सुनसरीको कोसी गाउँपालिकास्थित कोशीटप्पु क्षेत्रमा कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले बिहीबार एक कार्यक्रम कार्यक्रम गर्यो। कार्यक्रममा झन्डै ६ सय भन्दा बढी सहभागी गराइएको थियो।
कोसी प्रदेश सरकारका सबै मन्त्री, सचिव, सांसद, दलका नेताहरू, उद्योगी, व्यवसायी सहित निक्कै ठूलो तामझाम देखिन्थ्यो। स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई त्यहाँ बोलाइएको थियो।
कुनै ठूलै कार्यक्रम जस्तो देखिए पनि यो एउटा सामान्य बैठक मात्रै थियो।
आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको कोसी सरकारले त्यसको तयारी बैठक आयोजना गरेको हो।

गत सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोसी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका थिए। सोही निर्णय बमोजिम प्रदेश सरकारले बिहीबार पहिलो बैठकको आयोजना गरेको हो।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सुनसरीस्थित कोश टप्पु वन्यजन्तु आरक्षको कार्यालयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकले पर्यटन वर्षको तयारी स्वरूप प्रदेशभरका पर्यटन क्षेत्रको पहिचान गरी त्यसको प्रवर्द्धनमा अघि बढ्ने निर्णय गरेको छ। बैठकले कोसी टप्पुबाट सुरु बैठक प्रदेशका हरेक जिल्लामा आयोजना गरिने निर्णय पनि गरेको छ।
पर्यटन वर्ष २०८२ मा १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य रहेको छ। पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोसी प्रदेशमा भित्राउने दाबी पर्यटन बन तथा वातावरण मन्त्री सदानन्द मण्डल गर्छन्।
यसअघि पर्यटन वर्ष २०८२ को प्रदेश सरकारले सरोकारवाला निकायहरूसँग समन्वय सुरु गरेको थियो। पर्यटन वर्ष २०८२ का लागि पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई तयारीमा लाग्न आग्रह गरेको छ।

कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सफल बनाउने गरी पर्यटन, वन तथा वातावरण मन्त्रालयले कुनै तयारी भने गरेको देखिँदैन। पहिलो बैठक बसाउन नै झन्डै ४ महिना लागेको छ। बैठक बसाउनकोलागि भूमिका खेल्नु पर्ने मन्त्रालयका सचिवले नै भूमिका नखेलिदिएको भन्दै सरकारका मन्त्रीहरूले नै आलोचना गर्दै आएका छन्।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने दाबी गरे। कोसी टप्पु सुनसरीमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुई पक्षबाटै पहल गरिने बताए।
कोसी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।
Shares

प्रतिक्रिया