नेकपा माओवादी केन्द्र शनिवार ग्रामथानको तेतरियामा एउटा कार्यक्रम आयोजना गर्यो। जुन कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल थिए।
दिउँसो १ बजेदेखि आयोजना भएको कार्यक्रम झन्डै साँढे चार बजेसम्म चलेको थियो। पुष्पलालचोक–विराट चोक सडक खण्डको ग्रामथान गाउँपालिकाको मुख्यद्धारको सडकमा ठूलो स्टेज बनाइएको थियो। त्यो स्टेजमा सरकारको कानुन बनाउने मात्र थिएनन् कार्यान्वयन गर्ने निकायका व्यक्ति, सांसद, मन्त्री, पूर्व मन्त्रीहरुको लावालस्कर थियो।

सडक ढाकेर कार्यक्रम राखिएको कारण सर्वसाधारणलाई निक्कै समस्या देखिन्थ्यो। विराटनगरतर्फ बिरामी बोकेर आउँदै गरेका एम्बुलेन्सहरू सडकमा नै रोकिएर अलमलिएका थिए।
नेकपा माओवादी केन्द्रले आयोजनामा प्रचण्डको उपस्थितिमा भएको धन्यवाद तथा खबरदारी कार्यक्रम सडक नै बन्द गरेर आयोजना गरिएको हो।
उत्तरतर्फ नहरतिर सवारीलाई पठाइएको थियो भने दक्षिण तर्फबाट पूर्वतर्फ गाडीलाई गाउँतिर पठाउँदा सर्वसाधारणले निक्कै झन्झट बेहोर्नु परेको थियो।
विराट चोकबाट विराटनगर आउँदै गरेका एक चालकले भने ‘कार्यक्रम यसरी बाटो छेकेर नै गर्न कसले लगाएछ यिनको बुद्धि कहिले आउँछ?’

नयाँ नयाँ त्यो सडकबाट यात्रा गर्नेहरू भित्री बाटो छिर्नुपर्दा अलमलिएका थिए। प्रचण्ड आएको कार्यक्रम यसरी सडकमा गरिएकोप्रति नेता कार्यकर्ताहरू नै अचम्मित देखिन्थे।
कार्यक्रम सडकमा गर्नु परेको बारेमा आफूहरुको बाध्यता भएको माओवादीको भनाई छ। नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक विजय विश्वासले फिल्ड खोज्दा कतै नभेटिएको, विद्यालयमा गर्न नमिल्ने भएपछि सडक नै रोज्नु परेको बताए।
‘खासै डिस्टर्ब नहोला भन्ने थियो,’ उनले भने, ‘दुई तिन किलोमिटर भित्र जाँदा समस्या हुने देखिएपछि, खबरदारी सभापनि भएकोले सडकमा नै गरियो।’

Shares

प्रतिक्रिया