नेकपा एमाले मोरङको जिल्ला अधिवेशन सुरु भएको आज (फागुन २२गते) ६ दिन भयो। शनिवार विराटनगरमा सुरु भएको अधिवेशन केन्द्रीय महाधिवेशन भन्दा लामो भइसकेको छ। तीन दिनमा सक्ने गरी सुरु भएको दशौँ जिल्ला अधिवेशन केन्द्रीय नेताहरूका कारण यो अवस्थामा पुगेको भन्दै आलोचना भइरहेकाे छ।
निर्वाचन गराउन नै आलटाल गरेका नेताहरूले निर्वाचन पछि पनि मत गणनामा ढिलाइ गरे। सुरुमा निर्वाचन गराउनै नचाहेका संस्थापन पक्षले पछि निक्कै ढिलो गरी मात्र निर्वाचन गराउन दिने मनस्थितिमा पुगेका थिए।
शनिबार निक्कै तामझामका साथ सुरु भएको एमाले मोरङ जिल्ला अधिवेशन नेतृत्वका लागि दुई धारमा परिवर्तन भयो र त्यही अनुसार नै निर्वाचन गयो। संस्थापन र इतार समूह बनाएर चुनावी मैदानमा उत्रिए।
९११ जना प्रतिनिधि सहभागी भएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले मतदान गरेका थिए। बुधबार साँझै सकिएको निर्वाचनको मत गणना बिहीबार ३ बजेपछि मात्रै सुरु भएको छ। आफ्नै कार्यकर्ता गलाउने गरी २० घण्टापछि मात्रै मत गणना सुरु भएको हो।
पदाधिकारी र सदस्यहरूको एकै पटक मतगणना सुरु गरिएको छ। पदाधिकारीमा संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी छन्।

संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष बान्तवा प्रतिस्पर्धामा छन्।
निर्वाचनबाट १६५ जना निर्वाचित हुनेछन्। ७१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरेशलाल श्रेष्ठले जानकारी दिए। निर्वाचनबाट ५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन्।
धाँधली हुने आशङ्का
नेकपा एमालेको दशौँ मोरङ जिल्ला अधिवेशनको उद्घाटनदेखि नै सहमतीय रटान लगाएका नेताहरू उम्मेदवारका आकाङ्क्षीलाई थुमथुम्याउने पक्षमा थिए।
आकांक्षीहरुलाई स्वतःस्फूर्त निर्वाचनमा जान दिनु हुँदैन भन्नेमा बढी केन्द्रित भए। एक नेताका अनुसार, ‘केन्द्रीय नेताहरूले उम्मेदवार हुन लागेका कार्यकर्ताहरूलाई हप्काउने, धम्क्याउने र तर्साउने काम गरे।’
बन्द सत्रमा प्रतिनिधिहरूले पार्टी भित्रका समस्यालाई सुधार गरेर लिएर जाने बारेमा आफ्ना कुरा राख्दा पार्टी उपाध्यक्ष गुरु बरालले कार्यकर्ता ‘अराजक’ भएको भन्ने अभिव्यक्ति दिएपछि उनी विरुद्ध चर्को नारा लागेको थियो। उनलाई कार्यकर्ताले पार्टी भित्र गुटबन्दी गरेको भन्दै नेताहरू नै अराजक भएको भन्दै उनी विरुद्ध आक्रोश पोखेका थिए।
वैचारिक र नयाँ एकताको सन्देश दिने अपेक्षा गरिएको मोरङ अधिवेशनलाई नेताहरूले गिजोल्ने काम गरेको उपाध्यक्षका प्रत्याशी सागर थापाले बताए।
शनिबार उद्घाटन गरेर स्थागीत भएको अधिवेशन आइतबार नै बन्द सत्र सकिएको थियो। त्यही दिन निर्वाचनको तालिका सार्वजनिक गर्ने भनिए पनि अर्को दिन मात्रै सार्वजनिक गरियो। सोमबार साँझ मात्रै मनोनयन दर्ता गरेका नेताहरूले मङ्गलवार चुनाव हुने भनेका थिए। त्यो दिन पनि केन्द्रीय नेताहरूको दबाबमा चुनाव हुन नदिएको कार्यकर्ताले बताए।
बुधवार बिहानै गर्ने भनिएको मतदान पनि ९ बजे मात्रै सुरु भयो, साँझ ७ बजेसम्म चलेको थियो। पार्टी कार्यालयमा लगेर राखिएको मत पेटिका खोल्न एमालेले २० घण्टा लगाएको छ।

नेकपा एमालेका नेता महेश भट्टराईले सत्ताको राप तापमा अधिवेशन १० दिनसम्म लाग्न सक्ने अवस्था देखिएको बताए। आफ्ना प्रतिनिधिले हालेको मत गन्न समेत सत्ता डराएको आरोप उनको छ।
‘यसरी ढिला गर्नु भनेको भित्र भित्रै केही षड्यन्त्र गर्न सकिन्छ की भनेर नेताहरू लागेका छन्,’ उनले भने, ‘जति लागे पनि उनीहरूको केही लाग्दैन।’
सुरु भएको मत गणना पनि एउटा, एउटा बक्सा खोलेर ढिला गरी गर्न लागिपरेको उनको भनाई छ।
मोरङ जिल्ला अधिवेशनसँगै एमाले भित्र तीव्र ध्रुवीकरण देखिएको छ। नेकपा एमाले भित्र दुई वटा समूह स्पष्ट देखिएका छन्। संस्थापन पक्ष र संस्थापन इतर समूह खडा गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्धको पार्टी भित्रको असन्तुष्टि व्यक्त गरिएका छन्।
यो अभियान चल्नुको मुख्य कारण भनेको यस अघि भएको कोसी प्रदेश अधिवेशनबाट नै हो। कोसी प्रदेशको अधिवेशनको असर अहिले जिल्लामा देखिएको नेताहरू बताउँछन्।
संस्थापन पक्षमा पार्टी उपाध्यक्ष गुरु बराल, नेता भानुभक्त ढकाल, पार्टी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य इन्चार्ज जीवन घिमिरे, संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत सबै लागेका थिए।
संस्थापन इतर समूहमा विनोद ढकाल तथा केन्द्रीय सदस्यहरू रामलाल साह, युवराज बाँस्कोटा, नैनकला ओझा लगायत थिए। निर्वाचन गराउन रस्साकस्सी गरेको संस्थापन इतर समूहले अहिले पनि मत गणनामा धाँधली हुनसक्ने भन्दै सतर्क रहेको जनाएको जनाएको छ।
सरकारी समूह अर्थात् केपी ओलीको तर्फबाट नेकपा एमाले मोरङको अध्यक्ष पदको उम्मेदवार राजकुमार ओझा हुन्। अर्को समूहमा एमालेका पुराना नेता अजम्बर राई हुन्।
पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासको रूपमा निर्वाचनलाई लिइने भए पनि एमाले मोरङको निर्वाचनले कुनै फरक दलबीच प्रतिस्पर्धा भएको जस्तो छनक दिएको छ।
Shares

प्रतिक्रिया