कोशी


कोसीमा १०० सामुदायिक विद्यालयमा डिजिटल बोर्डमार्फत सिकाइ

कोसीमा १०० सामुदायिक विद्यालयमा डिजिटल बोर्डमार्फत सिकाइ

नेपालखबर
असार १, २०८३ सोमबार १८:५२, विराटनगर

कोसी प्रदेश सरकारले शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको उपयोगलाई बढावा दिँदै कोसी प्रदेशका १०० वटा सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री सिकाइको थालनी गरिने भएको छ।

आगामी आर्थिक वर्षको बजेटमा यी विद्यालयहरूमा डिजिटल बोर्डसहितका आधुनिक शैक्षिक सामग्री जडान गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन प्रदेश सरकारले १० करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ। ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्नको लागि सरकारले बजेटमा व्यवस्था गरेको हो।

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत शिक्षा, युवा स्वरोजगार र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रविधिमैत्री शिक्षाको विस्तारसँगै सरकारले प्राविधिक धारका विद्यालयहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्न प्राथमिकताका आधारमा अनुदान उपलब्ध गराउने नीति समेत अघि सारेको छ।

प्राविधिक शिक्षातर्फ विद्यार्थी तथा युवा वर्गको आकर्षण बढाउने उद्देश्यका साथ विगतदेखि सञ्चालनमा रहेको पढ्दै कमाउँदै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिनको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक ममिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।

बजेटमा रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि प्रदेश सरकारले बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई लक्षित गरी उनीहरूको सीप पहिचान र विकास गर्ने, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र नयाँ उद्यम सञ्चालनमा सहयोग पुर्‍याउने भनिएको छ। यस कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका ४४ वटा स्थानीय तहसँग लागत साझेदारीका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

यसै गरी स्वदेशमै श्रम बजारको आवश्यकता र माग अनुसारको दक्ष तथा सीपयुक्त जनशक्ति तयार गर्न युवाहरूलाई कार्यस्थलमै आधारित औद्योगिक शिक्षार्थी तालिम सञ्चालन गरिने भएको छ। यसका लागि ४ करोड ५० लाख छुट्याईएको छ। यसबाट प्रदेशका करिब ६०० युवाहरूले प्रत्यक्ष रूपमा सीपमूलक र व्यावसायिक तालिमको अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad