सुर्खेतको एक पसलबाट प्रहरीले ठुलो परिमाणमा सुनका गहना र भारतीय रुपैयाँ फेला परेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–६ तल्लोबजारस्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा हानेर सुनका गहना र करिब सात लाख भारु बरामद गरेको हो।
अग्रवालले सुनका गहना धितो राखेर चर्को ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले नेपालखबरलाई बताए।
उक्त सूचनाका आधारमा सोमबार अपराह्न छापा मारेको प्रहरीले ७ लाखजति भारतीय रुपैयाँ र विभिन्न किसमका सुनका गहना बरामद गरेको हो।
अहिले बरामद सामान मुचुल्का गर्न स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालय, सुनचाँदी व्यवसायी र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई बोलाइएको छ।
एक किलो बढि सुन भएको अनुमान गरिए पनि गहना भएकाले एकीन भने हुन बाँकी रहेको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया