कोशी


१७ वर्षदेखि बनिरहेको पुल हेर्दै रतुवामाईबासी

१७ वर्षदेखि बनिरहेको पुल हेर्दै रतुवामाईबासी

सुमन सुस्केरा
माघ ५, २०८१ शनिबार २०:५३, विराटनगर

रतुवामाई नगरपालिका वडा नम्बर ३ महादेवाका प्रेमलाल राजवंशी हरेक दिन रतुवा खेलाको पुन नजिकै आउँछन्। हेर्छन्। केही कुरा गम्छन् र फर्किन्छन्। उमेरले ७० काटिसकेका उनी लौरीको सहारामा सडक छेउमा आउँछन् अनि पुल बनिदिए खोला वारपार गर्ने सोच्छन्। 

उनले यो पुल बनेको हेर्न थालेको झन्डै १७ वर्ष नाघी सक्यो। त्यो पुल माथिबाट आवतजावत गर्न पाएहुन्थ्यो भन्ने चाहना मनभरी छ। तर अब पुल पुरा हुन्छ की भन्ने आशा सबैमा छ। उनले १६ वर्ष अगाडिको कुरा सम्झँदै भने, ‘सुरुमा ९ वटा पिलर गाडेको देखेँ, त्यो बेला खोलाको बिचमा नै पुल बनाएर ठेकेदारले काम छाड्यो।  ९ वटा पिलर गाडेपछि छोडेको पुल बल्ल गत वर्षदेखि फेरि बन्न थालेको  छ।’

सुरुमा थालेर आधा मै छाडेको काम १२।१३ वर्ष पछि मात्र बल्ल बनेको उनले सम्झिए। ‘पूर्वतिर एउटा र पश्चिम तर्फको दुई वटा पिलर गाडेपछि यो वर्ष भने अब चल्छ की भन्ने लागेको छ, उनले भने, यो माघको अन्तिमसम्म बनाएर सक्छ रे भन्ने सुनेको छु।’ अहिले पनि असाध्यै बिस्तारै काम भएको उनको गुनासो छ।

उनको मनमा मात्रै काम ढिलो भएको भन्ने छैन। धेरैलाई यो पुल ढिला भएकोमा निको लागेको छैन।

रतुवामाई नगरपालिका ३ कमातीका रामप्रसाद ताजपुरिया  शुक्रवार दिउँसो रतुवा किनारमा भेटिए। आज भन्दा १५ वर्ष अगाडी नै बनिसक्नु पर्ने पुल अझै नबन्नुमा उनी नेताहरूलाई दोषी ठान्छन्। उनी पनि सुरुदेखि नै पुल बनेको देख्ने मध्येका साक्षी हुन्। नजिकै घर र खेती भएको कारण साँझ बिहान त्यतै भेटिन्छन्। 

‘१० वर्षसम्म त खोलाको बिचमा ९ वटा पाइप गाडेर छाडे, त्यसपछि माथि ढलान भयो, १२,१३ वर्षसम्म त्यो ढलान गरेर नै बन्द भयो, उनले भने, अहिले पुलको उमेर लगभग १७–१८ वर्ष पुगेको छ।’  

अहिले झापाको गौरीगन्ज तर्फको बाटो खोला किनारसम्म नै कालोपत्रे भएको छ भनेँ मोरङको रतुवा माई तर्फको सडक पनि किनारसम्म कालोपत्रे भइसकेको छ।  गत वर्ष पुल बनेको भए पनि यो वर्ष बाँकी पुलसम्म बनाउनु पर्ने सडक निर्माणको काम भइरहेको उनले सुनाए। 

‘यो कहिले निर्माण पुरा हुन्छ त्यो हामीलाई थाहा छैन’, उनले भने, ‘अहिले हामी सुन्दैछौँ, यो माघ भित्र निर्माण हुन्छ’, ‘यस्तो सुनेको धेरै वर्ष भयो।’ उनले पुल समयमा नै सम्पन्न नहुँदाको पिडा सुनाउँदै थपे, ‘यहाँका मान्छेहरूलाई नेताहरूले धेरै दुःख दियो, धेरै सतायो।’

पुल निर्माणको १७ वर्ष
करिब डेढ दशकयता अलपत्र परेको रतुवा खोलाको पुल निर्माणको अन्तिम चरणमा देखिन्छ। हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल डेढ दशक आधा खोलामै अड्कियो। झन्डै २ वर्ष अगाडी  बाँकी भागमा पनि पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको थियो।

अधुरो ७५ मिटरको पुलको तीन वटा स्पान निर्माणका लागि देव एन्ड सायर–समता–आशिष सन्दीप जेभीले ठेक्का पाएको थियो।  मोरङ तर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिएको छ। ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो।

२०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ। ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ। पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण समेत सम्पन्न भएको छ। 

रतुवा खोलामा यसअघि २०६४/६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो। मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो। तर २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो।

पुल निर्माण नहुँदा स्थानीयले झापा र मोरङ ओहोर दोहोर गर्न एक पटकको न्यूनतम ५० रुपैयाँदेखि २५० रुपैयाँसम्म तिर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad