कोसीका पत्रकारले सरकारले उपलब्ध गराउने विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक ढंगले उपलब्ध गराउन माग गरेका छन्।
नेपाल पत्रकार महासंघ कोसीको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराइएको हो।
पत्रकारले संघीय सरकारले परिपत्र गरी सरकारी विज्ञापन प्रकाशन र प्रसारणमा रोक लगाउँदा त्यसले स्वरोजगारमूलक सञ्चारसंस्था धराशायी बनेको बताए।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारको निर्णय गलत भएको भन्दै सच्याउन माग गरे।
महासंघ कोसीका अध्यक्ष भरत खड्काले प्रदेशका विज्ञापन प्रदेशकै मिडियालाई दिन माग गरे । उनले भने,`प्रदेश सञ्चार प्रतिष्ठान यथासक्य चाँडो गठन गरी सञ्चारमाध्यम र पत्रकारका समस्या समाधान गर्न माग गर्दछौँ।´
अध्यक्ष खड्काले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएर आमसञ्चारमाध्यम र पत्रकारका समस्या समाधानमा पहल गर्न माग गरे। मुख्यमन्त्री कार्कीले पत्रकारका समस्याका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए।
Shares

प्रतिक्रिया