मोरङको विराटनगरमा प्रहरीको नाउँमा शरिर बन्धक बनाई डकैती गर्ने समूहका २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समिर हुसेन र विराटनगर-६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।
असार ११ गते बिहान ११ः १५ बजे विराटनगर-१५ का २० वर्षीय बिक्रमकुमार साह तेली ३ लाख ६४ हजार रकम लिएर बैंकमा जम्मा गर्नजाँदै थिए।
सिटी सफारीमा जाँदै गर्दा विराटनगर रानीस्थित राइस मिल छेउमा रातो स्कुटरमा आएका ३ जना अपरिचित व्यक्तिले आफूहरू मोरङ प्रहरीले खटिएको भन्दै उनलाई जबरजस्ती स्कुटरमा राखेर विराटनगर-१४ स्थित एकान्त ठाउँमा पुर्याएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
डिएसपी चुडालका अनुसार, ती व्यक्तिहरूले साहलाई डरत्रास देखाई साथमा रहेको रकम लुटेर फरार भएका थिए। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटरसहित दुईजनालाई असार १५ गते पक्राउ गरेको जनाएको छ।
उनीहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद लिई शरिर बन्धक बनाई डकैती गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रनाउ चुडालले जानकारी दिइन्।
Shares

प्रतिक्रिया