विराटनगरको एलिट क्लबमा आइतबार निक्कै चहलपहल थियो। क्लब ६६ वर्ष पुगेको उपलक्ष्यमा कोसीका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि बोलाइएको थियो। त्यस अवसरमा एलिट जर्नल समेत सार्वजनिक गरियो।
उमेर पुगेका पाका पुस्ता, विचारमा तेज अनि नयाँ सोचका धनी व्यक्तिहरू हरेक शुक्रबार भेला हुने एलिट क्लबमा २०८१ को अन्तिम दिन आइतबार पनि उस्तै गरी मन्थनहरू भए। एक अर्काका कुरा मात्र भएनन्। आगामी दिनलाई ऊर्जावान बनाउने बारेमा पनि एक अर्काका कुरा सुनिए।
उमेरले ५० बिताइसकेका, कपाल फुलेका जस्ता लाग्ने यी व्यक्तित्वको विचारले एउटा उमेर पार गर्दै गरेको युवालाई जोस भर्दै थियो। यस्ता जोस नयाँ वर्ष, चाडबाड वा कुनै विशेष दिनमा मात्रै भर्ने काम हुँदैन्। यहाँका एलिटहरु भेला हुन्छन् र विचारलाई तेज बनाउने काम गर्छन्।
हरेक शुक्रबार सुन्ने र सुनाउने विषयमा केन्द्रित हुने भए पनि आइतबारलाई रम्ने र रमाउने गरी एलिटले वर्ष उत्सव मनाएको संस्थाका सदस्य प्रमिला थापाले जानकारी दिइन्। उनका अनुसार, एलिटको छुट्टै अभ्यास रहेको छ। विचार मन्थन गर्नकोलागि हरेक शुक्रबार ४ बजेदेखि झन्डै ८ बजेसम्म सबै खालका एलिट भेला भएर छलफल गर्छन्।

पछिल्ला केही दिनका उदाहरणलाई हेरौँ, अप्रिल ३ मा एलिट क्लबको साप्ताहिक बहसमा ‘नेपालको बदलिँदो राजनीतिक परिदृश्य र सम्भावनाहरू’ विषयमा छलफल भएको थियो। मार्च १६ मा प्राध्यापक आनन्द कुमारसँग ‘उदार लोकतन्त्रमा देखा परेको संकट र बदलिँदो विश्व व्यवस्था’ बारे रोचक र आलोचनात्मक चेतका साथ छलफल भए। यो कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रोफेसर आनन्द कुमारले आफ्ना प्रस्तुति राख्दै गर्दा सहभागीले त्यस बारेमा आलोचनात्मक विचार व्यक्त गरेका थिए।
त्यस्तै, गत सेप्टेम्बर ६ मा साप्ताहिक विमर्श अन्तरगत ‘राज्य शक्तिको बाँडफाँड र संविधान कार्यान्वयनको सन्दर्भ’ विषयक छलफल भएको थियो। प्रदेशका पूर्वमुख्यन्यायाधिक्ता वरिष्ठ अधिवक्ता चूडामणि आचार्यको प्रस्तुतिमा पूर्वअध्यक्षहरू महेन्द्रप्रसाद रिजाल, डा. भेषप्रसाद धमला, पूर्व महासचिव प्रा. कृष्ण पोखरेल, कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मालगायतले टिप्पणी गरेका थिए।
प्राध्यापक लोकराज बराल, कृष्ण खनाल, कृष्ण हाथेछु, एसडी मुनी, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले यसै वर्ष आफ्ना धारणाहरू विराटनगरको एलिट क्लबमा राखेका थिए।
यी प्रतिनिधिगत केही कार्यक्रम मात्रै हुन्। यस्ता विचार मन्थन हुन थालेको ६६ वर्ष पुगिसक्यो। यो एलिट क्लब खुलेको वि.सं. २०१५ साल देखि नै हो। साप्ताहिक विचार मन्थन भनेर फरक–फरक विचार जन्माउने मात्रै यहाँ हुँदैनन् विचारलाई कसिलगाउने पनि काम हुन्छ।
‘एलिट’भन्ने शब्दले समाज, राजनीति, अर्थतन्त्र वा अन्य कुनै क्षेत्रमा विशेष अधिकार, शक्ति, प्रभाव वा उच्च स्थान प्राप्त गरेका मानिसहरूलाई जनाउँछ छ। आर्थिक एलिटका रूपमा ठूला व्यापारी, उद्योगपतिहरू, राजनीतिक एलिट, शैक्षिक वा बौद्धिक एलिट अर्थात् प्राध्यापक, चिन्तकहरू तथा सांस्कृतिक वा सामाजिक एलिटहरुको जमघट हुन्छ।
यस्ता एलिटहरूलाई कहिलेकाहीँ शक्तिशाली वर्ग भनेर पनि बुझिन्छ। यिनै शक्तिमा पहुँच भएको बर्गले विराटनगरमा बसेर नयाँ विचार सिर्जना गर्छन् र बजारमा बहसको सिर्जना जन्माउने काम गर्छन्।
एलिट क्लब विराटनगरका महासचिव यज्ञ शर्मा यहाँ विचार उत्पादन गर्न हरेक शुक्रबार नियमित कार्यक्रम हुने गरेको बताउँछन्। ‘हरेक शुक्रबार समसामयिक विषयमा छलफल हुने गरेको छ’, उनले भने, ‘कहिले विषय केन्द्रित त कहिलेकाहीँ विषय नतोकी छलफल गर्ने गरिन्छ।’
कतिपय छलफलहरू व्यक्तिहरूलाई नै बोलाए पनि गर्ने गरिएको उनको भनाई छ। शर्माका अनुसार, वि.सं. २०१५ सालमा विश्वेश्वरप्रसाद कोइराला आम निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक विराटनगरमा आएर बोलेको स्मरण गरिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अहिलेसम्म सबै पूर्बप्रधानमन्त्रीहरु यहाँ आएर छलफलमा भाग लिएको उनीहरूको दाबी छ। उनीहरू यसलाई विचारको खोजी गर्ने थलोको रूपमा लिन्छन्।
एलिटको जन्म
एलिट क्लब विराटनगर नेपालको एक अग्रणी र प्रतिष्ठित बौद्धिक संस्था हो। विराटनगरका युवा शिक्षाविद्, समाजसेवी र राजनीतिक बुद्धिजीवीले सन् १९५८ अप्रिल १४ अर्थात् (वि.सं.२०१५ वैशाख १ गते) यो संस्था जन्माएका हुन्।
लामो समयदेखि वैचारिक बहस थलोको अभाव महसुस भइरहेको बेला स्थापित यस क्लबमा समयको क्रमसँगै विभिन्न क्षेत्रका अगुवा र बौद्धिक व्यक्तित्वहरू सामेल हुँदै गए। अहिले सबै विचार र सबै पेशाका व्यक्तिहरूको अगुवा नागरिक संस्थाको रूपमा एलिट क्लब रहेको त्यसका एक जना सदस्य डा. चन्द्र उपाध्याय बताउँछन्।
स्थापनादेखि नै यस क्लबले समसामयिक महत्वको विषयमा सेमिनार, कार्यशाला आदि सञ्चालन गर्नुका साथै राजनीतिक दलका शीर्ष नेता, चर्चित सामाजिक अगुवाहरू, शिक्षाविद्, मानव अधिकारकर्मी र नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने जस्ता प्राज्ञिक अभ्यास गर्दै आएको छ। लगभग चार कट्ठा क्षेत्रफल भएको जग्गामा यसको आफ्नै कार्यालय भवन छ।
वि.सं. २०१५ वैशाख १ गते क्लब स्थापना हुँदा सचिव शत्रुघ्नप्रसाद उपाध्याय थिए भने अन्य कार्यकारी सदस्यका रूपमा थिए। वि.सं.२०१८–२०१९ तिर अध्यक्ष डा.भरतराज वैद्य र सचिव राधाप्रसाद घिमिरे र अन्य कार्यकारी सदस्यका रूपमा थिए। एलिटको अहिले संरचना रहेको यो भवन त्यही कार्यकालमा बनाउन थालिएको थियो।
वि.सं. २०२९ मा अध्यक्ष डा. भरतराज वैद्य र सचिव आमोद प्रसाद उपाध्याय र अन्य कार्यकारी समितिमा सदस्य थिए। वि.सं. २०३७ तिर अध्यक्ष कृष्णबहादुर राउत, सचिव भरतमोहन अधिकारी र सदस्यमा आमोद प्रसाद उपाध्याय, शिवप्रसाद रिजाल र अन्य आए।

त्यसपछि करिब एक दशकसम्म क्लब निष्क्रिय रह्यो। क्लब प्रजातान्त्रिक विचारको पक्षमा खडा भयो। यो नागरिक संगठनका रूपमा चिनियो। तत्कालीन पञ्चायती शासनको विपक्षमा विचारहरू सिर्जना गर्ने काम त्यो बेलादेखि नै गर्दै आएको अनुभव संस्थाका पूर्वमहासचिव प्राध्यापक कृष्ण पोखरेलको छ।
पोखरेल भन्छन्, ‘वि.सं. २०४७ मा बहुदलीय प्रजातन्त्रको पुनः स्थापना भएपछि, एलिट क्लब पनि पुनः स्थापना भयो। त्यस बेलादेखि यसले विराटनगरको समाजमा एक प्रमुख नागरिक संगठनको रूपमा भूमिका निर्वाह गरिरहेको छ ।’
यो संस्था अन्तर दलीय रूपमा हिजोदेखि अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ। विचारको उत्पादन गर्ने यो संस्था २०३७ सालमा जनमत संग्रहको कोपभाजनमा परेको उनी सम्झन्छन्। संघ संस्था दर्ता ऐन् आए लगत्तै संस्था दर्ता गर्न लागिएको थियो। त्यस बेलामा दर्ता गर्न दिइएन्। त्यसपछि २०४७ सालमा आएर मात्रै संस्था दर्ता गरिएको उनले बताए।
संस्थाकपहरु मध्ये अहिलेसम्म दुई जना जीवित छन्। नारायण प्रसाद अर्जेल काठमाडौँमा छन् भने गोपाल प्रसाद शर्मा विराटनगर १० मा बस्छन्। यो बीचमा संस्थापकहरू शत्रुघ्नप्रसाद उपाध्याय, शैलेन्द्र उपाध्याय, जगतमोहन अधिकारी, डा. भीमप्रसाद श्रेष्ठ, राधाप्रसाद घिमिरे, तोरेन्द्रमान सिंह प्रधानहरूको निधन भइसकेको छ।
एलिट क्लबमा अहिलेको समितिमा विश्वनाथ रिजाल अध्यक्ष रहेका छन् भने महासचिव यज्ञ शर्मा, अर्थ सचिव मणि अर्ज्याल, सांस्कृतिक सचिवमा रुक्मिणि कोइराला तथा सदस्यहरूमा सुशिलकुमार झा, प्रमिला थापा, सोमराज थापा, लिलाबल्लभ घिमिरे र डिक घिमिरे रहेका छन्।
महासचिवले समग्र सञ्चालनको काम गर्छन् भने अर्थ सचिव र सांस्कृतिक सचिवको आर्थिक र संस्थागत काम गर्ने गरेको संस्थाले जनाएको छ।
Shares

प्रतिक्रिया