बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले जोसुकै उम्मेदवारहरूलाई सुनाउँछन्।
पटक पटक निर्वाचित भएर गएका जनप्रतिनिधिले क्षेत्रलाई बेवास्ता गरेको भन्दै नागरिकका आधारभूत आवश्यकताका मुद्दा बुझेको नेतालाई मात्रै उनीहरू यो पटक भोट हाल्ने बारेमा उम्मेदवारलाई सुनाउँदै थिए।
आफ्ना कार्यकर्ता भेटघाटको क्रममा शुक्रबार बिहानै बूढीगंगा गाउँपालिका वडा नम्बर ६ स्थित बहुराहा पुगेका मोरङ क्षेत्र नम्बर ६ का एमालेका उम्मेदवार विनोद ढकाललाई त्यहाँका मतदाताले स्थानीय आवश्यकता बुझ्न सुझाव दिए।
ढकालसँग स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणबीच भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित सवाल उठाइएको जानकारी दिए। सहभागीहरूले स्थानीय आवश्यकता र समस्यालाई नीति तथा योजनामार्फत समाधान खोजिनुपर्नेमा जोड दिए।
यस निर्वाचन क्षेत्रबाट यसअघि नेपाली काग्रेसका नेता शेखर कोइरालालाई जिताएको स्मरण गर्दै मतदाताले नागरिकका सामान्य समस्या समेत नबुझेको बताए। मतदाताले सँधै भेटिने उम्मेदवार स्थानीयको आवश्यकता भएको बताए।
अन्तरक्रियामा उम्मेदवार ढकालले जनताको आवाज नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे।
ढकालले बूढीगंगा क्षेत्रको समग्र विकासका लागि स्थानीय आवश्यकता अनुसार कार्यक्रम अघि बढाइने स्पष्ट पारे। करिब ४० वर्षदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै जनताले चाहेको बेलामा सजिलै भेटघाट गर्न सकिने र जनतासँग निरन्तर जोडिने आफ्नो स्वाभाव भएको बताए।
यसअघि लालबाबु पण्डित निर्वाचित भएर गएको बेलामा क्षेत्रमा केही कामहरु भएपनि पछिल्ला बर्षहरुमा कुनैपनि काम संघीय बजेटबाट हुन नसकेको उनीहरुको भनाई थियो।
स्थानीयवासीका अनुसार, बौराहाका अधिकांश भित्री सडक कच्ची रहेकाले वर्षा याममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ। नाली, सडक बत्ती र पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ। सुरक्षित खानेपानी सबै घरधुरीमा सहज रूपमा नपुग्दा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको छ।
स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो। नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।
कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ। उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन्।
शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिन्छ। ढकालले बौराहाको समग्र विकासका लागि स्पष्ट योजना अघि सारिने बताएका थिए। एमालेले कार्यकर्ता भेटभाटका कममा लालबाबु पण्डितको कार्यकालमा बनेको सडक पूर्वाधार देखाउँदै अब चुनाव जित्ने बताउँदै आएको छ।
बूढीगंगाका एमाले नेता सत्यनारायण चौधरीले लालबाबुको बालामा बुढीगंगाले विकासमा काँचुली फेरेकोले अबका दिनहरुमा पनि मतदाताको अपेक्षा त्यस्तै देखिएको बताए।

प्रतिक्रिया