कोशी


ऋण उठाउन गएका सहकारीका कर्मचारीमाथि दुर्व्यवहार

ऋण उठाउन गएका सहकारीका कर्मचारीमाथि दुर्व्यवहार

नेपालखबर
असार ३०, २०८२ सोमबार १९:५३, विराटनगर

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारको कडा विरोध जनाएको छ।

संस्थाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु र माया मगरले मधुमल्ला सेवा केन्द्रका कर्मचारीलाई दुर्व्यवहार गरेको उल्लेख गरिएको छ।

मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बिकमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउनेजस्तो अशोभनीय व्यवहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुर्गामाया लिम्बु नैनप्रसाद लिम्बुकी छोरी हुन् भने माया मगर चन्द्रलाल मगरकी पत्नी हुन्। यी व्यक्तिहरूले ऋण असुलीको सिलसिलामा कर्मचारीहरू उनीहरूको घरमा पुग्दा तीव्र विरोध गर्दै आइतबार दिउँसो अमर्यादित आचरण गरेको सहकारी संस्थाले जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

‘कर्मचारीहरूको आत्मसम्मानलाई ख्याल नगरी गरिएको यस्तो हर्कतले मनोबल गिराउने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता दुर्व्यवहार दोहोरिन नदिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

सहकारीले वित्तीय कारोबारलाई स्वस्थ एवं मर्यादित राख्न सबैलाई जिम्मेवार बन्न पनि आग्रह गरेको छ।

उक्त घटनालाई लिएर एकीकृत कर्मचारी सङ्गठन सहारा नेपाल साकोसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थामा कर्मनिष्ठ भई कार्य सम्पादन गर्ने क्रममा यस प्रकारको निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय दुर्व्यवहार प्रति सम्पूर्ण कर्मचारी परिवारले दुःख व्यक्त गर्दै घोर भर्त्सना गरेका छन्। 

जारी विज्ञप्तिमा एकीकृत कर्मचारी सङ्गठन सहारा नेपाल साकोसका अध्यक्ष यादवप्रसाद घिमिरेले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडिओ सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको लागि प्रशासन समक्ष जोडदार माग गरिएको छ।

सहकारीका कर्मचारीमाथि जुत्ताको माला लगाउने, कालोमोसो दल्ने प्रयास गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दर्ता भएको सहारा नेपालले जनाएको छ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय मोरङले घटना बारेमा छानबिन सुरु भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जाहेरी दर्ता भइसकेकोले उनीहरूलाई अभद्र व्यवहारमा पक्राउ गरी कारबाही हुने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad