पर्यटन वर्षलाई लक्षित गर्दै कन्याम, श्रीअन्तु लगायतलाई बेवास्ता गरेको भन्दै इलामका पर्यटन व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्। इलामको फिकलका व्यवसायीले श्रीअन्तुलाई समेट्नुपर्नेमा पर्यटन वर्ष घोषणा गर्दादेखि नै बेवास्ता गरिएको आरोप लगाए।
प्रदेश सरकारले चियाको राजधानी घोषणा गरेको र पर्यटकीय नगरीको रूपमा सूर्योदय नगरपालिकालाई घोषणा गरेको भए पनि पर्यटन वर्ष घोषणाको कार्यक्रम तिन्जुरे मिल्के र जलजले क्षेत्रमा लगिएकोप्रति उनीहरूको असन्तुष्टि छ। आगामी चैत २७ गते सरकारले टीएमजेमा पर्यटन वर्ष २०८२ को घोषणा गर्दैछ।
होटेल व्यवसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन प्रधानले हिजो केन्द्रमा जस्तो खालको प्रवृत्ति कोशी प्रदेशमा पनि देखिन थालेको आरोप लगाए। उनले मेची कोरिडोरलाई सधैँ पछाडि पार्ने गतिविधि विराटनगरका केही पर्यटन व्यवसायीका नामबाट भइरहेको बताए। ती ब्यक्तिले पर्यटनका गतिविधिहरू विराटनगर, इटहरी, धरान अर्थात् सुनसरी र मोरङमा मात्रै केन्द्रित गर्ने गरेको बताए।
‘पर्यटन व्यवसायीहरू पनि विराटनगर र आसपासमै केन्द्रित देखिन्छन्,’ उनले भने, ‘सरकारका कार्यक्रमहरू पनि विराटनगर केन्द्रित हुँदा पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्।’ प्रदेश सरकारले अहिले पनि भारतीय गाडीहरूलाई सहज रूपमा नेपाल प्रवेश गर्न नदिने हो भने भारतीय पर्यटक घट्ने बताए । भारतीय गाडीलाई सहज बनाउने बित्तिकै प्रशस्त भारतीय पर्यटक तान्न सकिने उनको दाबी छ।
बिर्तामोडमा १०० रुपैयाँ पटके कर लिने गरिएकोमा अहिले पशुपति नाकाबाट ५०० पटके करमा तिर्नु परेको उनले बताए। पटके कर तिर्दा समेत बाटोमा ट्राफिक प्रहरीले दुःख दिने गरेका कारण भारतीय पर्यटकहरू नेपाल आउन नमान्ने गरेको उनको भनाइ छ। ‘पटक–पटक स्टिकर टाँस्ने विषयमा सरकारलाई जानकारी गराएका थियौँ, ’ उनले भने, ‘स्टिकर टाँस्ने विषय अहिलेसम्म कार्यान्वयनमा जान सकेको छैन।’

भारतीय ट्राभल एजेन्सीहरूले नेपालको रेडपाण्डा बेचिराख्दा त्यसको प्रवर्द्धनमा नेपाली पर्यटन क्षेत्रले काम गर्न नसकेको उनको ठम्याई छ। ‘भारतीय ट्राभल एजेन्सीहरूले प्याकेज बेचिराखेका छन्’, उनले भने ‘हामीले प्याकेज बेच्न सकेका छैनौँ, प्याकेजिङ गरेर जान सक्ने हो भने पर्यटन प्रवर्द्धन र केही दिनसम्म पर्यटकलाई टिकाउन सकिन्छ।’
सरकारले अहिलेसम्म टुरिस्ट गाइडहरू समेतलाई तालिम दिन सकेको छैन। त्यस्ता खालका तालिमका कार्यक्रमहरू सञ्चालन नहुँदा आएका पर्यटकहरूलाई कहाँ लग्ने, कहाँ घुम्ने बारेमा समेत उनीहरू जानकार छैनन्।
पर्यटन प्रवर्द्धनको कुरा तल्लो तहबाट नै सम्बोधन भएर जानुपर्ने स्थानीयको भनाइ छ। रोङ गाउँपालिका वडा नम्बर २ का स्थानीय होमस्टे व्यवसायी टेक अधिकारीले कतिपय पर्यटनका कुराहरू कागजी स्रेस्तामा मात्रै मिलाउने तर पुग्नुपर्ने ठाउँमा बजेट तथा कार्यक्रमहरू पुग्न नसकेको बताए।
‘पर्यापर्यटनलाई किसानसँग जोडेर लग्नुपर्छ’, उनले भने, ‘किसानले उत्पादन गरेका कुराहरू कोदो केरा रैथाने अर्ग्यानिक कुराहरूलाई प्रवर्द्धन गरी प्रचारप्रसार गर्न सक्नुपर्छ।’ प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा स्थानीय गन्तव्यहरू पत्ता लगाउने मात्र होइन स्थानीय उत्पादन, रैथाने अर्ग्यानिक वस्तुहरूको प्रवर्द्धन चासो दिनुपर्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय टुरिस्ट गाइड आयुष लामाले पशुपति नगर क्षेत्रबाट बङ्गाल तथा दार्जिलिङका पर्यटकहरू प्रशस्त भित्रिने गरेको बताए। ‘पशुपति नाकाबाट दैनिक २६० समूहहरू आउँछन्’, उनले भने, ‘बङ्गालबाट नै प्याकेज लिएर आउने उनीहरू कुन ठाउँमा घुम्ने भनेर पहिले नै तय भइसकेको हुन्छ।’
उनका अनुसार, उनीहरू आउँदा बुद्ध पार्क कन्यामलगायतको भाग घुमेर फर्किने गरेका छन्। उनले भने, ‘लामो बसाई सिर्जना गर्न सकेका छैन। डेस्टिनेसन बढाउन सकेका छैनौँ।’ दार्जिलिङका जतिको पर्यटन पूर्वाधारको विकास हुन नसकेको पर्यटकहरूले बताउने गरेको उनको भनाइ छ।
पर्यटन क्षेत्रका जानकार रमेश राईले स्थानीय सरकारले समेत आफ्नो स्थानीय गन्तव्यहरू पहिचान गर्नुपर्ने बताए। ‘स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र के हो त्यो कुरा पत्ता लगाउनुपर्छ’, उनले भने , ‘अनि मात्र संघ र प्रदेशले त्यसलाई कसरी प्रवर्द्धन गर्न सक्छ भनेर त्यहाँ आफ्ना कुराहरू लिएर जान सक्नुपर्छ।’
प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी भनेर पत्र पठाए पनि त्यसमा के हुन्छ, कसरी काम हुन्छ भन्ने बारेमा प्रदेश सरकार आफैँ अलमलिएको उनको गुनासो छ। उनका अनुसार, ट्रेल बनाउने भनेर सुरु गरिएको थियो भर्खर प्रदेश सरकारले त्यसलाई कार्यान्वयनमा लिएर जाने तयारी सुरु गरेको छ यसलाई सकारात्मक मान्न सकिन्छ।

चिया व्यवसायी तथा पूर्व सांसद काजीमान कागतेले राज्यले एक्सरसाइज गरेको भए पनि स्थानीय पर्यटन व्यवसायी र स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताए। ‘इलाममा चिया पर्यटनको एक्सरसाइज भइरहेको छ। चिया पर्यटन सफल भएको छ’, उनले भने, ‘यसको व्यवस्थापन चुनौती छ। राज्यले मात्र होइन निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ।’
कन्याम तथा फिकलमा मात्रै ५० लाखदेखि २० करोडसम्मका होटेल अहिले खुलिसकेका छन्। व्यवसायीले अल्पकालीन र दीर्घकालीन दुवै योजना बनाएर अघि बढ्नुपर्नेमा लगानी गर्ने र त्यसको प्रवर्द्धनमा खासै काम नगरेको उनको भनाइ छ।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले पर्यटकीय नगरी भनेर प्रदेश सरकारले घोषणा गरे पनि त्यो अनुसारको काम नभएको गुनासो गरे। उनले लक्ष्य, उद्देश्य रणनीति के हो भनेर अहिलेसम्म कुनै पनि स्पष्ट जानकारी नआएको गुनासो गरे। उनले भने, ‘प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी भनेर घोषणा गर्यो तर त्यसको रणनीति के हो अहिलेसम्म आएको छैन।’
कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन नगरी सूर्योदय नगरपालिका त्यसको मापदण्डको के हो भनेर अलमलमा परेको छ। २०७५ माघमा पर्यटकीय नगरी घोषणा भएको छ। कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६को बजेट कार्यक्रममार्फत पर्यटकीय नगर बनाउने निर्णय गरेको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेका थिए। घोषणा भयसँगै सूर्योदय नगरपालिकाले आफ्नो लेटर प्याड र कार्यालय भवनमा पर्यटकीय नगर लेखनको सुरुवात समेत गरेको थियो।

कोसी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा समेत सरकारले पर्यटन नगरी तोकेको सूर्योदय नगरपालिका पर्यटन गतिविधिको विषयमा चासो दिएको छैन। अलमलमा परेको प्रदेश सरकारले अहिलेसम्म सूर्योदय नगरपालिकाका लागि कुनै पनि काम गर्न नसकेको आरोप लाग्दै आएको छ।
सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरको घोषणा गरेको सरकारले त्यसको विकासका लागि भने कुनै रणनीतिक योजना नबनाएको र कार्यक्रम समेत नपठाएको आरोप व्यवसायीले लगाउँदै आएका छन्।
Shares

प्रतिक्रिया