कोशी


जब किशोरीले बच्चाको बाबु ७९ वर्षीय वृद्ध हो भनिन्...

जब किशोरीले बच्चाको बाबु ७९ वर्षीय वृद्ध हो भनिन्...

सुमन सुस्केरा
माघ १७, २०८१ बिहिबार १५:७, विराटनगर

झापाको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ९ की एक किशोरी केही दिनअगाडि सुत्केरी भइन्। गाउँका सबैले बिनाबाबुको शिशुको कसरी जन्म भएको भन्दै बाबुको खोजी गर्न थाले।

त्यो विषय एक दिन, दुई दिन हुँदै बाहिर आयो। गाउँले भेला भएर के भएको हो त्यो साँचो बताउनुपर्छ भन्दै किशोरीका बुवा र तिनै किशोरीलाई सोध्न थाले।

स्थानीय अग्नि दुलालले गाउँका सबैले सोधीखोजी गर्दै जाँदा परिवारका सदस्य र किशोरीका बुवाले अर्को गाउँका ७९ वर्षीय वृद्धको बच्चा भएको स्वीकार गरेको बताए। ती वृद्ध बेलाबेला किशोरी भएको समयमा घरमा आउने गरेकोसमेत बताएको उनले सुनाए। ती वृद्ध बेलाबेला किशोरीलाई अमला खाने भन्दै आउने गरेको त्यो परिवारले बताएको स्थानीयहरू सुनाउँछन्।

ती किशोरीले डिप्रेसनको औषधी खाँदै आएको उनका आफन्तले बताएका छन्। उनका बुवा रामप्रसाद दुलालले पहिलादेखि नै डिप्रेसनको औषधी खाँदै आएको जानकारी दिएका छन्। छोरीलाई अमला खान आऊ भन्नेसम्म आफूले पनि थाहा पाएको दुलालले बताए।

यो विषय छलफलको लागि इलाका प्रहरी कार्यालय, झिलझिले र शिवसताक्षी नगरपालिकाका उपप्रमुखसम्म पुग्छ। नगरपालिका र प्रहरीसम्म यो विषय पुग्दा घटनाक्रम फरक हुँदै गएको छ। प्रहरीले यो विषयलाई अनुसन्धानमै रहेको जनाएको छ।

श्रीमान् नै नभएको भनी घटना बाहिर ल्याइएको भए पनि ती किशोरीको श्रीमान् र एउटा छोरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ। कुनै लिखित उजुरी नपरेको र मौखिक जानकारीको आधारमा छलफल भइरहेको पनि प्रहरीले जनाएको छ। पीडितको तर्फबाट कुनै जाहेरी नपरेको भए पनि मौखिक जानकारीको आधारमा आरोप लगाइएका वृद्ध र परिवारका सदस्यसँग सोधी खोजीको काम भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए।

शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले घटना बाहिर आएजस्तो नभएको बताइन्। अनुसन्धानको क्रममा पीडित भनिएकी किशोरीको सात वर्षअघि नै स्थानीय दुर्गा पौडेलसँग विवाह भएको र उनीसँग ६ वर्षकी एउटी छोरीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ। त्यसबीचमा उनी पटकपटक पहिलाको श्रीमान्सँग गएको भन्ने पनि सोधखोजका क्रममा जानकारीमा आएको अनुसन्धानमा संलग्नहरू बताउँछन्।

घटनाको विषयमा जानकारी आएपछि अब उनको पहिलाको श्रीमानले स्वीकार नगरेको अवस्थामा अहिले आरोप लागेका वृद्धको डीएनए परीक्षण गर्नुपर्ने देखिएको उपमेयर कार्कीको भनाइ छ।

‘दुवै परिवार सामान्य खालको नै हो, बनिबुनो गरेर चलेको देखिन्छ,’ उपमेयर कार्कीले भनिन्, ‘८/१० महिना पहिला पनि ज्वाइँकोमा छोरी गएको भन्ने जानकारी उनको परिवारले दिएको छ। यस विषयको गहिराइमा पुग्ने काम भइरहेको छ।’

केही व्यक्तिहरू मिलेर वृद्धलाई फसाउने नियत पनि हुन सक्ने अनुसन्धानमा संलग्नहरू बताउँछन्। यी दुई परिवारका बीचमा आपसी लेनदेन वा अरू झैझगडाका विषयहरू पनि जोडिएर आएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad