कोशी


पाथीभरा केबलकार विवाद: संयुक्त आन्दोलनको तयारी गर्न आज ‘ग्लोबल जुम मिटिङ’

पाथीभरा केबलकार विवाद: संयुक्त आन्दोलनको तयारी गर्न आज ‘ग्लोबल जुम मिटिङ’

फाइल तस्बिर: पाथीभरामा भएको झडप


सुमन सुस्केरा
फागुन १८, २०८१ आइतबार १५:५२, विराटनगर

ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा विवाद छ। त्यहाँ केबलकार बनाउनुपर्छ र बनाउन हुँदैन भन्ने दुईथरी मत छ। 

सोही कारण सरकारले केबलरकार बनाउने भनेको ताप्लेजुङको सदरमुकाम फुङलिङबाट करिब २२ किलोमिटर टाढा काफ्लेपाटी बेलाबेला युद्धभूमिमा परिणत हुन्छ।

पाथीभरा-मुकुम्लुङ क्षेत्र लिम्बु समुदायको मुन्धुमी स्थल भएकाले केबलकार बनाएर त्यसको अस्तित्व मेट्न नहुने भनी ‘नो केबलकार’ समूह आन्दोलनमा उत्रिएको छ। जसमा जातीय संस्थाहरूले पनि ऐक्यबद्धता जनाइरहेका छन्। 

नो केबलकार मुकुम्लुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिसहित पहिचानवादी पक्षले आन्दोलन चर्काउँदै लग्दा यसमा पहिचानसँग भावना जोडिएका संस्था र पार्टी पनि जोडिएका छन्।

‘नो केबलकार’ समूहको नेतृत्व कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद्का अध्यक्ष तथा पाथीभरा केबलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले गरेका छन्। यस आन्दोलमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, किराँत याक्थुम चुम्लुङ, राष्ट्रिय मुक्ति पार्टी, जसपा नेपाल, प्रदेश नं. १ पुन: नामकरण संयुक्त संघर्ष समिति पनि सामेल भएका छन्।

यसैगरी मुकुम्लुङ संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ, याक्थुङ चोम्जुङ सङजुम्भो, याक्थुङ मन्चइत चोकसयङ, लिम्बुका थरगत संस्था याक्युङ सयङ सहजीकरण समूहले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, किराँत लिम्बुवान प्रदेश समितिलगायत दुई दर्जनभन्दा बढी जातीय संस्थाले नो केबलकार आन्दोलनलाई सघाएको देखिन्छ।

केबलकारविरुद्धको आन्दोलन र प्रदेशको नामकरण अर्कै गरिनुपर्ने आन्दोलनलाई जोडेर अघि बढ्ने तयारी पहिचान पक्षधरले गरेका छन्।

दुवै विषय पहिचानसँग जोडिएकाले आन्दोलनलाई एकीकृत बनाउने निर्णय गरिएको प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम बताउँछन्। यही फागुन १४ गते साँझ बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। 

थेगिम भन्छन्, ‘दुवै विषय सरकारले सम्बोधन गर्नुपर्छ भनेर संयुक्त आन्दोलनका रूपमा लैजान खोजेका हौँ।’

फागुन १० गते फुङलिङमा प्रहरीले आन्दोलनमा दमन गरेकाले संयुक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

संयुक्त आन्दोलनको तयारीबारे छलफल गर्न ग्लोबल जुम नाम दिएर आज साँझ ५ सय जनाको सहभागितामा जुम बैठक गर्न लागिएको जानकारी पनि उनले दिए। 

‘आज ग्लोबल जुम मिटिङ मुकुम्लुङमा आस्था राख्ने विश्वभरि छरिएर रहेकाहरूको बीचमा गर्दै छौँ’, उनले नेपालखबरसँग भने, मुक्कुमलुङलाई कसरी संरक्षण गरेर बचाउन सकिन्छ भन्ने बारेमा अस्ट्रेलिया, अमेरिका, युके, हङकङ तथा युरोपलगायत देशबाट बैठकमा सहभागी हुनु हुनेछ।’

प्रदेशको पुनः नामकरण संघर्षमा उत्रिएको अगुवा संस्थामध्ये किराँत याक्थुम चुम्लुङ पनि एक हो। पवित्र मुन्धुनी स्थल संरक्षणका लागि आफूहरू पनि आन्दोलनमा सहभागी भएको चुम्लुङका अध्यक्ष प्रेम एक्तेन बताउँछन्।

२०७९ फागुन १७ गते प्रदेशको नाम कोसी राखिएपछि गरिएको आन्दोलनको नेतृत्व गर्ने व्यक्तिहरू नै पाथीभरामा केबलकार बन्न हुँदैन भनेर लागेको देखिन्छ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च का अध्यक्ष कुमार लिङ्देन अबको आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा एक/दुई दिनभित्र निर्णयमा पुगिने बताउँछन्। 

संयुक्त रूपमा अघि बढ्दा नै माग सम्बोधन हुने भएकाले संयुक्त आन्दोलन गर्न लागिएको उनको भनाइ छ। यस विषयमा आज साँझ हुने जुम बैठकमा छलफल गरिने उनले बताए। 

अघि बढेन वार्ता

पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर २०७७ सालदेखि नै स्थानीयले विरोध गरिरहेको आन्दोलनरत पक्षले बताउने गरेको छ। तर आन्दोलनकै सुरुवात २०८१ कात्तिक २३ गते केबलकारको शिलान्यासपछि भएको झडपबाट सुरु भएको हो।

यसपछि माघ १२ गते पनि फुडलिङ नगरपालिका-११ वल्लुडाँडामा दोस्रोपटक झडप भयो। झडपमा २१ जना प्रहरी घाइते भए भने २ जना प्रदर्शनकारीलाई गोली लाग्यो। 

निरन्तर झडप हुन थालेपछि सरकारले गत माघ २० गते गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलायो। पहिलो चरणको वार्ता पनि भयो। जसमा ६ बुँदे सहमति भयो।

पहिलो वार्तामा फेरि माघ २७ गते दोस्रोपटक छलफल गर्ने समझदारी भएको थियो। तर आन्दोलनरत पक्षले अस्वीकार गर्दा वार्ता अघि बढ्न सकेन। 

यसैबीच नो केबलकार समूह र स्थानीय विभिन्न राजनीतिक दलले माघ २८ गते संघर्षका कार्यक्रम सार्वजनिक गरे। त्यहीअन्तर्गत विरोध प्रदर्शन गरिँदा फागुन ८ गर्ते फेरि झडप भयो।  यसपछि फागुन १० गते भएको झडपमा नेपाल प्रहरीका ११ र आन्दोलनकारीतर्फ १२ जना घाइते भए। 

त्यसो त सरकारले केबलकार निर्माण हाललाई स्थगन गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad