सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
ठक्कर दिएर फरार फोर्स गाडी र गाडी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार बिहान वीरेन्द्रनगरको टेम्पो पार्क नजिकै एकजनालाई ठक्कर दिएर फरार भएको थियो।
उक्त ठक्करबाट गम्भीर घाइते भएका दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ठक्कर दिएर फरार भएको लु २ ख ५७८३ को नम्बरको फोर्स गाडीलाई प्रहरीले सुर्खेतको बोटेचौर क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने सवारी धनी सुर्खेतको सिम्ता गाउँपालिका–६ का ३४ वर्षीय लोकबहादुर विसी छन्।
प्रहरीका अनुसार दुर्घटना गराउने गाडी चालक दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–२ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कँडेल भने अझै पनि फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, घटनापछि मृतक बुढाका आफन्त तथा स्थानीयवासीले सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै शनिबार र आइतबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए।

प्रतिक्रिया