोन बिसाउन अलि सजिलो हुन सक्छ।

फोन नदेखिने ठाउँमा राख्नुहोस्
आँखाले नदेखेपछि दिमागले पनि माग्दैन। सबै कुरामा लागू नहोला, तर फोनमा अवश्य लागू हुन्छ। 

फोन ड्रअर, झोला वा अर्को कोठामा राख्नाले निरन्तर हेरिरहनुपर्ने आदतबाट छुटकारा पाउन सजिलो हुन्छ।

फोन हेर्नलाई उठेर अर्को कोठा पुग्नुपर्ने झञ्झटले अनावश्यक फोन स्क्रोल गर्नबाट जोगाएर तपाईंको अमूल्य समयलाई काममा खर्चिन सघाउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .