कोशी


महालक्ष्मीमा नगरभित्रका निजी विद्यालय बन्द, बाहिरका स्कुल बस प्रवेशमा रोक

महालक्ष्मीमा नगरभित्रका निजी विद्यालय बन्द, बाहिरका स्कुल बस प्रवेशमा रोक

नगरप्रमुख ध्रुवराज राया र नगरपालिकाको सूचना


सुमन सुस्केरा
बैशाख ८, २०८२ सोमबार २०:४३, विराटनगर (मोरङ)

कुनै पनि स्थानीय सरकारले निजी विद्यालयका सवारी साधन आफ्नो क्षेत्रभित्र सञ्चालन गर्न रोक लगाएको सूचना प्रकाशित गर्दा तपाईँलाई अचम्म लाग्न सक्छ। तर, धनकुटाको एउटा स्थानीय तहले निजी विद्यालयका सवारी साधनहरू प्रवेश गर्न रोक लगाएको छ। त्यो हो, महालक्ष्मी नगरपालिका।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै महालक्ष्मी नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर निजी विद्यालयका सवारी साधनलाई प्रवेशमा रोक लगाएको हो। नगरपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकालाई सुलभ तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले निजी विद्यालयका सवारी साधनलाई पालिका प्रवेश गर्न नदिने गरी रोक लगाउने निर्णय गरेको नगरप्रमुख ध्रुवराज रायाले जानकारी दिए।

नगर प्रमुख रायाका अनुसार अभिभावक तथा सरोकारवालाहरूसँगको छलफल र समन्वयबाट उक्त निर्णय गरिएको हो।

रायाले नगरभित्र निजी विद्यालयसमेत बन्द गरिएको उल्लेख  गरेका छन्।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८२ मा अन्य पालिका र नगरपालिकाबाट निजी विद्यालयका सवारी साधन प्रवेश गरेको गुनासो बढेपछि बन्देज गरिएको छ।’

महालक्ष्मी नगरपालिका क्षेत्रभित्र लेगुवा बजारमा मात्र निजी विद्यालय सञ्चालनमा रहेको पालिकाले जनाएको छ। पालिका आफैले भने निजी विद्यालय बन्द गरिसकेको र छिमेकी पालिकामा सञ्चालनमा रहेका निजी विद्यालयहरूले विद्यार्थी ओसारपसार गर्ने क्रम बढेपछि त्यसलाई समेत बन्देज गरिएको प्रमुख रायाले जानकारी दिए।

उनका अनुसार, दुई वर्षको अवधिमा महालक्ष्मीभित्रका तीनवटा विद्यालय बन्द गराइएको छ। लेगुवामा रहेको एउटा निजी विद्यालयलाई समेत बन्द गर्ने अन्तिम तयारीमा पुगेको उनले बताए।

धनकुटा नगरपालिकामा अहिले ४७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। ती सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिकाले समेत अभियानका रूपमा निर्णयहरू गरेर अंग्रेजी माध्यम, डिजिटल डिस्प्ले बोर्ड, आइटी ल्याब लगायतका कार्यक्रमहरू सञ्चालन गरेको  जनाएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरूलाई प्रशिक्षण, तालिम, प्रोत्साहन लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको शिक्षा समितिको संयोजकसमेत रहेका मेयर राया बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad