ताप्लेजुङको मुकुमलुङ पाथिभरा केबलकारको विषयलाई लिएर लामो समयदेखि ताप्लेजुङ क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको छ।
लामो समय कोभिडले थलिएको व्यापार व्यवसाय पछिल्लो दुई वर्षदेखि चलायमान हुँदै आएको थियो। तर विगत केही महिनादेखिको मुकुमलुङ आन्दोलन तथा पाथिभरामा केबलकार बन्ने वा नबन्ने भन्ने विषयसँगै विवाद सिर्जना भएपछि आउने पर्यटकहरु पनि घटेको तथा व्यापार समेत नभएको स्थानीय व्यवसायी बताउँछन्।
ताप्लेजुङका व्यवसायीका अनुसार पछिल्लो एक वर्षदेखि गतिविधि सुस्ताएको छ। ताप्लेजुङमा पाथिभरा कोसेलीघर सञ्चालन गर्दै आएकी विष्णु श्रेष्ठले पछिल्ला महिनाहरू व्यापारका लागि निकै असहज भएको बताइन्। हरेक दिन हुने आन्दोलनले त्यसबाट व्यवसाय प्रभावित भएको बताइन्।

आएका पर्यटकहरु कसरी हुन्छ चाँडै दर्शन गरेर फर्किने मनस्थितिका साथ आउने भएका कारण व्यापार हुन नसकेको नको भनाइ छ। ‘हाम्रा लागि यो वर्ष व्यापार नभएको वर्षको रुपमा लिएका छौं,’ उनले भनिन्, ‘यस्तै अवस्था रहिरहने हो भने व्यापार चलाउन निकै मुस्किल हुने देखेका छौं।’
आएका पर्यटकहरू ताप्लेजुङ नपसी सिधै पाथिभराबाट फर्कनमै केन्द्रित हुने भएका कारण व्यापार हुन नसकेको उनको बुझाई छ।
ताप्लेजुङ कोसेली घरका सञ्चालक ललित गुरुङले व्यवसाय सुरु गरेको ११ वर्ष भयो। उनले पनि यो वर्ष व्यापार निकै घटेको सुनाए। ‘टिक्नै मुस्किल पर्ने अवस्था आयो,’ उनले भने, ‘लामो समयदेखि राम्रो व्यापार गर्न सकिएको छैन।’
मुकुमलुङ केवलकारको आन्दोलनले गर्दा व्यवसाय खस्किएको छ। साना व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका साना व्यवसायीहरूलाई आन्दोलनले प्रत्यक्ष असर पारेको देखिन्छ। व्यवसाय गर्दै आएकाहरू अहिले अलमलमा देखिएका छन्।
१२ महिना नै पर्यटक आइरहने पाथिभरा क्षेत्रमा पर्यटक घटेसँगै ताप्लेजुङका सबै व्यवसाय घटेको व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकसँगै आन्तरिक पर्यटक समेत घट्दा त्यसको असर समग्र क्षेत्रमा उनीहरुको भनाइ छ।
Shares

प्रतिक्रिया