राजनीति


१५औं महाधिवेशनको मिति तोकौँ: नैनसिंह महर

१५औं महाधिवेशनको मिति तोकौँ: नैनसिंह महर

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८२ सोमबार १८:५३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्। आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा महरले महाधिवेशन मिति तोकेर तल्लो तहसम्म कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गरेका हुन्।   

'महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,' उनले भने।  

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले सुझाव र रणनीति पेस गरेका थिए। 

नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। उनले क्रियाशील सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाव दिए।

लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए।

उनले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै भने, 'संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन। सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ।'

महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए। 

सरकार निर्माणताका भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भने, 'सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।'

उनले बढ्दो बाम धुर्वीकरण र गठबन्धन दुर्घटनाको जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिए। 

नेता महरले शासन राम्रो हुन दल र नेता-कार्यकर्ता इमान्दार हुनुपर्ने बताउँदै पार्टीभित्र स्वार्थको द्वन्द्वसम्बन्धी नीति बनाउन माग गरे।  

१४ औं महाधिवेशनका एजेण्डा र महासमिति बैठकका प्रतिवेदनहरू सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, उपनिर्वाचनको समीक्षा गर्नुपर्ने र पार्टीको घोषणापत्र कार्यान्वयनको अडिट गर्नुपर्ने जस्ता विषयहरू पनि उनले बैठकमा उठाए। 

महरले नेपाल सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी  निवारणसम्बन्धी मामिलामा अन्तर्राष्ट्रिय 'ग्रे जोन'मा पर्ने गम्भीर खतरा रहेको भन्दै पार्टी र सरकारको गम्भीर ध्यानाकर्षण गराए।  

उनले यसले देशको समग्र अर्थतन्त्र, बैंकिङ प्रणाली, विदेशी लगानी र अन्तर्राष्ट्रिय प्रतिष्ठामा विनाशकारी असर पार्ने चेतावनी दिए। 'नेपाल वित्तीय 'ग्रे जोन'मा परेको छ। आवश्यक कानुन निर्माण र कार्यान्वयनमा सरकार सुस्त देखिएको छ,' उनले भने, 'नेपाली कांग्रेस सत्ताको प्रमुख हिस्सेदार भएको नाताले यो राष्ट्रिय संकट टार्नका लागि नेतृत्व लिनुपर्छ।'

उनले यो अस्पष्टता र जोखिमलाई हटाउन कांग्रेसले अविलम्ब प्रतिबद्धता जनाउँदै सरकारलाई ठोस कदम चाल्न दबाब दिनुपर्ने र आवश्यक परेमा यसको अध्ययन गरी पार्टीको आधिकारिक धारणा बनाउन एक विशेष समिति गठन गर्नुपर्नेमा जोड दिए। 

शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन जस्ता विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने, कुटनीतिक मर्यादा र आचारसंहिता पालना गर्नुपर्ने र विदेशबाट फर्किएका (रिटर्नी) हरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने जस्ता विषयमा उनले नेतृत्वको ध्यानाकर्षण गराए। 

समग्रमा, केन्द्रीय सदस्य महरले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण, सरकारको कामकारबाहीको गम्भीर समीक्षा, आगामी महाधिवेशनको स्पष्ट मार्गचित्र र पार्टीका सबै तहमा जवाफदेहिता स्थापित गर्नुपर्ने ,घोषणा पत्रको अडिटको विषयलाई समेत सशक्त रूपमा प्रस्तुत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad